Erani Mahal
आगामी बजेटमा विकासलाई प्राथमिकतामा पार्दै पाल्पाका सांसद पाण्डेय
som
पाल्पा– पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेयले आगामी बजेटमा पाल्पामा विकासका योजनालाई मुख्य प्राथामिकतामा पार्न मन्त्रालयमा योजना लैजानु भएको छ । बजेट निर्माणको पूर्वसन्ध्यामा विभिन्न मन्त्रालयमा पुगेर उहाँले पाल्पाको विकासलाई पहिलो प्राथमिकतामा पारेर बजेट निर्माण गर्न पहल गर्नुभएको हो । पाल्पाका सांसद पाण्डेयले विभिन्न मन्त्रालयमा मन्त्री र सचिवलाई भेटेर जिल्लाका विकास निर्माण, भौतिक पूर्वाधार विकास, शैक्षिक विकास, स्वास्थ्य, संचार, यातायात, खानेपानी, सिंचाई लगाएतका क्षेत्रमा बजेट विनियोजनका लागि समन्वय गर्नुभएको हो । जस अन्तर्गत निर्वाचनका बेला जनतासँग नेकपाको तर्फबाट प्रतिवद्धता गरिएका र स्थानीय तहसँगको समन्वयमा माननीयज्यूले भौतिक पूर्वाधारका केही योजनामा आवश्यक बजेट माग गर्नुभएको छ, पाण्डेयका स्वकीय सचिव पदम गैरेले भन्नुभयो, जसले पाल्पाको चौतर्फी विकासमा समेत सहयोग पुग्नेछ । सांसद पाण्डेयले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको कार्य तत्काल अघि बढाउन, पाल्पा अस्पतालको स्तरोन्नती र सुविधा सम्पन्न भवन निर्माण गर्न, सालझण्डी सुगुरेढुंगा बाटो कालोपत्रे गर्ने, त्रिभुवन बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माणमा बजेटको व्यवस्थापनको लागि भौतिक पूर्वाधार मन्त्रालयमा माग गर्नुभएको छ । यस्तै दोभान बोटेगाउँ मरेक काशीभञ्ज्याङ, बतासे सातमुरे गुल्मी मोटरबाटो निर्माण, तानसेन मुलढोका, भैरवस्थान, रिडी ऋषिकेशवलगायतको पूननिर्माण गर्न प्राधिकरणसँग माग, बाँसटारी दमकडा झडेवा खैरेनी मोटरबाटो, दमकडा खेलमैदान, टुँडिखेल सौन्दर्यकरण, कटुन्जेपानी खेलमैदान निर्माणमा समेत पहिलो प्राथमिता परेको सांसद पाण्डेयले रानीमहलसँगको कुराकानीमा बताउनुभयो । कचल फाँट सिंचाईमा ३ करोड बजेट, रिव्दीकोट गाउँपालिकाको हार्थोक देखी रैनादेवी छहराको मेहालढापमा सुन्तला जोन बनाएर विशेष कार्यक्रम संचालन गर्ने, बगनासकाली ६ यम्घा र चापपानीमा सुन्तला जातको फलफुलखेती, तानसेन ९ डाडाडुममा कागती खेतीको विस्तार गर्ने, बराङ्गदी देखी दैलातुङ्गसम्मको बाटो पिच, माडीफाँट भएर आर्यभन्ज्याङ्गज सम्ममा बाटो स्तरउन्नती गर्ने, डुम्रेबाट मस्यामसम्मको बाटो पिच गर्ने लगाएतका योजनाको लागि सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्री, सचिवलाई भेटेर माग गरेको र बजेटमा सम्बोधन हुने सांसद पाण्डेयले रानीमहलसँगको कुराकानीमा बताउनुभयो । शैक्षिक दृष्टिले अगाडि रहेको पाल्पालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ , पाण्डेले भन्नुभयो यो कुरालाई मध्यनजर गरी प्राविधिक शिक्षाको हब बनाई इन्जिनियरिङ, कृषि विज्ञान, वन विज्ञान र सूचना प्रविधिका विषय अध्ययन अध्यापन गर्ने महत्वपूर्ण केन्द्र बनाउन शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गर्नुभएको छ । माननीय शिक्षामन्त्री र उपकुलपतिसँग छलफल गरी प्रधानमन्त्री कार्यालयमा निवेदन दिनुभएको छ, उहाँले सिभिल इन्जिनियरिङको विषय तत्काल सुरु गर्ने, कृषि विज्ञान सञ्चालनका लागि हाल सुन्तलाजात फलफूल विकास केन्द्र रहेको करिव १९० रोपनी जग्गामा अध्यापन गर्ने, भूसंरक्षण कार्यालय स्थानमा वन विज्ञान संकाय खोल्ने लगाएतका योजना सम्बन्धित मन्त्रालयबाट बजेटमा पारित गराउने गरी पहल गर्नुभएको छ । यस्तै पाल्पामा पर्यटनको सम्भावनालाई उजागर गर्दै पाल्पाका ऐतिहासिक स्थल र सम्पदाहरुको विकासका सांसद सोमप्रसाद पाण्डेयले नेपाल सरकार र माननीय मन्त्रीज्यूको ध्यानकर्षण गराउँदै आगामी आर्थिक वर्षको बजेटमा यी आयोजनाहरुको सम्बोधन भएमा पाल्पाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । पर्यटन विकासमा तानसेन ६ सतनचुलीमा कर्णेल उजिरसिंह पार्क निर्माण, प्रेमको प्रतीक रानीमहल क्षेत्रको विकासका लागि विशेष बजेट र कार्यक्रम, सत्यवती तालको प्रवद्र्धन र विकास, रिब्दीकोटमा सेनकालीन उद्यान र भ्यू टावर निर्माण, बल्ढेङ्गढीको ऐतिहासिक स्थलको संरक्षण र विकास, श्रीनगर बुद्ध गार्डेन, रणउजेश्वरी भगवती मन्दिर जिर्णोद्वार, अन्य मठमन्दिर र स्मारकहरुको संरक्षण गर्नका लागि बजेट विनियोजनका लागि पहल गर्नुभएको हो । यस्तै तानसेन नगरपालिका, तिनाउँ गाउँपालिका, बगनासकाली, रिव्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका साथै अन्य पालिकामा समेत पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको क्षेत्रमा बजेटको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा पहल गरेको सांसद पाण्डेले बताउनुभयो । तालिम केन्द्र निर्माणका लागि अनुरोध ! तानसेन नगरपालिका ९ तिन्टीआँपमा श्रम तथा रोजगार तालिम केन्द्र निर्माणका लागि अत्याधुनिक सुविधासम्पन्न भवनका लागि आवश्यक बजेटका लागि सांसद पाण्डेयले माग गर्नुभएको छ । श्रम तथा रोजगारमन्त्रीसँग उहाँले त्यस विषयमा समेत बजेटले सम्बोधन गर्ने जनाएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update