Erani Mahal
मुम्बईमै बिते स्याङ्जाका कोषबहादुर : सन्तान हेर्ने रहर अधुरै
kosh-badadur
पाल्पा- स्याङ्जा कालिगण्डकी गाउँपालिका–४ स्वामीबोटकी विष्णु विकले विवाहको ६ महिनामै श्रीमान् गुमाइन्। स्वामीबोट निवासी ५० वर्षीय कोषबहादुर विकसँग उनले गतवर्ष बिहे गरेकी थिइन्। कोषबहादुरको यो दोस्रो विवाह थियो। सन्तान नभएपछि श्रीमतीकै सल्लाहमा कोषबहादुरले विष्णुसँग विवाह गरेका थिए। सामान्य तरिकाले विवाह गरेका कोषबहादुरले विष्णुलाई भित्र्याएपछि दुवै श्रीमतीलाई लिएर भारतको मुम्बई गए, जहाँ उनी काम गरिरहेका थिए। तर विष्णुकै सल्लाहअनुसारै मुम्बईमा एक महिना बसेर स्याङ्जा फर्किइन् । मुम्बईमा जागिरे कोषबहादुर जेठी श्रीमती लिएर उतै बस्न थाले । घर फर्किएकी विष्णुको पेटमा सन्तान हुर्किरहेको छ। तर त्यही सन्तान देख्ने कोषबहादुरको सपना भने मुम्बईमै अधुरै रह्यो। विश्वमा महामारीको रूप लिएको कोरोनाले उनको निधन भयो। भारतबाट घर फर्किएको ५ महिनामै श्रीमानको मृत्युको खबरले यता गर्भवती विष्णु भने मूर्च्छित् भइन्। सन्तान देख्ने रहरले दोस्रो विवाह गरेका काेषबहादुरको जीवन कोरोना भाइरसले खोस्यो । कोषबहादुरको मृत्युसँगै विष्णुको जीवनसमेत अध्याँरो बन्यो। चार दिनअघि भारतको मुम्बईस्थित परेलमा रहेको के एम अस्पतालमा उपचार क्रममा कोषबहादुर बिते। उनको शरीरलाई (आज) आइतबार बिहान मात्र दाहसंस्कार गरिएको उनका सहोदर भाइ कुलबहादुरले जानकारी दिए। ३० वर्षदेखि मुम्बईको प्याडारोडस्थित विनामी मेटल कम्पनीमा काम गर्दै आएका थिए कोषबहादुर । २० दिनअघि उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्थानीय मेडिकलबाट सामान्य ज्वरोको औषधि सेवन गरेका उनलाई ज्वरोले च्याप्दै गएपछि थप परीक्षण क्रममा कोरोना पुष्टि भएको थियो। अस्पतालमा भर्ना गरिएको १४ दिनमा कोषबहादुरको मृत्यु भएको भाइ कुलबहादुरले बताए। विदेशी भूमिमा मृत्यु भएकोले आफन्तसमेत जान पाएनन्। अस्पतालमै छिन् जेठी श्रीमती सावित्रा कोषबहादुरसँगै मुम्बईमै रहेकी जेठी श्रीमती सावित्रामा पनि कोरोना संक्रमण देखिएको छ। उनलाई पनि अस्पताल भर्ना गरिएको छ। श्रीमानसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा भने सुधार आएको बुझिएको छ। श्रीमानको मृत्युपछि उनी अस्पतालको बेडमा विछिप्त अवस्थामा छिन्।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update