Erani Mahal
भारतबाट पाल्पा आइपुगेकालाई तानसेनकाे होल्डिङ क्वारेन्टाइनमा राखियाे
palpa_carrentine_my0Ph3sMFy
पाल्पा- भारतबाट गाउँघर फर्किएका पाल्पालीहरुलाई जिल्लाको तानसेनमा निर्माण गरिएको होल्डिङ क्वारेन्टाइनमा राखिएकाे छ । शुक्रवार बसेको पाल्पा जिल्लाको समन्वय बैठकले भारत लगाएतका तेस्रो मुलुकमा अलपत्र परेका जिल्लाबासीलाई उद्दार गर्दै पहिलो चरणमा होल्डिङ क्वारेन्टाइनमा राख्ने र त्यहाँ RDT/PCR जाच गरेर मात्र आ- आफ्नो पालिकामा लैजाने व्यबस्था गर्ने निर्णय अनुसार तानसेनमा होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित स्थानमा पठाएका छन् । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले भारतका विभिन्न स्थानमा अलपत्र रहेका जिल्लाका नागरिकहरुलाई सम्पर्क गरेर जिल्लामा उद्दार गरिने गरि तयारी गरेको हो । केही दिन अघिदेखी सुनौलीमा रहेका ३९ जनालाई पहिलो चरणमा ल्याएर राखिएको छ । उनीहरुको RDT र समन्वय गरेर PCR जाच समेत गरेपछि सम्बन्धित पालिकाले लैजाने व्यबस्था गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले बताउनुभयो । भारतबाट आएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिन्छ, उनीहरुको आरडिटी, पिसिआर विधिबाट चेकजाँच गरिनेछ सुवेदीले भन्नुभयो । त्यसको लागि तथ्याङ्क संकलन र व्यवस्थापनको लागि तानसेन नगरपालिका १३ का अध्यक्ष टुक प्रसाद भट्टराईको संयोजकत्वमा तानसेन, बगनासकाली, रिब्दीकोट पालिका, प्रहरी प्रशासनको समन्वयमा कोभिड १९ हेल्पडेक्सको व्यबस्थापन गरेको छ। बाहिर रहेका व्यक्तिहरुले गाउँपालिका, प्रहरी, प्रशासनमा खबर गरेमा पटक-पटक लिन जानुको साटोमा एकमुष्ट ल्याएर होल्डिङ क्वारेन्टाइनमा राखिने व्यबस्था भएको छ । जसको लागि होल्डिङ क्वारेन्टाइनमा एउटा बस र एउटा जिपको व्यबस्था गरेको कार्यबाहक जिल्ला समन्वय प्रमुख मिरा मरासिनीले बताउनुभयो । जसले भारत लगाएतका छिमेकी मुलुकमा अलपत्र जिल्लाका नागरिकलाई सिमानामा गइ ल्याउनेछ । त्यसपछी पालिकामा लैजान जिल्लाका हरेक पालिकाले समन्वय गरि एउटा गाडी होल्डिङ क्वारेन्टाइनमा राख्नेछ । तानसेन नगरपालिकाले हाललाई १ सय बेडको होल्डिङ क्वारेन्टाइन निर्माण गर्ने र सो क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको खाना समेतको व्यवस्था मिलाउन जिल्लाका १० वटै पालिकाले १/१ लाखको दरले तानसेन नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने र आवश्यकता अनुसार सहयोग रकम थप्दै जाने भएको छ । होल्डिङ क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नियमित स्वास्थ्य चेकजाच गरिनेछ । यसैबिच जिल्लाका रामपुर, ताहु, तानसेन र रिब्दिकोटमा स्थापना गरिने भनिएको आइसोलेशन बेड ५ दिन भित्र निर्माण गरिसक्ने समितिले जनाएको छ । कोरोनाको प्रभाव छिमेकी जिल्लाहरुमा व्यापक फैलिसकेको र भारतमा कार्यरत पाल्पा जिल्ला बासी दाजुभाई दिदीबहिनीहरु पनि जिल्ला फर्कने क्रम बढ्दै गएकोले जिल्लावासीहरुलाई नेपाल-भारत सीमाबाट सुरक्षित हिसाबले ल्याउन र यस रोगको संक्रमणबाट बच्न र बचाउन यस्तो निर्णय लिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । स्वाब संकलन र व्यबस्थापनको जिम्मा जिल्ला सुरक्षा समितिले गर्ने उहाँले बताउनुभयो। जिल्ला सुरक्षा समितिले भारतबाट आउनेको संख्या बढ्ने क्रम संगै व्यबस्थापनमा चासो दिएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update