Erani Mahal
दिल्ली क्वारेन्टाइनमा पाल्पा निस्दी सहितका २३ नेपाली तीन हप्तादेखि स्वदेश फर्किने प्रतिक्षामा
nisdi
पाल्पा– दिल्लीको क्वारेन्टाइनमा पाल्पा जिल्लाका निस्दी सहितका २३ जना तीन हप्तादेखि स्वदेश फर्किने प्रतिक्षामा रहेका छन् । दिल्लीमा कार्यरत पाल्पा निस्दी ४ र ५ का दुई जना युवा सहित २३ जनाको समूह स्वदेश फर्किने आशमा दिल्ली सिकान्दरवादको क्यारेन्टाइनमा दिन विताइरहेका हुन् । आफूहरु सँगै कार्यरत १ सय ५० बढी नेपालीहरु स्वदेश फर्किएर गाउँकै क्वारेन्टाइनमा बसेको भएता पनि आफूहरुलाई देशमा फर्किन स्थानीय एमडी र भारतका लागि नेपाली दुतावासले पहल नगरेको उनीहरुको आरोप छ । उनीहरुले त्यहाँ एमडिसँग कुरा गर्दा नेपालबाट अनुमति नआउँदा सम्म पठाउन नसकिने बताएको उनीहरुले जनाएका छन् । आफूहरु स्वदेश फर्किने सम्बन्धमा २० दिनदेखि नेपाली दुतावासमा सम्पर्क गरेको भएता पनि उनीहरुले नेपाल फर्किन नमिल्ने बताएका कारण अलपत्र परेको निस्दीका युवा पृथ्वीमान बारघरेले रानीमहलसँगको कुराकानीमा बताउनुभयो । उहाँले भारतमा ३।४ वटा क्वारेन्टाइन फेर्दै राख्दै गरेको भएता पनि स्वेदेश फकाउने सम्बन्धमा कुनै निर्णय नहुँदा समस्या परेको बताउनुभयो । आफूहरु गाउँ फर्किन व्यग्र प्रतिक्षामा रहेकोले स्थानीय सरकार गाउँपालिका र जिल्ला प्रशासन र नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने उनीहरुको माग छ । आफ्नो माग सम्बन्धित स्थानमा पुर्याइदिन समेत उनीहरुले रानीमहलसँगको कुराकानीमा बताएका छन् । खानको लागि व्यवस्थापन राम्रो भएता पनि खानेपानीको समस्या रहेको र भारतीय भूमिमा बस्नुभन्दा स्वदेशमै फर्किएर बस्न चाहेको उनीहरुको भनाई छ । यस सम्बन्धमा पाल्पा निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारुलाई जानकारी गराउँदा उहाँले भारतीय सीमा नाकामा अलपत्र र अन्य शहरमा रहेका नागरिकहरुको तथ्यांक संकलन भइरहेकोले छिट्टै नै उहाँहरुलाई स्वदेश ल्याउने बताउनुभयो । त्यसका लागि सरकारी तबरमा समेत छलफल भइरहेको बताउनुभयो । त्यहाँ रहेका २३ जनाको समूहमा पाल्पाका २ जना, दाङ्ग तुल्सीपुरका ६ जना, प्युठानका १ जना र नेपालगञ्ज बाँकेका १४ जना रहेका छन् । तस्वीर भारतमा अलपत्र अवस्थामा क्वारेन्टाइनमा बसेका नेपालीहरु तस्वीर ः पृथीमान बारघरेको सहयोगमा ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update