रमेश राना- जिल्लाको माथागढी गाउँपालिकाले विविध उद्देश्यले भारत लगायत तेस्रो मुलुकमा रहेका यस गाउँपालिकाको नागरिकहरुको विवरण संकलन गर्ने कार्य सम्पन्न गरेको छ।
विश्वमा कोरोना भाइरसको संक्रमण अवधी लम्बिइ रहेको अवस्थामा माथागढी गाउँपालिकाले पनि विविध उद्देश्यले विदेशिएका माथागढीवासी नागरिकहरूको तथ्यांक संकलन गरेको छ। गाउँपालिकाले आफ्नो ८ओटै वडा भित्र बसोबास गर्ने तर विविध उद्देश्यको शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरको छ।
गाँउपालिकाले हरेक वडा कार्यालय मार्फत तथ्याङ्क संकलन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो। विविध उद्देश्यका शिलशिलामा विदेश गएका तर कोरोना भाइरसका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्ने र फर्केपछि उनीहरुलाई के कस्तो काममा लगाउन सकिन्छ भन्ने यकिन गर्नका लागि गाँउपालिकाले काम अगाडि बढाएको अध्यक्ष थापाले बताउनुभयो ।
संकलित तथ्याङ्कमा माथागढी गाउँपालिका भित्र विदेशमा रहनेहरु वडा नम्बर १ चिदीपानीमा ५४२ जना , वडा नम्बर २ रूप्सेमा ३१ जना ,वडा नम्बर ३ कसेनीमा १७ जना ,वडा नम्बर ४ झडेवामा ७०जना , वडा नम्बर ५ हात्तिलुङ्गमा ११२ जना ,वडा नम्बर ६ गोठादीमा २९ जना,वडा नम्बर ७ रहवासमा ७१ जना र वडा नम्बर ८ बहादुरपुरमा १६२ जना रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि माथागढी गाँउपालिकाले भारत लगायत तेस्रो मुलुकबाट भित्रिएका र छिमेकी जिल्लाबाट भित्रिएका सबैलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७ ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय