Erani Mahal
निस्दीले आफ्नो क्षेत्र भित्रिने नाकाहरुमा कडाई, युवाहरु द्वारा पाहरा
NISDI
निस्दी,पाल्पा- निस्दी गाउँपालिका पाल्पाले रातको समयमा आफ्नो क्षेत्रका मुख्य नाकाहरुमा निगरानी गर्ने भएको छ । लकडाउन जारी रहेपनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा रातीमा पहरा दिने भएको हो । दिनमा स्थानीयले निगरानी गर्ने भएपनि रातको समयमा यातायातका साधन तथा मानिसहरुको आवत–जावत निगरानीका लागि प्रति व्यक्ति र रात ७ सय रुपैयाँ उपलब्ध गर्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । गाउँपालिकाले प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, समन्वय समितिसँग छलफल गरी सुझाव अनुसार कार्यपालिकाको २२ औं बैठकबाट यस्तो निर्णय गरेको हो । गाउँपालिका क्षेत्र भित्रने १२ वटै नाकाहरुमा २/२ जना गरी २४ जना सुरक्षा गार्डको व्यवस्था गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो । सुरक्षा गार्डको लागि नाका भएका सम्बन्धित वडाको सिफारिसमा स्थानीयलाई खटाउने गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभएको छ । बाहिरबाट आउने मानिसहरुले चुनौती थपिएको भन्दै गोरेटो, घोडेटो, झोलुङ्गे पुल तथा सडक मार्ग भएर भित्रने नाकाहरुको २४ सै घण्टा निगरानीका लागि यस्तो व्यवस्था गर्न लागेको बताउनुभयो । उनले भने, ‘दिनको समयमा नेपाली सेना, नेपाल प्रहरीसंगै स्थानीयहरुले नाकाहरुको निगरानी गर्नेछ । तर रातको समयमा लुकिछिपी गाउँपालिकामा अन्य स्थानबाट भित्रिने सक्ने खतरा भएकाले साँझ ६ बजे देखि बिहान ६ बजेसम्म निगरानी गर्नेभएको हो । गाउँपालिकाले सुरक्षाका लागि खटिने व्यक्ति चयन गरी लगतै काममा खटाउने जनाएको छ । विशेषगरी गाउँपालिकाको दक्षिणी भु-भाग वडा नम्बर-१ मा रहेको बाकामलाङ्गको काम्दी खोला,राईका भञ्ज्याङ्,गेझा नाका वडा नम्बर-३,झिरुबासको दमैखोला,सार्कीडाँडा,मुरालीखोला र डावरा नाकामा निगरानी बढाउने भएको हो । त्यसैगरी वडा नम्बर-४,मित्यालको जलुकेघाट,रिपाहा घाट,सारुडाँडा हुँदै मुढाबाँस आउने,धिर्केको डुनी डमार र वडा नम्बर-७,ज्यामिरेको भुटुक भङ्ज्याङ्गमा समेत सुरक्षाकर्मी खटिने भएको हो । साथै गाउँपालिकाले स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने राजनीतिक दल, भातृ संघ संगठन, क्लव, संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गरी आफ्ना टोल तथा नाकाहरुको निगरानी, लकडाउनको पालनामा सहयोग गर्न आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update