Erani Mahal
वैदेशिक रोजगारबाट फर्किनेलाइ रम्भामा कृषि र पशुपालनमा लगाइने
Krisi
कृष्ण पोखरेल पाल्पा– जिल्लाको रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किने युवाहरुलाई स्वरोजारको लागि कृषि र पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो । आगामी वर्ष २०७७ ÷७८ को लागि निती, कार्यक्रम तथा बजेट बनाउने पूर्व सन्ध्यामा गाउँपालिकाले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको विवरण संकलन गरेको छ । घर–घरमा पुगी महिला स्वयसेवी तथा पोषण सहयोगी कर्मचारीहरुले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको विवरण संकलन गरेको हो । गाउँपालिका भित्र ३ हजार ४ सय ३१ जना व्यक्तिहरु बैदेशिक रोजगारमा रहेका छन् । प्रत्येक घर परिवारमा पुगी गाउँमा फर्किएपछि के कस्तो काम गर्ने, कस्तो व्यवसाय गर्ने जस्ता विवरण संकलन गरी आउदो वर्षको बजेट निर्माणमा जुटेको गाउँपालिकाले जनाएको छ । हालै संकलन भएको वडा नंं १ हुगीमा ८ सय ४६ जना, वडा नंं २ फोक्सिङकोट ९ सय ४७ जना, वडा नंं ३ अगाहाखोला ५ सय ८२ जना, वडा नंं ४ हुमिनमा ३ सय ७३ जना र वडा नंं ५ ताहुँमा ६ सय ८३ जना रहेका छन् । गाउँपालिकाले कोरोना सक्रमणको समयमा महिला स्वंयसेविका तथा पोषण सहयोगी सहजकर्ताहरु परिचालन गरी घर–घरमा पुगेर गाउँपालिका भित्रबाट विदेशिएका नागरिकहरुको विवरण संकलन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो । तरकारी, खाद्यान्न तथा फलफूल खेती र दुध उत्पादनका लागि गाईभैसी पालन, मासुको लागि खसी बोका बाख्रा, हास कुखुरा तथा बंगुर पालनलाई प्रोत्साह गर्ने गरी आगामी बजेट बनाउने अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले विदेशीएका नागरिकहरुको विवरण संकलन गरेकाले ६० प्रतिशत जनता विदेशबाट गाउँ फर्केपछी कृषि, पशुपालन व्यवसायमा संलग्न हुने भएकाले सोही अवस्थालाई मध्यनजर गरी गाउँपालिकाले आगामी बर्षको बजेट बनाउदा कृषि, पशुपालन र स्वरोजगारमा केन्द्रित गरी बजेट बनाउने गरी निती नियम तथा निर्दे्शिका बनाउन कार्यपालिका तथा कर्मचारीहरु जुटेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले बताउनुभयो । परम्परागत कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिक बनाउन कृषकको लागि उत्पादनमा आधारित मल, विउ विउजन, प्राविधिक सहयोग तथा उत्पादनको विक्रि वितरणसम्मको सहयोग गाउँपालिकाले गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिका भित्र ४ हजार ६ सय ४८ घरधुरी रहेकोमा २५ हजार १ सय ९० जनसंख्या रहेको छ । गाउँपालिकाबाट उत्पादित कृषिजन्य उत्पादन कालीगण्डकी करिडोर हुदै नारायणघाटसम्म लैजान सकिने, सिद्धार्थ राजमार्गमार्फत बुटवल पोखरा लैजान सकिने र सदरमुकाम तानसेन व्यापारिक केन्द्र रामपुरसम्म लैजान सकिने रहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update