Erani Mahal
पाल्पाको रिब्दीकोट गाउँपालिकाले विपन्न परिवारलाई काम दिने
ribdikot
पाल्पा– आर्थिक रुपले कमजोर र बिपन्न परिवारलाई राहतको लागि रिब्दिकोट गाउँपालिकाले लकडाउनका कारण काम नपाएर अलपत्र परेकालाइ काम दिएर रोजगार बनाउने भएको छ । गाउँपालिकाको वैशाख २९ गतेको कार्यपालिका बैठकको निर्णयानुसार प्रत्येक वडालाइ तत्कालका लागि एक एक लाख बजेट उपलब्ध गराई काममा आधारित नगद राहत उपलब्ध गराउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । गाउँपालिकामा दैनिक ज्यालादारी र मजदुरी गरी जीवन निर्वाह गर्नेलाई वडाको बाटो मर्मत, नाली निर्माण लगायतका बिकास निर्माण सम्बन्धी काममा खटाई काम अनुसार दैनिक ज्याला उपलब्ध गराइने छ । कोरोना लकडाउनले प्रभावित ब्यक्तिले काम सँगै नगद रकम प्राप्त गर्दा आफूलाइ अत्यावश्यक बस्तुको ब्यवस्था गर्न सक्ने र अर्को्ितर गाउँपालिकाको बिकासमा समेत टेवा पुग्ने भएकोले काममा आधारित नगद राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । गाउपालिका अन्तर्गतका मूख्य सडकहरु बढी बिग्रिएका कारण यातायातमा समस्या देखिएको र यसरी सडक मर्मत एबम नाली निर्माणमा खटाउदा सडकको क्षति कम गर्न सघाउनुका साथै सहज आवागमनमा समेत सहयोग पुग्ने बिस्वास लिएको अर्यालले बताउनुभयो । सोही बैठकबाट गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि संघ तथा प्रदेशबाट प्राप्त बित्तिय समानीकरण र राजस्व वाडफाड्बाट प्राप्त बजेट सिलिङबारे कार्यपालिका सदस्यहरुलाइ जानकारी गराउदै अहिलेको परिस्थिती अनुकुल उत्पादनमुखी बिकास योजना छनोटमा जोड दिन अध्यक्ष जिसीले बताउनुभयो । बैठकले आगामी नीति तथा कार्यक्रम तर्जुमाका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिती समेत गठन गरी आव०७७÷०७८ को निति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया अगाडि बढाइएको गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो । गाउँपालिकाले आ.व. ०७७।०७८ का लागि संघीय सरकारबाट बित्तिय समानीकरण बाट ८ करोड ८३ लाख तथा राजस्व बाडफाड्बाट ६ करोड ६३ लाख ७० हजार तथा प्रदेश सरकारबाट बित्तिय समानीकरणबाट ५० लाख ३७ हजार र राजस्व बाडफाड्बाट ४१ लाख ६४ हजार गरि कुल १६ करोड ३८ लाख ७१ हजारको बजेट सिलिङ प्राप्त गरेको छ । केन्द्र र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ्ग र मार्गदर्शनका आधारमा आगामि वर्षको बजेट निर्माणको लागि वस्ती र वडास्तरमा छलफल चलाउन थालिएको पालिकाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update