पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका - भुवनपोखरी छचुवामा दुम्सीको पासोमा चितुवा परेको छ । दुम्सीले खेतबारीमा लगाएको अन्नपात खान थालेपछि बाटोमा पासो थापेको थियो । सोही पासोमा चितुवा परेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख मोहन पौडेलले बताउनुभयाे ।
चितुवा पासोमा अल्झिएको देखेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई खबर गरेका थिए । चितुवा पासोमा परेको वडा अध्यक्ष लाल बहादुर दर्लामीले प्रहरी तथा डिभिजन वन कार्यालय पाल्पामा खबर गरेका थिए । डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलको नेतृत्वमा गएको इलाका प्रहरी कार्यालय मुझङको प्रहरी, रिव्दीकोट सब डिभिजन वन कार्यालयको टोली र स्थानीयवासीले ४ घण्टासम्म जोखिम मोलेर चितुवालाई खोरमा हाल्न सफल भएका थिए ।
बेहोस बनाई उद्धार गर्नुपर्ने भएपनि चितवन राष्ट्रिय निकुञ्जमा सम्पर्क गर्दा लकडाउनको कारण आउन नसकिने जानकारी भएपछि टिमले जोखिम मोलेरै चितुवाको उद्धार गरेको डिभिजन प्रमुख पौडेलले बताउनुभयाे ।
जेसिवी डोजरको बोकरले छोपेर चितुवालाई खोरमा हाली जालीले बन्द गरियोको थियो। उद्धार गरिएको चितुवा सदरमुकाम तानसेन ल्याइएको थियो । चितुवा हेर्न वन कार्यालयमा केही सर्वसाधरणसहित कर्मचारी पुगेका थिए । करिब डेढ/दुई वर्षको भाले चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाएको डिभिजन प्रमुख पौडेलले बताउनुभयाे । डिभिजन वन कार्यालयले यसअघि पनि विभिन्न स्थानमा जंगली जनावरको उद्धार गरेको थियो।
चितुवालाइ पाल्पाबाट चितवन राष्टिय निकुन्जमा लगिएकाे रेन्जर यमलाल पाेखरेलले बताउनुभयाे । उहाँका अनुसार निकुन्जमा चिकित्सकले चितुवाकाे आवश्यक स्वास्थय परीक्षण गरेर निगरानीमा राखेका छन् ।
रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा पासोमा परेको चितुवा । तस्बिर : रेञ्जर यमलाल पोखरेल
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय