पाल्पा– राष्ट्रिय युवासंघ नेपाल पाल्पाद्वारा जिल्लामा कोरोना संक्रमण रोक्न बाहिरी जिल्लाको तरकारी लगायतका वस्तु आयात रोक्न माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले् पाल्पा जिल्ला तराईको जिल्लामा जोडिएको र तराईका जिल्लामा कोरोना संक्रमण बढेकोले त्यसको असर जिल्लामा समेत हुने भएकाले तत्काल तरकारी जन्य वस्तुहरुको आयात रोक्न माग गरेको हो ।
जिल्लाको आपूर्ति व्यवस्थापन समितिले यस अघि बाहिरी जिल्लाबाट तरकारी र फलफुल जन्य वस्तु आयातमा रोक लगाएको भएता पनि जिल्लामा आपूर्ती व्यवस्थापनमा असहजता भएकाे भन्दै व्यवसायीहरुको दबावमा त्यो निर्णय खुकुलो बनाएको थियो ।
युवा संघको विज्ञप्तीमा भनिएको छ ः राष्ट्रिय युवा संघ नेपाल देशभरिका प्रगतिशिल, राष्ट्रप्रेमी र क्रियाशिल युवाहरुको सबैभन्दा ठुलो संगठन हो । यसले राष्ट्र, राष्ट्रीयता र जनजिविकाको पक्षमा निरन्तर काम गरिरहेको छ । अहिले विश्व संकटको घडिमा छ । कोरोना (कोभिड–१९) भाईरसको त्रासले हामी सबै आक्रान्त छौ । जनताको सुरक्षाको लागि सरकारले लकडाउन लगायतका आदेशहरु जारी गरेको छ । हाम्रो जस्तो सीमित साधन र स्रोत भएको मुलुकमा महामारी संग लड्नु अप्ठेरो छ तरपनि सरकार हरप्रयास लागिरहेको छ त्यसैले संकटको यो पलमा सम्पूर्णलाई सरकारको आदेशहरु पुर्णरुपमा पालना गर्नुहुन र गराउनुहुन अनुरोध गर्दछौ ।
संकटको यो घडीमा समुदायको हितको लागी हामी आआफ्नो क्षेत्रमा क्रियाशिल रहेका छौ । अहिले पाल्पाका छिमेकी जिल्लामा समेत कोराना संक्रमित पुष्टि भैसकेको अवस्थालाई मध्यनजर गर्दै पाल्पाको लकडाउन अझै कडाइकासाथ लागु गराउन, सम्भव भएसम्मका सामाग्रीहरु बाहिरीजिल्लाबाट भित्रिन नदिन र पाल्पा आत्मनिर्भर रहेको दुध तरकारी जस्ता सामाग्रीहरु बाहिरीजिल्लाबाट आयात गर्न केहि समयको लागी पुर्ण रुपमा बन्द गराउने व्यवस्था मिलाउनहुन सम्बन्धित पक्षसंग राष्ट्रिय युवा संघ पाल्पा आग्रह गर्दछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७ १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय