Erani Mahal
एसईई परीक्षा दिने विद्यार्थीलाई रेडियाेमार्फत पढाउने शिक्षक सम्मानित
IMG_5386
पाल्पा – दुरशिक्षा रेडियो कार्यक्रम एसईई पाठशालाका शिक्षकहरुलाई सामुदायिक रेडियो मदनपोखराले सम्मान गरेको छ । कोरोनाका कारण एसईईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गरेको हो । एसईई पाठशालाका ७ जना शिक्षकहरुलाई रेडियो घरमा बिहीबार सम्मान गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाठशालाका शिक्षकहरुलाई कदरपत्र प्रदान गर्दै रेडियो पाठशालाले देशभरिनै आकर्षण पैदा गरेको बताउनुभयो । महामारी र बन्दाबन्दीका बेला सामुदायिक रेडियो मदनपोखराले ल्याएको यो सिर्जनशीलकार्यक्रमले आधारभूत वर्गका विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पुगेको छ, नगरपालिका प्रमुख शाहीले भन्नुभयो । सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालले रेडियो र पाठशालाका शिक्षकहरुले विपदमा पनि रेडियो मार्फत् पठनपाठन गरेर इतिहास रचेको बताउनुभयो । कार्यक्रममा शिक्षक रामजीवन ज्ञवाली, चन्द्रकान्त न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले एसईई पाठशालाले शैक्षिक तनावमा रहेका विद्यार्थी र चिन्तित अभिभावकलाई आशाको सञ्चार गर्न सफल भएको बताउनुभयो । रेडियोका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले रेडियो पाठशाला संकटका बेलामा समुदायको सहयोगी बन्ने प्रयास हो भन्नुभयो । स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘यो एसईईकालागि सहयोगी कक्षा थियो, अन्तिम तयारीमा रहेका बालबालिकालाई परीक्षा सरेपछि जानेका कुरा पुनः दोह्याउने र नजानेका कुरा सिक्ने अवसर पाए । रेडियो पाठशालाका माध्यमबाट विद्यार्थीमा आत्म विश्वास जागृत भएको छ ।’ तानसेन नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो मदनपोखराले सञ्चालन गरेको दूरशिक्षा रेडियो कार्यक्रम अत्यन्त प्रभावकारी भएको विद्यार्थीहरुले बताएका छन् । मदनपोखरासँगै नेपालका ३० भन्दा धेरै रेडियो स्टेशनले हरेक दिन विहान सवा १० बजेदेखि ४ बजेसम्म दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला प्रसारण गरेका थिए । एसइई पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जनता माध्यमिक विद्यालयाक शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणि साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडाका जीवन आचार्यले कम्यूटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याल ीबोर्डिङ स्कुलका प्रेमराज खरालले नेपालीर न्यू होराइजनका चन्द्रकान्त न्यौपानेले स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको पठनपाठन गर्नुभएको थियो । यो रेडियो पाठशाला एक महिना अवधिसम्म चलेको थियो । शिक्षक विदाईरुपी कार्यक्रम सारेम सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालको अध्यक्षतामा चलेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update