Erani Mahal
रामपुरमा दोस्रो चरणको राहत वितरण सुरू
y
पाल्पा - कोरोना संक्रमणको जोखिममा लामो समयदेखिको जारी लकडाउनमा प्रभावित अति विपन्न र अशक्त परिवारका लागि रामपुर नगरपालिकाले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । नगरपालिकाले बिपन्न परिवार संख्याको आधारलाई मापदण्ड बनाएर वडा मार्फत टोल टोलमा पुगेर राहत बितरणलाई सोमबारदेखि शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार ६६ परिवारलाई राहत बितरण गरेको नगरपालिकाले दोस्रो चरणमा अन्य थप १ हजार ८ सय ९१ परिवारमा राहत बाडिने आचार्यले बताउनुभयो । यसको लागि नगर भित्रका २ दर्जन बढी टोलमा पुगेर राहत दिने गरि नगरपालिका र वडाबाट सम्बन्धित नागरिकलाई खबर गरिएको छ । राहत लिनेहरुलाई सहज होस् भनेर वडाले गाडीमा राहत लिगेर टोलटोलमा पुगेर दिने व्यबस्थापन गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा पहिलो चरणमा वडा कार्यालय र वडाका १/२ ठाउबाट मात्र दिएकोमा अहिले टोलटोलमा पुगेर बितरण गर्ने बताउनुभयो । यसले गर्दा सामाजिक र शारीरिक दुरी कायम हुनेछ भने लिन आउन र टाढा बोकेर जान पर्ने समस्या हट्नेछ । जनप्रतिनिधि, प्रशासन, प्रहरी सहित नगरपालिकामा गठित समितिले बितरणको अनुगमन गर्ने थापाले बताउनुभयो । दोस्रो चरणको राहत बितरण वडा नं. ७ बाट शुरु भएको छ । ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले पहिलो दिन वडा कार्यलयबाट राहत बितरण गरेको बताउनुभयो । वडाका १ सय ७९ परिवारलाई राहत दिइनेछ। डेरा गरेर बसेका परिवारमा समेत लकडाउनले पारेको समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरेकाे जानकारी दिनुभयो। नगरपालिकाका प्रशासकिय अधिकृत युवराज पन्थीले सोमबारदेखी बुधबार सम्ममा १८ सय ९१ परिवारका ७ हजार ३ सय ७५ जनसंख्यालाई राहत बाढिसक्ने बताउनुभयो । लकडाउन बढेरहेकाले समस्या हुन सक्ने परिवारलाई राहत बाढ्ने काम तिब्र बनाएर ३ दिनमा सक्ने गरि लागेको उहाले जानकारी दिनुभयो । जहा वडा नं. १ का १ सय २८, वडा नं. २ का ९० परिवार, वडा नं. ३ का १ सय ५७ परिवार, वडा नं. ४ का १ सय ९५ परिवार, वडा नं. ५ का ३ सय ७९ परिवार, वडा नं. ६ का २ सय ७८ परिवार, वडा नं. ७ का १ सय ७९ परिवार, वडा नं. ८ का १ सय ९२ परिवार, वडा नं. ९ का १ सय ५५ परिवार र वडा नं. १० का १ सय ४० परिवारलाई राहत वितरण गरिनेछ । नेपाल सरकारले चैत्र ११ गतेबाट जारी गरेको लकडाउनका कारण प्रभावितलाई कार्यविधिकै आधारमा नगरपालिकाले राहत दिएको जनाएको छ । १ जनाको परिवारलाई ५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो नुन, १ वटा साबुन, १ किलो चना त्यसैगरी २ देखि ४ जनाको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, २ वटा साबुन, २ किलो चना र ५ जना भन्दा माथिको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, साढे १ लिटर तेल, २ किलो नुन, ३ वटा साबुन, ३ किलो चना वितरण गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update