Erani Mahal
रामपुर नगरपालिकामा खोप अभियान सुरू, खोप र अण्डा सँगसँगै
95387523_257855338920715_4853190569192587264_n
पाल्पा - जिल्लामा खोप कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमणको जोखिमले जारी लकडाउनका कारण गत महिना पनि प्रभाबित भएको नियमित खोप कार्यक्रम पाल्पाको रामपुर नगरपालिकामा द्रुत गतिमा चलेको छ । महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना तथा स्वास्थ्य शाखाको समन्वयमा एकहप्ता भित्रमा नै नगरका सबै १५ महिना उमेर मुनिका बालबालिकालाई खोप दिइसक्ने गरि नगरका १० वटै वडामा खोप कार्यक्रमलाई तिब्रता दिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुंगानाले जानकारी दिनुभयो । बैशाख महिना खोप महिना समेत भएकोले नियमित खोप चैत महिनाको खोप समेत बैशाख महिनामा नै चलाउने गरि खोप अभियान शुरु गरेको ढुङ्गानाले बताउनुभयो । बैशाख १६ देखि २२ गतेसम्म नगरपालिकाका १० वटै वडाका २१ खोप केन्द्र चयन खोप दिइएको छ । नियमित खोप केन्द्र वडामा १/२ ठाउँमा भएकोमा अहिले जारी लकडाउनको समयमा सामाजिक दुरी कायम गर्ने कुरामा संबेदनशील भइ धेरै खोप केन्द्रबाट खोप चलाइएको छ । नगरका १५ महिना उमेर समुहका बच्चालाई नियमित खोप संगै उनीहरुको आमालाई पोषणका लागि १ महिनालाई मध्यनजर गर्दै एक क्यारेट अण्डा समेत प्रदान गरिएको नगरपालिकाका महिला तथा बालबालिका शाखा संयोजक पुजा परियारले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयले बैशाख १४ गतेदेखी संचालन गर्न परिपत्र गरेपछी नगरपालिकाले तत्कालै कार्यक्रम गरि खोप र अण्डा बितरण कार्यक्रम चलाएको हो । अहिले नगरका वडा नम्बर १,२,४,५,६,९ र १० मा खोप अभियान चलाइएको छ । नागरिकलाई वडाको पायक पर्ने केन्द्रमा खोप चलाएकोमा वडा नम्बर ३, ७ र ८ मा दिनपछी सकिनेछ भने खोप केन्द्रमा समेत खोप लगाउनबाट छुट्न पुगेका बच्चालाई अभियानको अन्तिम दिन रामपुर अस्पतालमा खोप लगाइने स्वास्थ्यकर्मी चेतना गाहाले बताउनुभयो । अभियानमा नगरपालिका भित्रका झण्डै ६ सय बालबालिकालाई खोप दिइनेछ। लामो समयदेखी जारी लकडाउनले गर्दा बाहिर बसेका गाउँघर फर्केपछी खोप लगाउने बालबालिकाको संख्या यो पटक अझ बढ्ने अनुमान गरिएको परियारले बताउनुभयो । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ। सोही खोप अन्तर्गत चैत १० गतेसम्म खोप कार्यक्रम नियमित भएकोमा बन्दाबन्दी शुरु भएपछि स्थगन गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा रोमिएको नियमित खोप सामाजिक दुरी अपनाइ संचालन गर्ने भनेपछी खोप कार्यक्रम चलेको हो । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने जारी मार्गदर्शन अनुसार खोप लगाउने स्वास्थ्यकर्मीले पिपिइ सहित सुरक्षाका सामाग्री अपनाएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update