Erani Mahal
प्रदेश सांसद सहितको जिल्ला स्तरीय टोलीद्वारा रामपुरमा अनुगमन
sae

पाल्पा - जिल्ला अन्तरगत प्रदेश सांसद र जिल्ला समन्वय समिति सहितको टोलीले रामपुर नगरपालिकामा नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा राहत वितरण अवस्थाको अनुगमन गरेको छ ।

जिल्ला समन्वय समितिको समन्वयमा भएको अनुगमनमा प्रदेश सभा सदस्यहरू नारायण प्रसाद आचार्य, युवराज खनाल, रमा घर्ती, प्रशासन, पत्रकार साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्लाका १० वटै पालिकामा अनुगमन गर्ने निर्णय अनुरुप रामपुर नगरपालिकाको काम र राहत बितरणको अबस्था तथा नियमितका काम बारे टोलीले चासो लिएर केही सुझाब समेत दिएको छ ।

हाल सम्म कोरोना रोकथाम, राहत वितरण कार्य लगायत नगरपालिकाले गरेको गतिविधिका बारेमा नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभएको थियो । चैत ११ देखि जारी लकडाउन र त्यो भन्दा १ दिन अगाडि काठमाडौबाट १ सय ६८ जना आउन चाहनेलाई ल्याएर नगर प्रबेशमा थर्ममिटरबाट जाचदेखी पहिलो चरणमा १ हजार ६६ घरधुरीका ४ हजार १ सय ३८ जना लाभान्वित हुने गरि राहत बितरण गरेको जानकारी दिनुभयो ।

दोस्रो चरणको १८ सय ९१ परिवारका झण्डै ७ हजार जनसंख्याको परिवारलाई राहत दिने गरि राहत बितरणको तयारी गरेको थापाले बताउनुभयो । नगरपालिकाले राखेका निजि तथा करारका कर्मचारीलाई ५०% रकम भत्ताका रुपमा बढाइएको बताउनुभयो । उहाँले जिल्ला प्रबेशलाई कडाई गरि कम जोखिम क्षेत्रमा केही सहज वातावरण गराउन तर्फ नलागे समस्या उत्पन्न हुने भन्दै पहल गर्न सांसदलाई अनुरोध गर्नुभयो ।

नगरमा १ सय ७१ जना चैतमा भारत सहित तेस्रो मुकुकबाट आएकाको आरडिटी परिक्षण कीट प्रदेश सरकारले उपलब्ध गराउन माग गर्नुभयो । नगरमा ७ वटा थर्मोमिटर र १२ सेट पिपिइ बाट मात्र सेवा दिन बाध्य भएकोले थप गर्न पहल गर्नुभयो । राष्ट्रिय गौरब सहितका प्राथमिकताका केही योजना संचालन गर्नै पर्ने भएकाले करोड बढीका योजना देशको परिस्थितिका कारण बहुबर्षे योजनामा लैजाने योजना राज्यले बनाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले परिवार संख्याको आधारमा राहत बितरण भएको बताउदै दोस्रो चरणको लागि पनि वडा जनप्रतिनिधि, सर्वदलीयबाट तथ्यांक आइसकेकोले अब बितरणमा ढिला नगर्ने जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरले स्वास्थ्यमा वडा वडामा औषधि, शिक्षामा एसइइ लक्षित टि. भि. कार्यक्रम, कृषिका खेतीमा प्रोत्साहन सहित नागरिकको सेवामा सहजता ल्याएको बताउनुभयो ।

इलाका प्रशासन कार्यालयका प्रमुख अशोक आचार्यले जिल्लाको निर्णय अनुसार नै चलिरहेको वताउदै शुरुका दिनहरुबाट नै नगरपालिका, नेपाली सेना र प्रहरीको सहकार्यमा लकडाउनको कार्यान्वयनमा जोड दिएको बताउनुभयो । इलाका प्रहरी प्रमुख भिम बहादुर कार्कीले क्वारेन्टाइनमा बस्न नमानेकालाई छोप्नु पर्ने र अन्य अपराधी समात्नुपर्ने अबस्थामा PPE नहुदा चुनौती बढेको बताउनुभयो ।

नगर समन्वय समिती सदस्य राजु प्रसाद श्रेष्ठले सबै मिलेर कोरोनालाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका सभापती नेत्र प्रसाद भट्टराई र नेकपा नगर अध्यक्ष कमलराज भट्टराईले सबैको समन्वयमा काम अगाडी बढेको जानकारी दिनुभयो ।

हालसम्म नगरपालिकामा क्वारेन्टाइनमा बसेका १८ जनाको आरडिटी परिक्षण गरी घर पठाइएको र हाल १२ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य संयोजक गिरिराज घिमिरेले यही १६ देखि २१ गतेसम्म नियमित खोप महिला स्वास्थ्य स्वयंसेबिका र स्वास्थ्यकर्मीको सहयोगमा चलाउने बताउनुभयो ।

प्रदेश सांसद युबराज खनालले रोग नियन्त्रणमा अझ समन्वायत्मक कार्यमा पालिकाहरु उस्तै रणनिती बनाएर जानुपर्ने बताउनुभयो । संबेदनसिल यो समयमा एक ठाउँमा बस्न गाह्रो भयो भनेर ल्याउने लाने यो हिड्ने लहडको समय नभएको बताउनुभयो । राहत पाउने कति यहीका बासिन्दा र कामको सिलसिलामा यहा आएकाहरु हुन् भन्ने तथ्यांक निकाल्न नगरपालिकालाई अनुरोध गर्नुभयो ।

प्रदेश सांसद नारायण प्रसाद आचार्यले संघको र प्रदेश सरकारको निर्णयबारे जानकारी दिदै स्थानिय तह कृषि, शिक्षामा नयाँ काम गर्दै लकडाउनमा भित्रै रहेकालाई र दीगो आर्थिक मन्दी प्रति सचेत हुँदै उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो ।

पानसयकोला, अधेरीखोला र मसानेघाटको ढलान र बनीसकेको संरचना बिग्रने पुलको काम निगरानीमा गर्न पहल हुने जानकारी दिनुभयो । उहाँले नगरपालिकामा सूचना डेक्सको व्यबस्था, अर्को वर्षको खाद्यान्न आयातको संभावना कम भएकाले जग्गा सदुपयोग नीति बनाउन, शिक्षामा रिजल्ट र पाठ्यपुस्तकको अबस्था, नियमितका योजना र राजस्वको मुल्यांकन गरेर अघि बढ्न नगरपालिकालाई अनुरोध गर्नुभयो ।

प्रशासनको समन्वयमा केही योजना र आर्थिक दृष्टिकोणले उपलब्धि लिने गरि अगाडि बढ्दै कोरोना रोकथाम, नियन्त्रण र अबलम्बन गर्नुपर्ने सतर्कतालाई आत्मसाथ गरि साच्चिकै दैनिक गुजारा चलाउन समस्या परेका परिवारमा राहत पुग्नुपर्ने बताउनुभयो ।

प्रदेश सांसद रमा घर्तीले बिपन्नलाई राहत र कोरोना रोकथाममा जुट्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिकी निमित्त प्रमुख मिरा मरासिनीले प्रदेश सरकारले नगरपालिकालाई १५ र ८ गाउपालिकालाई १० लाख दिएको र त्यो रकम राहत र क्वारेन्टाइन निर्माणमा लगाउनु पर्ने बताउनुभयो । जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जिल्लाका सबै प्रदेश सांसद सहित पाल्पाका क्षेत्र नं. १ र २ मा अनुगमनमा पुगेर राय सुझाब लिइएको बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update