Erani Mahal
पाल्पाका प्रदेशसभाका सांसदद्वारा राहत वितरण, क्वारेन्टाइन र स्वास्थ्य संस्थाकाे अनुगमन
IMG_7100

पाल्पा – प्रदेश नम्बर ५ का प्रदससभा सदस्यले पाल्पाको राहत वितरण, क्वारेण्टाइन र स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । पाल्पाबाट निर्वाचित संसदले आ–आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहमा पुगेर अनुगमन गर्नुभएको हो । जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा अनुगमन गरिएको छ ।


अनुगमनकाक्रममा कतिपय स्थानीय तहमा राहत वितरणको मादण्ड र प्रक्रिया पालना नभएको पाइएको छ । जसलेगर्दा राहत वितरणले समाजमा तिक्तता निम्ताएको पाल्पाका कतिपय गाउँपालिका अध्यक्षको गुनासो छ । कुनै गाउँपालिकाले धेरै वितरण गर्ने र कुनैले कम वितरण गर्दा सीमाना जोडिएका पालिकाका मानिसहरूबीच असन्तुष्टी बढेको छ ।


महामारीको सुरूवाती चरण भएकोले पहिलो चरणमा हातमुख नै जोड्न समस्या भएको अतिविपन्न परिवारलाई राहत वितरण गर्नुपर्ने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । ‘पछिल्ला दिनमा महामारीले कस्तो रूप लिने हो’ उहाँले भन्नुभयो ‘भावना र राजनीतिक स्वार्थमा डुवेर संकलन भएका सबै राहत एकैपटक सकाएर बस्नु राम्रो होइन् ।’


बाहिरी आम्दानीको श्रोत नभएकोले यहाँ तडकभडक तरिकाले राहत वितरण गर्न नसकिएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । जिल्लाका अन्य केहि पालिकाले धेरै राहत वितरण गरेको भन्दै यहाँका नागरिकले आफूलाई आक्रोश पोख्ने गरेको उहाँले सुनाउनुभयो ।


एउटै जिल्लामा फरकफरक परिमाणमा वितरण गरिएको राहतले जनतामा निरासा ल्याएको प्रदेश संसदको ठम्याइ छ । जुन दिनदेखि राहत वितरण गरियो, त्यो दिन रातह वितरण गर्ने बेला भइनसकेको प्रदेश नम्बर ५ का संसद तुलाराम घर्तीमगर (वसन्त)ले बताउनुभयो ।


अनावश्यकरूपमा थालिएको राहत वितरणले पछिल्लो समयमा स्थानीय सरकार अप्ठ्यारोमा परेको उहाँले बताउनुभयो । ‘दिनभरी ज्याला मजदुरी गरेर खाने केहि परिवारमा समस्या थियो’ उहाँले भन्नुभयो ‘प्रक्रियागत ढंगले पहिलो, दोस्रो चरण गरेरक्रमशः राहत पाउने परिवारको संख्या किटान गर्नुपथ्र्यो ।’


स्थानीय सरकारका प्रतिनिधि यतिबेला लचिलो र बढी सरल हुने बेला नभएको अर्का सांसद वीरबहादुर रानाले बताउनुभयो । ‘योभन्दा अझै जटिल परिस्थिति आउनसक्छ’ उहाँले भन्नुभयो ‘राहतमा एकरूपता ल्याएर परिवारको तत्कालिन अवस्था हेरेर मात्र राहत वितरण गर्नुपर्छ ।’
आवश्यक नपर्ने क्वारेण्टाइन निर्माण गरेर सरकारले अनावश्यक खर्च गरेको अर्का प्रदेश संसद डा. पुरनमान बज्राचार्यले बताउनुभयो । अहिले बाहिरबाट घरमा आएका युवालाई होम क्वारेण्टाइनमा राखेर आयमूलक कार्यमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।


प्रदेश ५ सरकारले पाल्पाका २ वटा नगरपालिकालाई १५ लाखका दरले र ८ वटा गाउँपालिकालाई १० लाख दरले बजेट उपलब्ध गराएको छ । सो बजेट राहत वितरण र क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्ने अधिकार स्थानीय तहले पाएको जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीले बताउनुभयो ।


पाल्पाबाट सहभागी प्रदेश संसदले जिल्लाका सबै स्थानीय तहमा राहत वितरण र क्वारेण्टाइनको अवस्थाबारे प्रत्यक्ष अनुमगन गरेर जानकारी लिएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । संसदीय टोलीसँग स्वास्थ्य शाखा प्रमुखले आफूहरूलाई स्वास्थ्य कवज प्रयाप्त नभएको गुनासो गरेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update