Erani Mahal
रामपुरको न्यायिक समितिले अनलाइनबाटै उजुरी लिने
94143727_591780534879422_7524147854886043648_n

पाल्पा - रामपुर नगरपालिकामा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था नगरपालिका न्यायिक समितिले गरेको हो ।

समितिको शुक्रवार बसेको बैठकले सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै नगरपालिकाको न्यायिक समितिमा अनलाइनबाट र मौखिक उजुरी मोबाइलका माध्यमबाट गर्न सकिने जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्फत पीडितले [email protected] मा र ०७५४००१४५ मा उजुरी गर्नसक्ने व्यवस्था गरेको रामपुर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

अनलाइनबाट लिखित तथा मोबाइल न. मा पनि मौखिक उजुरी दिन सकिने र मौखिक उजुरी माथि समितिले सम्बन्धित वडाका जनप्रतिनिधि मार्फत बुझेर लिखित उजुरीबाट आवश्यक प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । उपप्रमुख आचार्यले लकडाउनको बेला सबै नागरिकलाई घरमा नै बस्न अनुरोध गर्दै विषम परिस्थितिमा हुन सक्ने घटनाका निवेदनको आधारमा प्राथामिकता हेरी सामाजिक दुरी कायम गरी छलफल र बहसबाट फैसला गरिने बताउनुभयो । आवश्यक परेमा सम्बन्धीत स्थानमा पुगेर पनि न्याय प्रदान गर्ने बताउनुभयो ।

लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको न्यायिक समिति सचिवालय सचिव पुजा परियारले बताउनुभयो । न्यायिक समितिको बैठकले आबश्यकता ठानेर न्यायिक समिति समक्ष यसरी अनलाइन मार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था छ । संविधानको व्यवस्था अनुसार देशका सबै पालिकाहरुमा उपप्रमुख तथा उपाध्यक्ष संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ । न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटा प्रकृतिको मेलमिलाप गराउन पाउने व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update