Erani Mahal
गलकोट नगरपालिकाको व्यवस्थापनमा गृह जिल्ला पुगे मजदुर
नब

थम्मन थापा बागलुङ- विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण दिनहुँ फैलिने क्रम तिव्र छ । नेपालमा पनि यसको प्रभाव बढदो क्रममा छ । नेपाल सरकारले गत चैत ११ गते देखि देश पुर्ण रुपमा लक डाउन गरेको छ ।

देश लक डाउन भए सँगै दैनिक ज्याला मजदुरी गर्ने मजदुर तथा कामदार प्रत्यक्ष मारमा परेका छन । १ महिना देखि काम ठप्प हुँदा विभिन्न जिल्ला बाट रोजगारीको लागि गलकोट नगरपालिकामा रहेका कामदारहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल भएपछि गलकोट नगरपालिकाले आज उनीहरुलाई गृह जिल्ला जानको लागि सहजीकरण गरेको छ । नगरपालिकाले लक डाउन पछि उनीहरुलाई राहत वितरणको क्रममा समेत खाद्यान्न सहयोग गर्दै आईरहेको थियो ।

उनीहरुले दिनहुँ घर जाने व्यवस्था मिलाउन अनुरोध गरेपछि आज ८५ जना मजदुरलाई यातायातको व्यवस्था गरि घर पठाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकाकी दिए । पर्सा बारा रौतहट लगायतका जिल्लाबाट विभिन्न कामको सिलसिलामा गलकोटमा रहेका मजदुरहरुलाई बसको व्यवस्था गरि गृह जिल्लासम्म पठाईएको वडा अध्यक्ष भण्डारीले बताउनुभयाे ।

त्यसको लागि गलकोट नगरपालिकाले नगद रु २५ हजार सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिनुभयाे । गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका मजदुरहरुलाई यो संकटको घडीमा घरमा जाने व्यवस्था मिलाईएको नगर उपप्रमुख काउचाले बताउनुभयाे ।

उनीहरुले कामकाज ठप्प भएपछि दैनिक गुजारा चलाउन समस्या भएको भन्दै गलकोट नगरपालिकामा दिनहुँ गुनासो गर्न थालेपछि गृह जिल्ला जाने व्यवस्था मिलाईएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयाे । मजदुरहरुलाई २ वटा बसको व्यवस्था गरि पठाईएको छ । १ महिना देखि संकटमा परेका मजदुरहरु घरमा जान पाएपछि खुसी भएका थिए । गलकोट नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई लक डाउनको समयमा घरमा चुल्हो बाल्न समस्या भएको भन्दै विभिन्न राहत समाग्री समेत प्रदान गरेको छ ।

यो विपतको घडीमा विभिन्न संघ संस्था, व्यावसायी र व्यक्तिले समेत राहत सहयोग प्रदान गर्दै आईरहेका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update