X

कोरोना महामारी नियन्त्रणमा राज्यकाे प्रभावकारी भूमिका आवश्यक

रानीमहल संवाददाता || ११ बैशाख २०७७,बिहीबार १७:१६

अनिलकिशोर घिमिरे
तीब्र प्रतिस्पर्धाको होडबाजीमा एउटा रफ्तारमा दौडिरहेको मान्छेको जिन्दगीको यात्रालाइ कोरोना भाइरसले टक्क अडाइदिएको छ । यसले संसारका सबै बर्गहरुलाई एउटै सतहमा उभ्याइदिएको छ । डब्लुएचओ को स्वास्थ्य सुबिधा सूचीमा पहिलो र दोस्रो स्थानमा पर्ने क्रमशःफ्रान्स र इटलीदेखि १५० औं स्थानमा पर्ने नेपालसम्म कोरोनाले प्रभावित पारेको छ । मन्दिरका ठूलाठूला भजनकिर्तन र पूजाआजा रोकिएका छन् , सायद मन्दिरमा अहिले हिन्दुहरुका भगवान छैनन् । क्रिश्चियनका चर्चहरुमा प्राथना हुँदैन, सायद चर्चमा यशु आउन छोडे । मक्का मदिना मस्जिदहरु नमाजका लागी बन्द गरिएका छन् , सायद मस्जिदमा अल्लाह नाम नजपेपनि हुन्छ । बिश्व रङ्गमन्चमा प्रभुत्वशाली मानिएका , खरबौं पैशा खर्च गरेर आणविक अस्त्र शस्त्र निर्माण गरेका , चिकित्साबिज्ञानमा नाम कहलिएका थुप्रै मुलुकहरु अहिले रन्थनिएको अवस्था छ । हामीलाइ थाहा छ, हामी सबैले एकदिन यस धर्तीबाट अवकाश लिनुपर्छ तर कहिलेकाहीँ अप्रत्यासित घटना हुन्छन् र त्यस्ता घटनाहरुले मानविय अस्तित्व नै संकटग्रस्त हुन्छ तब हाम्रो सोच चिन्तन र मनोबिज्ञानले ठूलो चुनौतीको सामना गर्नपर्ने हुन्छ । कोरोना महामारीको संकट सम्पूर्णरुपमा समाधान हुन केहि बर्ष पनि लाग्ने अनुमानहरु हुन थालेका छन् । यदि त्यसो भयो भने त्यसले बिश्वको सामाजीक, आर्थिक संरचना सोंच र दृष्टिकोणमा कैयौं उथलपुथल ल्याउनेछ ।


२०१९ डिसेम्वर ३१ मा चिनबाट शुरु भएको कोभिड १९ को सन्दर्भमा बिश्व राजनितीका खेलाडीहरुबिच कैयौं आरोप प्रत्यारोपहरु चले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाइ चिनिया भाइरस वा वुहान भाइरस भनेर आरोप लगाए । पहिलेपहिलेका रोगहरुलाइ पनि अफ्रिकि रोग र अफ्रिकाको छाला नै संक्रमण निम्ताउने प्रकारको छ भनेर आरोप खेपेको र नश्लियताको शिकार भएको कुरा नाइजेरियाका मानवअधिकारबादी लाओलु सेन्वान्जोले बताएका छन् । उनले भनेका छन् ‘कुनै रोगलाई कुनै क्षेत्र बिशेषका मानीस संग जोड्न शुरु गर्नासाथ एक अर्कालाइ राष्ट्रियताको सानो परिचयमा खुम्चाउने र त्यसमार्फत मानवतालाई नामेट पार्ने बेइमान र खतरनाक प्रयास शुरु हुन्छ ।’ यसप्रकार अरुलाइ दोषारोपण गरेर अमेरिका आफु मानव संवेदनामाथी खेल्ने प्रयत्न गरेको देखिन्छ । उसले जतिसुकै घमण्ड गरेपनि आज आफ्ना नागरिकहरुलाइ कोभिड १९ बाट जोगाउन हम्मेहम्मे परेको यथार्थता प्रस्ट देखिन्छ ।उ सले भनेजस्तो कुनैपनि रोगले गोरो कालो छाला वा अफ्रिकी , चिनियाँ वा एशियाली शरीर भन्दैन ।


प्रार्थना गरेर जोगिने भए अमेरिकाको भर्जिनिया स्थीत न्यू डेलिभिरेन्स इभान्जेलिस्टीक चर्चका पाष्टर बिशप जेरल्ड ग्लेनको मृत्यु हुने थिएन । यसले बर्ग हेर्ने भए स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु हुने थिएन । यसै गरि कोरोनाको कारण फ्रान्सका पुर्व मन्त्री प्याट्रिक दुभेज्याको मृत्यु भएको छ । उत्तर इटलीको चेने नगरपालीकाका मेयर गोर्जीयो भ्यालोरी पनि बाँच्न सकेनन् ।जर्मनीका अर्थमन्त्री थोमस स्याफरले कोरोनाकै चिन्ताले आत्महत्या गरे । स्पेनका २१ बर्षिय फुटबल कोंच फ्रान्सीस ग्रासियाको समेत ज्यान गयो । बेलायतका राजकुमार चाल्र्स , प्रधानमन्त्री वोरिस जोनसन र स्वास्थ्यमन्त्री हानकक लाइ कोरोना संक्रमण भयो । यसभन्दा अगाडीका संक्रमण र महामारीबाट पनि ठूला घराहना तथा शाषकहरु समेत प्रभावित भएका इतिहास पाइन्छन् । सन् १८३६मा बिश्वकै सबभन्दा धनि ब्यक्ति नाथन रोथस्चाइल्ड मृत्यु संक्रमणबाट भएको थियो । १८४१मा अमेरिकी राष्ट्रपति विलियम ह्यारिसनको मृत्यु सेप्टिक सकका कारण भएको थियो । सन् १९१८ को जनवरि देखि बिश्वमा फैलिएको स्पेनीस फ्लुको महामारीले दक्षिण अफ्रिकाका प्रधानमन्त्री लुइस बोथा तथा स्विडेनका राजकुमारको मृत्यु भएको थियो। त्यतिबेला बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्ज तत्कालीन अमेरिकी राष्ट्रपति र जर्मनीका राजा समेत संक्रमित भएको पाइन्छ । त्यो महामारीले बिश्वभर ८ देखि १० करोड मान्छेको ज्यान गएको थियो भने भारतमा मात्रै १ करोड ७० लाखको मृत्यु भएको थियो । सो महामारीबाट महात्मा गान्धीका नाती र बुहारीको समेत मृत्यु भएको थियो ।यसैगरि सन् १९४१मा अमेरिकी राष्ट्रपति केल्भिन कोलरिजका छोराको मृत्यु पनि संक्रमणबाटै भएको थियो ।


अहिलेसम्म एचआइभी एड्सबाट रोग पहिचान भएको १९७६ देखि हालसम्म करिब ४ करोडको ज्यान गएको र ४ करोडनै संक्रमित भएको सामान्य तथ्याङ्क पाइन्छ । पछिल्लो एक सय बर्षमा फ्लुजन्य रोग(स्वाइन फ्लु, बर्ड फ्लु, एशियन फ्लु, इन्फ्लुन्जा¬)को संक्रमणबाट करिव ५ करोडको ज्यान गएको छ ।प्लेग महामारीको कारण करिव १० करोडको ज्यान गएको पाइन्छ । जसलाइ चौधौ शताब्दीको ब्लेक डेथ पनि भनिन्छ ।१८५२ र १९१० तिर हैजाको कारण बिश्वमा करिव १ करोडको ज्यान गएको थियो ।सन् २००२मा दक्षिण चिनबाट शुरु भएको सार्सले ३० मुलुकमा फैलिएर करिब ९ हजार मान्छेलाइ संक्रमण गराइ ८१३ जनाको ज्यान लिएको थियो ।२०१२मा साउदी अरब बाट शुरु भएको मर्सले २७ मुलुकमा फैलिएर २५ सय ब्यक्तिलाइ संक्रमित पार्दै ८५८ जनाको ज्यान लिएको थियो । नेपालमा अहिलेसम्म ठूलै महामारीले प्रभाब पारेको १७७२ तिर हो ।तिन सय बर्ष अगाडिको महामारी शिर्षकमा डा.महेशराज पन्त लेख्छन् –१७७२ चैत्रमा देखापरेको महामारीले गर्दा १८हजार घरधुरी रहेको काठमाडौका १८७१४ ब्यक्तिको मृत्यु भएको थियो । तत्कालीन राजा भाष्कर मल्ल पनि मरेका थिए । सायद त्यो प्लेग थियो । बाढी, पहिरो, भुकम्प, सडक तथा हवाइ दुर्घटना, सामुन्द्रीक आँधी जस्ता बिपत्तिबाट पनि बार्षिक लाखौं मान्छेको ज्यान गइरहेको हुन्छ । यी प्रकृतिका थुप्रै घटना परिघटनाहरुले मानिसलाइ यो सभ्यताको चरणसम्म आइपुग्न थुप्रै ब्यवहार र पाठहरु सिकाएको छ । अहिलेको कोभिड–१९ को संक्रमण अधिकांश देशमा फैलिसकेको छ ।यसले अहिले सिंगो संसारलाइ हल्लाइरहेको छ ।कोरोना महामारीले नयाँ प्रबिधि , नयाँ आविश्कार र नयाँ ज्ञान तथा चेतनालाई चुनैति दिदै आएकोले यसबाट पनि कैयौं नयाँ सोंच चिन्तन र ब्यवहारहरु श्रृजना हुनेछन् ।


कोरोना महामारीबाट आजसम्म १८४२३५ जनाको ज्यान गइसकेको छ भने २६३७८८८ जना संक्रमित भएका छन् ।र ७१७८१९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना बिरुद्धको औषधि पत्ता लागेको छैन ।औषधि पत्ता लाग्ने र औषधि आम जनताको पहुँचमा पुग्नेबेला सम्म कति मानवीय क्षति हुनेहो आंकलन गर्न सकिदैन । यसको प्रकृति, गति, स्वरुप र आयु समेत अनिश्चित भइरहेको सन्दर्भमा यसले १५० बर्ष यताकै सर्बाधिक ठूलो आर्थिक मन्दि हुनसक्ने सर्बेक्षण अर्थबिदहरुले गरेका छन् । संसारभर उद्धार र राहतका कैयौ प्याकेजहरु आएपनि यसले धेरैसमय धान्ने अवस्था आउदैन । अव यसको संक्रमण बढ्दै गयो र बन्दाबन्दि जारी राख्ने स्थिति रह्यो भने उत्पादन चक्रमै संकट उत्पन्न भएर बिश्वब्यापी खाध सुरक्षाको संकट श्रृजना हुने खतरा बिश्व स्वास्थ्य संगठनलेनै औंल्याइसकेको छ । यसले गरिबी र असमानतालाइ पनि झन बढ्वा दिनेछ ।अहिलेसम्म धनिहरु धन थुपार्न ब्यस्त र गरिवहरु अभाब र बेचैनिमा जीवन गुजार्न बाध्य भइरहेको पृष्ठभूमिमा यस महामारीले झन आर्थिक अराजकता निर्माण गर्ने खतरा छ ।


नेपालमा हालसम्म ४५ जना संक्रमित भएका छन् । ७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन । यो हाम्रो लागी खुसीको कुरा हो कि हामिले सतर्कता अपनाउन प्रयाप्त समय पाएका छौं । तर प्रयाप्त समय भएपनि अब्यवस्थित राज्य, भ्रष्ट शाषक र प्रशाषक, परनिर्भर मानसिकता आदी कारणले कोरोना संक्रमणको नियन्त्रणका कामहरु प्रभाबकारी बन्न सकिरहेका छैनन् । आफ्ना नागरिकहरुलाइ सुरक्षीत गर्ने र ब्यवस्थापन गर्ने कामको लागी संसारमा राज्यहरुको निर्माण भएको हो । तर हाम्रो देशमा सरकारले प्रभाबकारी रुपमा देश बिदेशमा भएका नागरिकहरुको सुरक्षा र ब्यवस्थापन गर्ने काम गरिरहेको छैन । नेपालमा पहिलो संक्रमण देखिएको जनवरी २४ मा हो । त्यो बेला सम्म कोरोनाको संक्रमण चिन बाहिर फैलिसकेको थियो । त्यसपछिकोे करिव तिन महिनासम्म राज्य तहबाट सामान्य नियमित कार्य बाहेक युद्धस्तरमा कार्य गरेको देखिएन ।


स्वास्थ्य परीक्षण सामग्री खरिद प्रक्रियामा नै कैयौं ढिलासुस्ती गर्ने र अनियमितता भएका समाचारहरु आएका छन् । यस सन्दर्भमा पूर्व प्रधानन्यायधिस शुशिला कार्किले लेख्छिन् –‘यो मुलुकमा केही यस्ता प्रकृतिका मान्छे रहेछन् जो कहिल्यै परिवर्तन हुन सकेनन् । तिनको संस्कारमा कुनै परिबर्तन आउन सकेन । राणाकाल होस् या पन्चायत , कांग्रेशकाल वा अहिलेको बामपंथी कालसम्म पनि राज्यको श्रोत दोहन मात्र गर्ने क्षमताधारी गज्जबका रहेछन् ।यो बर्ग त यस मुलुकको कोरोना भन्दापनि बलियो, नमर्ने, नजल्ने, नगल्ने, नसेलाउने, नहराउने, नसड्ने भाइरस रहेछन् ।’ यसप्रकारले हेर्दा राज्यले आफु बिश्वशनिय ढङ्गले परिचालन नहुने, सरकारी गैरसरकारी तथा निजी क्षेत्रलाइ सहकार्य र समन्वयका साथ अगाडी नबढाउने साथै सिमीत ब्यक्ति , सिमित ब्यापारी र ठेकेदारहरुलाइ प्रयोग गरेर यति ठूलो महामारीबाट पार पाउने महत्वकांक्षा राख्ने गर्यो । यसले हाम्रो राज्य वा सरकार केको लागि र कसका लागि भन्ने प्रश्न खडा गरेको छ ।


हाम्रो मुलुकका करिब ५० लाख युवा जनशक्ति रोजगारी र अध्ययनको सिलसिलामा भारत, खाडि राष्ट्र लगाएत अन्य बिदेशी भुमिमा रहेका छन् ।हाम्रो देशको अर्थतन्त्रको धेरै हिस्सा उनिहशरुले पठाएको रेमिटेन्सबाट धानीएको छ । तर राज्यका निकाय संग बिदेशमा गएका आफ्ना नागरिकहरुको यथार्थ बिबरण छैन र उनिहरुको अवस्थाको बारे जानकारी लिने काम गरेको देखिदैन । बिदेशमा रहेका दुतावासहरुले समेत सम्बन्धित देशमा रहेका नेपालीबारे यथार्थ तस्विर दिन सक्दैनन् । सरकारका मान्छेको निहित स्वार्थ पुरा गर्नको लागी आफ्नो नजिकका मान्छेहरुलाइ योग्यता र कार्यदक्षता बिपरित राजदुतमा नियुक्ति गर्ने परिपाटीले गर्दा उनिहरुले आफ्ना नागरिकहरु प्रति जवाफदेहि र जिम्मेवार बन्न सकिरहेका छैनन् । नेपालमा रहेका कैयौं आफ्ना नागरीकहरुलाइ अमेरिका, अष्ट्रेलिया चिन लगाएतका मुलुकहरुले बिमान चार्टर गरि लगेका छन् ।भुटानले आफ्ना दुइजना नागरिकको लागी पचास सिटको जहाजनै पठाएर लग्यो । तर हाम्रो देशको सरकारले भारतीय सिमाम अलपत्र नेपालीलाइ घर आउनबाट बन्चित गरयो ।हप्तौ दिन सम्म भोकै प्यासै बस्दा समेत सरकारले दुख देखेन । महाकाली नदिमा जोखिम मोलेर आफ्नो देशको माटो छुन आएका निर्बस्त्र नेपाली नागरिकहरुलाइ हत्कडी लगाउन प्रहरी तैनाथ गरियो । अलपत्र नेपालीलाइ उद्धारको कार्य भएन । बरु भारततिरै धपाउने काम भयो । बिभिन्न उधोग तथा कम्पनीहरु समेत बन्द भएका र मालीकले घर तिर जान भनेपछि आफ्नो घर र परिवार संग बस्ने उद्धेश्यका साथ आएका हजारौ नेपालीहरु अहिले पनि सिमानाहरुका गर्मिको धुप संग लडिरहेका छन् ।कोरोना भन्दा ठूलो पिडा सहेर बसेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिक नचिन्ने अमानविय हर्कतले सरकारको असली चरित्र उदाङ्गिएको छ ।


देशका कैयौं परियोजनाहरु र बिकाशका कार्यमा काम गर्ने र शहरमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबेै काम रोकिएपछि दैनिक जीवन धान्न मुस्किल भएर आफ्नो घर जान खोज्दा त्यसको बन्दोबस्त गराइएन ।बाध्यताको कारणले हप्तौ पैदल हिडेर भोकै प्यासै घर गए । त्यसको बारेमा चिन्ता गरिएन । अहिले बल्ल कतिपय मन्त्री र सांसदको पहुँच पुग्नेहरुलाइ घर पठाउने गरिएको छ । भारतका कैयौं शहरहरुमा अहिलेपनि लाखौ नेपालीहरु रहेका छन् । बिसौ हजारको संख्यामा भारतियहरु संक्रमित भएका समाचारहरु आइरहेका छन् ।त्यहाँ भएका नेपालीहरुको अवस्थाको बारेमा कुनै समाचार आइरहेको छैन । खाडी राष्ट्रहरुमा पनि कैयौं नेपालीहरु कोरोना संक्रमित भएको र केहि संख्यामा मृत्यु भएका समाचार आइरहेका छन् ।बेलायत र अमेरिकामा मात्र २० जना भन्दा बढी नेपालीको मृत्यु भएको जनाइएको छ । यसरी हेर्दा संसारभर रहेका नेपालीको अवस्थाबारे आधिकारीक स्थिती कस्तो छ? कहाँ कहाँ कति नेपली संक्रमित भए वा स्वास्थ्य स्थिती के कस्तो छ? उनिहरुलाइ कसरी उपचारको ब्यबस्था गर्ने ? देशभित्र आउन चाहेकालाइ कसरि सुरक्षित ल्याउन सकिन्छ ?भन्ने कुरा राज्यले सोच्नुपर्दछ । त्यसको लागि प्रभाबकारी संयन्त्र बनाएर अध्ययन गर्ने र समस्यामा परेकालाइ तत्काल उद्धार र राहतको ब्यवस्था गर्नुपर्दछ ।


अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले अष्ट्रेलिया पुगेको एक बर्ष नबिताएका बिधार्थी र तिनका आश्रीतहरुलाइ आफ्नो देश फर्कन आग्रह गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरुलाइ फिर्ता नलग्ने देश बिरुद्ध नाकाबन्दी लगाउने घोषणा गरेका छन् ।यहि अप्रील २१ मा उनले २ महिनाको लागी भनेर भिसा प्रक्रिया र डिभी बन्द गरेका छन् ।उनले आप्रवासीहरु बिरुद्ध अनुदारको निती पहिलेदेखी लिएका थिए । कतार, मलेशिया, दुबइ जस्ता देशहरुले पनि बिदेशी नागरिकहरुलाइ उदार भएर हेरेको पाइदैन ।नेपाल लगाएतका बिकासोन्मुख देशबाट युरोप अमेरिका जस्ता देशमा गएर काम गर्नै आप्रबाशीहरु आइएलओ को परिभाषा अनुसार अनौपचारिक कामदार हुन्छन् र उनिहरुको रोजगारदाता संग लिखित नियुक्तिपत्र वा औपचारिक करारनामा हुँदैन । त्यसैले कतिपय देशहरुले घोषणा गरेका राहत र उद्धारका प्याकेजमा सहुलियत प्राप्त गर्न उनिहरुलाइ कठिनायी हुन्छ । अहिले कैयौं बिदेशमा रहेका नेपालीहरु सहाराबिहिन भएका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकहरुलाइ कुटनैतिक नियोगहरु परिचालन गरेर तत्काल उद्धार गरिनु आवश्यक छ । सजिलोको समयमा बिदेशमा रहेका नेपालीहरुको रगत र पसिनाबाट प्राप्त रेमिटेन्समा मस्ति गर्ने तर अफ्ठ्यारोको बेला वास्ता नगर्ने कार्य घोर अमानविय कार्य हो ।


देशमा कैयौ सम्भावनाहरुको अध्ययन बिकाश गरि रोजगारीका क्षेत्र पहिचान गर्ने र अवसर श्रृजना गरि युवाहरुलाइ देशमै बस्ने बाताबरण बनाउनु पर्दछ । शाषकहरुको सधैभरिको सत्ता राजनितीको लुछाचुडी र भ्रष्ट चरित्रको कारण नेपालमा सम्भावना नदेखी लाखौ नेपाली युवाहरु बिदेशी पुजीबादी र साम्राज्यबादी देशहरुको सेवागर्ने र रक्षा गर्ने खेताला बनाइएको छ । बिदशमा रगत र पसिना बगाएर नेपालको अर्थतन्त्र धान्दा वाह! भनियो । तर यस्तो प्रकारको बिपत्ति आउदा उनिहरुलाइ देशभित्रै ब्यवस्थापन गर्ने कुरा सोचिएन भने पूनः इतिहासले धिक्कार्ने छ । अहिले पनि नेपालमा कतिपय पूराना नयाँ बिश्वबिधालयहरु छन् , मेडिकल कलेज र अनुसन्धान केन्द्रहरु पनि छन् ।तर उनिहरुले देशको लागी अध्ययन अनुसन्धानमा लाग्ने र नागरिक प्रतिको दायीत्व पुरा गर्ने भन्दा पनि निजी स्वार्थ र बिदेशी डलर एजेन्सीहरुको इन्ट्रेस्ट पुरा गर्ने प्रकारले काम गरेको पाइन्छ ।उनिहरुले बिदेशीहरुकै डिजाइनमा रहेर कैयौं अनुत्पादक जनशक्ति निर्माण गर्ने र रोजगारबिहीन बनाएर अलपत्र पार्ने काम गरिरहेका छन् ।


नेपालको कृषि प्रणाली, उधोगधन्दा र रोजगारीका सम्भावनाहरुलाइ सखाप पार्न बिदेशी दातृ निकायहरुले कैयौं एनजिओ आइएनजिओहरुको मार्फत युवाहरुलाइ गलत सन्देश दिदै आएका छन् । सरकारी निकायले समेत त्यस्तै संस्थाहरुलाइ प्रोत्साहित गर्ने गरिरहेका छन् । यदि राज्य संयन्त्र लागेर युवाहरुलाइ देशमा अवसर दिने प्रकारका कार्यक्रम ल्याउनेहो भने कुनै युवाहरु घर छोडेर बिदेशी भूमिमा दुख पाउन कदापी जादैनन् । अहिले पूर्ण बहुमतको सरकार छ ।सरकारले चाहेमा उत्तिबेलै जस्तो निर्णय पनि गर्न सक्छ । यस्तो महामारीको बेला यो पनि एउटा अवसर हो ।तर सरकार अन्य काममा ध्यान दिदै आएको देखिन्छ ।जस्तो कि सरकारले भर्खरै एकैदिनमा निर्णय गरेर बेमौषमी संबैधानिक परिषद र दल सम्बन्धी अध्यादेश जारी गर्यो । यसरी हेर्दा सरकार खास योजनामा चिन्तित भएको देखिदैन । यसले आफ्नो बिश्वास गुमाउदै गएको छ ।यसले गर्दा भविष्य झन अस्थिरता र अराजकताको स्थिती श्रृजना हुन सक्छ ।


कोरोनाको महामारी सकिएपछि संसारको स्वरुप, सम्बन्ध र रोजगारीका प्रणालीहरु पनि परिबर्तित होलान् । त्यस्तो अवस्थामा अहिले नेपाल आइसकेका र पछि नेपाल आउने युवाहरु साथै देशभित्रै रहिआएका युवाहरुको भविश्य संग राज्यको भबिश्य र समृद्धि जोडिएको छ । युवाहरुले आफ्नो माटोमा श्रम गरेर खान थालेपछि युरोप, अमेरिका, अरब वा ठूला हाकिम कर्मचारीको सपना पनि देख्दैनन् र राज्य प्रणालीको सुदृढिकरणमा टेवा पुग्छ । राष्ट्रिय अर्थतन्त्रको बिकाश हुन्छ । ठूलाठूला महामारी र बिपत्तिहरुको समयमा आत्मनिर्भर भइ चुनौतिको सामना गर्न सकिन्छ । त्यसैले राज्यले आफ्ना नागरिक चिनोस, आफ्नो ब्यबहार परिबर्तन गरोस् र आफ्ना नागरिकहरुको उचित संरक्षण ब्यवस्थापन गरोस् ।

लेखक अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys