Erani Mahal
ऐतिहासिक भगवती जात्रामा सार्वजनिक विदा
Jatra-

पाल्पा, पाल्पाको ऐतिहासिक भगवती जात्रालाई पाँच नं. प्रदेश सरकारले राष्ट्रिय महत्व दिएर विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद बैठकले भगवती जात्रालाई महत्व दिएर पाल्पा जिल्लामा विदा दिने निर्णय गरेको हो । नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको उपलक्ष्यमा विजयोत्सवको रुपमा मनाइने भएकाले भगवती जात्रालाई जिल्लामा विदा दिने निर्णय गरिएको मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभयो । रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको निर्णयको स्वागतमा बुधवार साँझ मन्दिरमा दीपावली गरेको अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भगवती जात्राको ऐतिहासिक पक्षलाई महत्व दिएर प्रदेश सरकारले गरेको विदा दिने निर्णयको स्वागत गर्नुभयो । राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षार्थ नेपालीहरुले प्रदर्शन गरेको त्यो नेपाल अंग्रेज युद्ध र विजय हासिल गरेपछि मनाउन थालिएको भगवती जात्रालाई राष्ट्रिय विदा नै घोषणा गर्नुपर्ने नगरपालिका प्रमुख शाहीको भनाई रहेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीले भगवती जात्राको दिन विदा दिने निर्णयले सिंगो पाल्पालीलाई खुशी बनाएको बताउनुभयो । नेपालको राष्ट्रियतासँग जोडिएको विजयोत्सवका दिन देशका प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री सहभागी हुनुहोस् भन्ने माग हाम्रो रहेको छ, कार्यवहाक प्रमुख मरासिनीले भन्नुभयो । इतिहासविद् निर्मल श्रेष्ठले राम्रो कामको थालनी भएको र यो विजययात्रालाई पाल्पाको मात्र नभएर राष्ट्रिय गौरवकै रुपमा मनाइनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल अंग्रेज युद्ध र विजययात्रा नेपालको राष्ट्रिय अखण्डतासँग पनि जोडिएको छ ।’

नेपाल अंग्रेज युद्धमा नेपालीले विजय गरेपछि करिव दुई शताब्दी देखि मनाइदै आएको भगवती जात्रालाई राष्ट्रिय महत्व दिन पाल्पालीले माग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update