Erani Mahal
रामपुरकाे क्वारेन्टाइनमा बसेका तीन जनाकाे आरडिटी रिपोर्ट नेगेटिभ
ss-1

पाल्पा - जिल्लामा र्‍यापिड डाइगोनष्टिक टेष्टको किट बढेर आएपछि कोरोना संक्रमणको परिक्षणलाई तीब्रता दिइएको छ । पहिले १४ दिन क्वारेन्टाइनमा बसेका ४५ जनामा परिक्षण गरेकोमा पछि २ कीट थपेर आउदा २ सय ३५ वटा कीट जिल्लामा भएपछि जिल्लाभर संक्रमणको जोखिम भएर क्वारेन्टाइनमा बसेर समय पूरा भएकालाई आरडिटी परिक्षण गरिएको हो । रामपुरको क्वारेन्टाइनमा बसेका ३ तीन जनाको सोमबार गरेको आरडिटी परिक्षणमा नेगेटिभ आएपछि थप एकहप्ता घरमा बस्न सुझाब दिएर घर पठाइएको छ ।

रामपुर नगरपालिका ५ मा रहेको बालकल्याण प्राविको क्वारेन्टाइनमा बसेका बाबू छोरा र वडा नं ३ को जनविकास मावि रजघराको क्वारेन्टाइनमा बसेका एक जनाको आरडीटी परिक्षण गरिएको हो । रामपुर २ अत्रबासका बाबु छोरा ३५ वर्षीय सुनिल नेपाली र ६ वर्षीय शिव नेपाली, जनविकास माविमा बसेका धनेन्द्र घिमिरेको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका स्वाथ्यकर्मी मनोज सुवेदीले बताउनुभयो ।

आरडीटी परिक्षण पश्चात उनीहरुलाई बिदाई गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले पनि कम्तिमा एकहप्तादेखी १० दिनसम्म घरमा नै क्वारेन्टाइनमा बस्न सुझाव दिएको बताउनुभयो ।

पछिल्ला समयमा बिदेशबाट आएको १ महिनापछि पनि कोरोना संक्रमण देखिएको रिपोर्ट बाहिरिएको बताउदै क्वारेन्टाइनमा बसेर आइयो अब त केही हुन्न भन्ने होइन उपप्रमुख आचार्यले भन्नुभयो-होम क्वारेन्टाइनमा बस्नुस् केही समस्या आए सम्पर्क गरिहाल्नुस्,जनप्रतिनिधिले निरन्तर निगरानी गर्नुहुनेछ ।

रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका नर्सिङ अधिकृत पुनम धिताल, कमला श्रेष्ठ, शहरी स्वास्थ्य केन्द्र मटेरीका स्वास्थ्यकर्मी रिता खण्डलुक, सामुदायिक स्वास्थ्य केन्द्र रजघराका स्वास्थ्यकर्मी चेतना गाहाको टोली आरडीटी परिक्षणमा खटिएको थियो।

रामपुर नगरपालिका ५ को बालकल्याण प्राविको क्वारेन्टाइनमा अब अन्य ६ जना छन् । उनीहरु नवलपुरबाट हिडेर आएकाहरु हुन् । क्वारेन्टाइनमा खाने बस्ने प्रबन्ध नगरपालिकाले गरेको छ । पहिले नजिकको होटेलबाट प्याकिङ्ग खाना खाजा ल्याउने गरेकोमा नगरपालिका र वडा कार्यालयको समन्वयमा सोही स्कुलमा पकाउने व्यबस्था गरि एकजना भान्सेको व्यबस्था मिलाइएको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभयो । यसअघि बालकल्याण क्वारेन्टाइनमा रहेका ९ जनामा आरडीटी परिक्षण गर्दा रिपोर्टमा नेगेटिभ आएपछि यसैगरी घर पठाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update