X
10
Shares

कोरोना र लकडाउन : शिक्षामा नविनतम प्रविधि प्रयोगको अवसर

रानीमहल संवाददाता || ५ बैशाख २०७७,शुक्रबार १०:२८

गुराँस आत्रेय पाल्पा– कोरोना (कोभिड १९) को सन्त्राश सँगै अहिले हामी लकडाउनमा छौं । हामी मात्रै होईन विश्वको एक सय भन्दा बढी मुलुकमा अहिले लकडाउन छ । यो लकडाउनले हामीलाई भने स्वास्थ, शिक्षा र कृषिको क्षेत्रमा धेरैकुरा सिकाउँदै छ । हुन त हामीले नाकाबन्दी र भुकम्प पनि व्यहोरेकै हो । भुकम्पको बेला अलिकति सामाजिक बन्न सिकियो, नाकाबन्दीको बेला आत्मनिर्भरताको धेरै पाठ सिकियो जसले गर्दा राष्ट्र प्रतिको सम्मान सुरुभयो । पहिले बिरलै प्रयोगहुने राष्ट्रिय झण्डा नाकाबन्दी पछिका सबै कार्यक्रममा राखिन थाल्यो । शिक्षाबिद् पाओलो फ्रेडोले भनेजस्तै शिक्षा जीवनप्रर्यन्त चलिरहन्छ । हाम्रो जीवनमा पनि चलेकै छ ।

अहिले देशमा स्थायी सरकार छ र सरकारले ल्याएको स’खी नेपाली समृद्ध नेपालको नारा आफैमा धेरै राम्रो छ । आर्थिक विकास, सर्वाङ्गिण विकास वा समृद्धीको लागि गरिनु पर्ने मुख्य एक, दुई, तीन काम भनेको शिक्षा, शिक्षा, शिक्षा नै हो चौथोबाट बल्ल अरु कामहरु पर्दछन् तर आज हाम्रो देशको शिक्षा झण्डै झण्डै ठप्प छ । एसइई परिक्षा कहिले हुन्छ निधो छैन, कक्षा १ देखी ९ सम्मको परीक्षा त भएको छ तर नतिजा प्रकाशन गर्ने वातावरण छैन । कक्षा ११ र १२ लगायत कलेजहरुको पनि अध्ययन देखी परीक्षा सम्म सबै स्थगित छ । हुन त अहिले देशनै ठप्प छ । अहिले विश्वमा सबै कम्पनीको शेयर मुल्य घटिरहदा अमेजन जस्ता अनलाईन सपको शेयर मुल्य बृद्धि भइरहेको छ । यसको अर्थ सबै घरभित्र हुँदा पनि व्यापार हुँदो रहेछ भने पछि अहिले अबरुद्ध भएको शिक्षामा यस्तो प्रकृया भएको भए ? केही विद्यालय, रेडियो, टिभी वा सस्थाहरुले अनलाईन क्लास चलाएको र केहीले फेसबुकलाईभबाट नतिजा प्रकाशन गरेको हामी समाचार सुनिरहेका छौ ।

तर हाम्रो शिक्षा नीतिमा यस्तो व्यवस्था छैन । ५० जना विद्यार्थी भएको विद्यालयलाई ५० लाखका भवन बनाउन बजेट छुट्याउन कन्ज’स्याई नगर्ने हाम्रो सरकार विद्यार्थी त के शिक्षकलाई समेत ३० हजारको ल्यापटप दिन सकेनौ । सञ्चारमा यति छिटो विकसित भएको म’ल’क हाम्रै होला तर सञ्चारलाई शिक्षामा जोड्न सकिएन । वार्षिक १२ हजार रुपैया खर्च गर्दा विद्यालयमा वर्षभरि इन्टरनेट चलाउन सकिन्छ । विद्यालय अनुसार प्राथमिक विद्यालयमा ढेडलाख रुपैया देखी माध्यमिक विद्यालयमा ६ लाख रुपैया खर्च गर्ने हो भने सबै शिक्षकलाई ल्यापटप दिन सकिन्छ । शिक्षकलाई एकहप्ताको मात्रै तालिम दिदा विद्यार्थीले घरघरमा बाबाआमा संग रहेका स्मार्टफोनबाट सजिलै पढ्न सक्थे तर यति कुरामा पनि हामी चुक्यौ जसले गर्दा भोलीका देशका कर्णधार विद्यार्थीको शिक्षा अहिले अन्यौलमा परेको छ । सिक्ने विपदबाटै हो । जापानमा अमेरिकाले बम प्रहार नगरेको भए आज जापान यो अवस्थामा आउदैन थियो । नाकाबन्दी नहुँदासम्म हामीले पनि धेरै कुरा बुझेका थिएनौ । अब यो कोरोनाले क्षतविक्षत पारेको शिक्षा क्षेत्रमा केही नीतिगत सुधारका बारेमा सोंचौ ।

लेखक


नेपालमा कम्युनिष्टहरुको सरकार भएकाले समाजबादी शिक्षाको पनि चर्चा छ । माक्सले कम्युनिस्ट पार्टीको पहिलो घोषणा पत्रमा श्रम नगर्नेहरुले उत्पादनका साधनमाथि नियन्त्रण गर्दछन् । श्रमीकलाई बाँच्नपुग्ने मात्रै ज्याला दिन्छन्, मुनाफा सबै आफै राख्छन् जसले गर्दा धनी झन् झन् धनी हुँदै जान्छन् र गरिब झन् गरिब हुँदै जान्छन् भन्ने विचारमा आधारित रहेर बहुप्राविधिक शिक्षाका बारेमा छलफलहरु चलिरहेका छन् । माओले जनताबाट सिक्ने, श्रमिक, मजदुर, किसानहरु सँगसँगै काम गरेर सिक्ने, उनीहरुलाई तत्कालिन पेट पाल्न सक्ने प्रकृतिको शिक्षा दिने, व्यवस्थापनमा उनीहरुलाईनै सहभागी गराउने, धनी र गरिब, शहरिया र गाँउलेको बीचको खाडल शिक्षाद्धारानै पुर्ने जस्ता नीतिलाई जनबादी शिक्षा भनेका छन् ।

नेपालमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गरिएको छ । संबिधानमा समाजबाद लेखिएको छ तर समाजबादमा पुग्नको लागि समाजबादी शिक्षाको बाटोबाट मात्र सकिन्छ भन्ने बिर्सिएको देखिन्छ । नेपालमा दुई खाले शिक्षा छ, सरकारी र नीजि हुनत सरकारीकरण हुँदैमा समाजबादी हुन्छ भन्ने र निजी विद्यालय चल्दैमा समाजबाद मर्छ भन्ने त होइन तर शिक्षामा दलालबाद हाबी भयो भने निजीकरणले फाइदा पुर्याउन सक्दैन । नेपाल सरकारले केहि वषै देखि शिक्षामा छुट्याएको करिब १० प्रतिशत बजेटले शिक्षाको सबै भार थेग्न सक्दैन तर अहिले हिमाल र पहाडमा विद्यार्थी सख्या घट्दै गएका छन् र तराईमा बढ्दै गएका छन् त्यसैले विद्यालयहरु मजै गर्ने र साधनस्रोत सम्पन्न ठुला विद्यालयहरु सञ्चालन गरेर शिक्षाको गुणस्तर बृद्धि र खर्च कटौती गर्न सकिन्छ ।


अहिले देशमा तिन तहका सरकार छन् । देशमा सरकारै सरकार छ । सरकार प्रमुखहरु राजनीतिककर्मी हुन्, जसले जनताको एक एक मत प्राप्त गरी बिजयी भएको र भोली फेरी मतदानबाट अझै माथिल्लो तहमा पुग्ने अभिलासा सहित राम्रो काममा लागिरहनुभएको छ । इच्क्षाशक्ती र प्र्रतिबद्धता राजनीतिकर्मीमा हुनु पर्ने सबैभन्दा ठुलो कुरा हो । कुरा सबैका राम्रा हुन्छन् जसले जे भन्यो त्यतै लाग्दा कार्यकाल बितेको पत्तै हुँदैन । सबैले राम्रा कामहरु गरिरहनु भएको छ तर इक्षाशक्ती र प्र्रतिबद्धता अनुसार काम गर्नको लागि नीति महत्वपूर्ण हुन्छ । हाम्रा सरकारहरुले नीति आफै बनाएका छन् की कपी गरेका छन् भन्ने मुख्य कुरा हो । जसले आफै नीति बनाउदैन र नीति बनाउनेबेलामा मिहिन तरिकाले ध्यान दिदैन वा धरातलीय यथार्थमा पुगेर नीति बनाउदैन त्यो सरकारले जती रातदिन काम गरेपनि उत्कृष्ट नतिजा दिन सक्दैन । नीति कसले बनाउने त्यो पनि हाम्रो लागि ठुलो समस्या छ । स्थायी सरकारको हिसाबले धेरै नीति निमार्णमा कर्मचारीहरुकै हात हुन्छ, कर्मचारी विद्वान पनि हुनुहुन्छ । आरक्षणका छिटपुट बाहेक लोकसेवा पास गरेर निजामती क्षेत्रमा प्रवेश गनर्’ विद्धता बिना सकिदैन ।

कर्मचारी विद्वान हुँदाहुँदै पनि उनीहरुले निर्माण गरेको नीति आफैलाई केन्द्रमा राखेर बनाइएका हुन्छन, जुन यथास्थितीमा रहन सक्छ । अझै कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड हुन्छ जुनियरले राम्रो कुरा ल्याए पनि सिनियरले नरुचाउदा ओझेलमा पर्न सक्छ । आजको समयको माग भनेको वस्तुस्थिति बुझेर परिवर्तनका लागि नीति निर्माण गर्नुपर्ने हाे, तर विडम्वना भन्नु पर्छ हाम्रा नीति निर्माण कर्ता जनप्रतिनिधीहरु विषयवस्तुको उठान, विश्लेषण र निर्णय भन्दा पनि अर्को पटकको निर्वाचनका लागि तयारीमा ध्यान दिने र आफ्नो उत्तरदायित्व तथा कर्तव्यबाट विमुख हुँदा राजनीतिक संयन्त्रलेनै काम गर्न नसक्ने जस्तो भएको छ । संसदमा कुनै त्यस्तो विषयको विशेषज्ञता नभएको खण्डमा स्वतन्त्र विज्ञको नियुक्त गरेर नीति बनाउन’नै उपयुक्त हुन्छ तर समस्याको धरातलमा पुगेर नीति बनाउन सक्नुपर्छ । भनिन्छ साढेलाई हराउन सिङमै समात्नु पर्छ व्यक्ति जतिसुकै बलियो भए पनि साढेको सिङमा समात्न सकेन भने उसले जित्न सक्दैन ।

लिवान् क्युले शिक्षा क्षेत्रमा सुधार गर्दा ३५ प्रतिशत मध्यम खाले शिक्षकलाई एकमुष्ठ अवकाश दिएका थिए जसले आजको शिक्षामा व्यापक सुधार भयो जुन निर्णय उनको विज्ञ समूहको पहलमा गरिएको थियो ।

Students attend the Secondary Education Examinations at a centre in Kathmandu on Thursday, March 16, 2017. Photo: RSS


नीति निमार्णमा प्रौढ संगै प्रविधिको ज्ञानमा दख्खल राख्ने युवालाई पनि सहभागी बनाऔ । लगानी सिक्ने कुरामा गरौं ताकी भौतिक पूर्वाधारमा मात्र नगरौ । बाँसले बारेको समता स्कुलले पनि नेपाल टप विद्यार्थी उत्पादन गरेको घटना हाम्रै देशमा पनि छ । प्रविधिसहितको शिक्षामा बढी ध्यान दिदै । विद्यालय शिक्षामा विपद व्यवस्थापन, उतपादन र नैतिक शिक्षाको अध्यापनमा बिशेष ध्यान दिँउ । प्राविधिक शिक्षामा नैतिक शिक्षाको ठूलो खडेरी छ यसलाई मानवीय तथा सामाजिक व्यवहार संग जोडौ । समता, समानता वा आरक्षणको व्यवस्था राम्रो पढ्ने वातावरण तयार गर्न लागु गरौं । नेपालको संविधान अनुसारनै शिक्षा व्यक्तिको मौलिक अधिकार हो अध्ययन गर्ने मौका सबैमा दिउँ तर शिक्षक, डाक्टर, प्राध्यापक जस्ता पेशामा आरक्षणको खारेजी गरौं । यस्ता विषयमा केही नीतिगत र व्यवहारिक सुधार गर्न सक्यौ भने कोरोनाको पाठले शैक्षिक क्षेत्रमा भविष्य उज्वल बन्न सक्दछ ।

लेखक : नेपाल कम्युनिष्ट पार्टी पाल्पाका प्रचार विभागका संयाेजक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys