Erani Mahal
पाल्पामा शंकास्पद सात जनाकाे स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ, एककाे रिपाेर्ट आउन बाँकी
66

पाल्पा – पाल्पामा हालसम्म ७ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै १ जनाको कोरोना संक्रमण पत्ता लगाउन प्रदेशस्तरीय प्रयोगशालामा बिहीबार मात्रै स्वाब पठाइएको छ । अहिलेसम्म लुम्विनी मेडिकल कलेजबाट ५ जना, पाल्पा अस्पतालबाट १ र मिसन अस्पतालबाट १ जनाको कोरोना परीक्षण गर्न स्वाब परीक्षण गरिएको छ ।

७ जना सबैकाे स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै बगनासकाली बराङ्दीकी एक युवतीको भने बिहीबार मात्रै स्वाब परीक्षण गर्न प्रदेशको प्रयोगशालामा पठाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । विदेशबाट केही दिनअघि फर्किएकी ती युवतीलाई ज्वरो र रुघाखोकी लागेपछि मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो ।


फिभर क्लिनिकमा बिरामी बढ्याबढ्यै
यस्तै पछिल्लो समयमा जिल्लास्थित चार अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा ज्वरोका बिरामीको संख्या बढेको छ । बिहीबार मात्र लुम्विनी मेडिकल कलेज प्रभासमा १०४ जना, रामपुर अस्पतालमा ३५, पाल्पा अस्पतालमा २४ र मिसन अस्पतालमा १ जना ज्वरोका बिरामी जाँचका लागि आएको अस्पतालहरुले जनाएका छन् । पछिल्लो समय फिभर क्लिनिकमा ज्वरो र रुघाखोकी बिरामी निरन्तर बढेको अस्पतालले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update