Erani Mahal
पाल्पाका नाकाबाट अझैँ मानिसहरूकाे निर्वाध आवतजावत !
90214583_674917163314016_5629162533899206656_o

पाल्पा - पाल्पाकाे जिल्ला भित्रिने नाकाबाट आवतजावत रोक्ने भनिएपछि जिल्लाका विभिन्न नाकाबाट आवतजावत गर्ने क्रम रोकिएको छैन । सबैभन्दा धेरै पाल्पा र रुपन्देही नाका जोड्ने दोभान नाकाबाट बिहीबार मात्रै १९९ जना भित्रिएका छन् । तीमध्ये पाल्पाका मात्र १६४ जना रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गकाे राम्दी नाकाबाट ९५, हार्थोकबाट ३०, रिडी, रामपुर, नाकाबाट समेत हरेक दिन सयौँको संख्यामा मानिस ओहोरदोहोर गरिरहेकाे जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयाे । जिल्लामा भित्रिएकाहरूकाे स्वास्थ्य जाँच भने दाेभान, हार्थाेक र राम्दीमा मात्र भएकाे छ । अन्य नाकाबाट भित्रिने खुलेआम हिडेका छन् ।

केही दिनअघि दाेभान नाकामा स्वास्थ्य परीक्षण गरिदैँ ।

यसबाहेक माथागढीकाे नाका, निस्दी, रम्भा, रैनादेवी छहरा, बगनासकालीका नाकाबाट समेत मानिस लुकीछिपी जिल्लाभित्र बाहिर गरिरहेका छन् । भारतसँगकाे खुला सिमा नाकाका कारण रूपन्देही हुँदै पाल्पाकाे तिनाउ, माथागढी, रैनादेवी छहरा, निस्दी गाउँपालिकाभित्रका पुराना नाकाबाट मानिस भित्रिन सक्ने भएकाले जिल्लामा भने त्रास बढेकाे छ ।

स्थानीय तहले भने नाकामा मान्छे राेक्ने र ठाउँका ठाउँ क्वारेन्टाइनमा राख्ने काममा खासै ध्यान दिन सकेका छैनन् । स्थानीय तहले नाकाका कडाई गर्नुपर्ने भएपनि स्थानीय तहको वेवास्ताका कारण सयौँ मानिस निर्वाध रुपमा आवतजावत बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको (कोभिड १९), कोरोना रोकथाम तथा नियन्त्रण सहजीकरण कार्य टोलीको बैठकले हरेक स्थानीय तहको एक वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाउने निर्णय गरेपनि स्थानीय तहले भने समिति र प्रशासनले गरेको निर्देशनलाई समेत अटेर गर्दै आएकाे गुनासाे बढेकाे छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update