Erani Mahal
काेराेनाकाे आशंकामा पाल्पामा हालसम्म ६ जनाकाे स्वाब परीक्षण, सबैकाे रिपाेर्ट 'नेगेटिभ'
tt

पाल्पा – रैनादेवी छहरास्थित सर्देवाको सिजी सिमेन्ट कम्पनीमा काम गर्ने एक भारतीय युवाको स्वाब परीक्षण 'नेगेटिभ' आएको छ । ज्वरो र रुघाखोकी सहितको लक्षण देखिएपछि ती युवालाई लुम्विनी मेडिकल कलेज प्रभासमा आइसोलेसनमा भर्ना गरेर स्वाब परीक्षणका लागि पठाइएको थियो ।


आइसोलेसनमा राखिएका ती युवाको स्वाब परीक्षणका लागि आइतबार भैरहवामा रहेको प्रदेश स्तरीय प्रयोगशालामा नमूना पठाइएको थियो । उक्त नमूना परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट 'नेगेटिभ' आएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणको आशंका गरिएको छैठौँ व्यक्तिको पनि स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


डेढ महिनाअघि भारतबाट सिजी कम्पनीमा कामदारको रुपमा आएका ती युवक केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उपचारका लागि अस्पतालमा आएको अस्पतालका निर्देशक डा. राजु शाक्यले जानकारी दिनुभयो ।


यसअघि लुम्विनी मेडिकल कलेजबाट ३ जना, पाल्पा अस्पतालबाट १ र मिसन अस्पतालबाट १ जनाको स्वाब परीक्षण गरिएको थियो । ती सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update