Erani Mahal
फेसबुक लाइभ गरी दमकडा माविद्वारा वार्षिक परीक्षाफल प्रकाशन
IMG_4958

पाल्पा - दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले वेवसाइट र फेसबुक लाइभबाट वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । कोरोना संक्रमण र लकडाउनको अवस्थालाई मध्येनगर गरी सूचना प्रविधिको प्रयोग गरेर २०७६ सालको वार्षिक परीक्षाफल प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो ।

विद्यालयमा रहेको कम्प्युटर प्रयोगशालालाई डिजिटल स्टुडियोका रुपमा प्रयोग गरेर विद्यालयले परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयमा रहेका कम्युटरमा इन्टरनेट जडान गरी फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको र ७५ भन्दा बढी विद्यार्थी तथा अभिभावकले लाइभ सूचना लिइरहेका थिए । इन्टरनेट पहुँच र फेसबुक लाइभ सम्पर्कमा नहरेका अभिभावकहरुले रेकर्ड हेरी आफ्ना छोराछोरीलाई बधाई ज्ञापन गरिरहेका छन् ।

आधारभूत तह संयोजक जीवन आचार्यले कक्षा नर्सरीदेखि ५ सम्म, शिक्षक धनपति गैरेले आधारभूत तह ६ देखि ८ सम्म र माध्यमिक तह संयोजक इन्द्रराज श्रेष्ठले कक्षा ९ को परीक्षाको नजिता सार्वजनिक गर्नुभएको छ । शिक्षकहरुले पहिला, दोस्रा र तेस्रा हुनेको नामसहित प्राप्तांक र उत्र्तीण हुनेको संख्या सुनाउनुभयो ।

‘दमकडा माध्यमिक विद्यालय नमूना विद्यालय हो, यसका गतिविधि र कार्यक्रम पनि मौलिक र नमूनायोग्य हुनुपर्छ भन्ने सोचेर फेसबुकमार्फत नतिजा सार्वजनिक गरेका हौँ । हामीले नयाँ शैक्षिक शत्र २०७७ को भर्ना पनि खुला गरेका छौँ ।’ विद्यालयका प्रधानाध्यापक सापकोटाले भन्नुभयो ।


डिजिटल युगका शिक्षक र विद्यार्थी रहेको विद्यालयमा कार्यक्रमहरु पनि सिर्जनात्मक र रचनात्मक हुनपर्छ भन्ने मान्यताका आधारमा डिजिटल प्रविधिको प्रयोग गरी नतिजा प्रकाशन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

परीक्षाफल प्रकाशन कार्यक्रममा अध्यक्ष अर्यालले भन्नुभयो, ‘लकडाउनमा पनि विद्यालयको काम गर्ने शिक्षकहरु धन्यवादका पात्र हुनुहुन्छ ।’ कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाको स्वागत, शिक्षक प्रकाश पंगेनीको सहजीकरण र अध्यक्ष अर्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो । स्मरणरहोस्, यस वर्ष पाल्पामा वार्षिक परीक्षाफल प्रकाशन गर्ने दमकडा माध्यमिक विद्यालय पहिलो विद्यालय बनेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update