Erani Mahal
रैनादेवी छहराकाे सिजी कम्पनीमा काम गर्ने भारतीय युवा आइसोलेसनमा भर्ना
lmc

पाल्पा – रैनादेवी छहरास्थित चौधरी ग्रुप (सिजी) कम्पनीमा काम गर्ने एक जना बिरामीलाई कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको छ । पाल्पाको रैनादेवी छहरास्थित सिजी कम्पनीमा काम गर्ने एक जना अन्दाजी ४० वर्षिय भारतीय युवालाई ज्वरो र रुघाखोकी देखिएपछि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा राखिएको हो ।

डेढ महिनाअघि भारतबाट काम गर्न आएको र एक साताअघिदेखि ज्वरो, रुघाखोकी देखिएकाले ती युवालाई आइसोलेसनमा भर्ना गरिएको इरानीमहललाइ अस्पतालका निर्देशक डा. राजु शाक्यले बताउनुभयो । ती युवाको स्वाब परीक्षणका लागि आइतबार नै प्रादेशिक प्रयोगशालामा नमूना पठाइएको उहाँले जानकारी दिनुभयो । योसँगै पाल्पामा ६ जना कोरोना लक्षणसँग मिल्दो लक्षण देखिएका बिरामीको स्वाब परीक्षण भएको छ ।


यसअघि लुम्विनी मेडिकल कलेजबाट ३, पाल्पा अस्पतालबाट १ र मिसन अस्पतालबाट १ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । प्रभासमा भर्ना गरिएका भारतीय युवाकाे भने रिपाेर्ट आउन बाँकी छ ।

ज्वरो र रुघाखोकीका बिरामी बढे
पाल्पा जिल्लामा पछिल्लो समय (फिभर) ज्वराेका बिरामीको संख्या बढेको छ । मौसम परिवर्तनका कारण घाँटी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने लगायतका समस्या भएको बिरामी बढेको लुम्विनी मेडिकल कलेज प्रभासका निर्देशक डा. राजु शाक्यले जानकारी दिनुभयो । मौसम परिवर्तनका कारण फिभर क्लिनिकमा आउने बिरामीको संख्या दिनहुँ बढेको तर उसको ट्राभर हिस्ट्री (विगतको यात्रा)का आधारमा कोरोनाको जाँच भईरहेको उहाँले बताउनुभयो ।


सबै मानिसलाई कोरोना भनेर हुँदैन, उहाँले भन्नुभयाे सामान्य ज्वरो, खोकी लागेका बिरामीलाई त्यस्तो शंका गरेर आतङ्कित हुन नपर्ने उहाँले बताउनुभयाे । लुम्विनी मेडिकल कलेजको फिभर क्लिनिकमा आइतबार मात्रै ९१ जना बिरामीको जाँच तथा उपचार भएको कलेजले जनाएकाे छ ।

यस्तै पाल्पा अस्पतालमा १० र रामपुर अस्पतालमा १४ जना ज्वरोका बिरामी जाँचका लागि आएका थिए । पाल्पाको मिसन अस्पतालले समेत फिभर क्लिनिक संचालन गरेपनि पछिल्लो एक सातायता एक जना पनि ज्वरो र रुघाखोकीका बिरामी चेकजाँचका लागि फिभर क्लिनिकमा गएका छैनन् ।


पाल्पामा ४५ जनाको र्‍यापिड डाइगोनस्टिक टेस्ट
पाल्पा जिल्लामा हालसम्म ४५ जनाको आरडिटी (र्‍यापिड डाइगोनस्टिक टेस्ट)को माध्यमबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । ती सबैजनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार मात्रै ४४ जना र आइतबार (आज) तानसेनको बर्तुङ्को क्वारेन्टाइनमा बसेका गुल्मी जिल्लाका १ जनामने (र्‍यापिड डाइगोनस्टिक टेस्ट गरिएको थियो ।

उक्त टेस्टबाट बर्तुङ्मा क्वारेन्टाइनमा बस्ने युवाको समेत रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । शुक्रबार रैनादेवी छहरामा ११, रिब्दीकोटमा ३, पूर्वखोलामा २१ र रामपुरमा ९ जना गरी ४४ जनाको र्‍यापिड डाइगोनस्टिक टेस्टको माध्यम्बाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update