Erani Mahal
तानसेनमा एक हजार छ सय विपन्न परिवारले राहत सामग्री पाए
ttt

पाल्पा – तानसेन नगरपालिकाले झण्डै १६ सय घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले शुक्रबारसम्म १ हजार ५ सय ९५ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको जनाएको छ । नगरपालिकाभित्रका विपन्न तथा ज्यालामजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

विपन्न र ज्याला मजदुरी गरेर खाने परिवारको चुलो ननिभोस् भनेर राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख शाहीले राहत वितरणबाट १ हजार ५ सय ९५ परिवारका ५ हजार ५ सय ९० परिवारका सदस्य लाभान्वित भएको उल्लेख गर्नुभयो ।


तानसेन नगरभित्रका १४ वटै वडामा विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, कपडा र लुगा धुने साबुन, चिनी वितरण गरिएको हो । नगरपालिकाले परिवार सदस्य संख्याका आधारमा राहत वितरण गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।


यस्तै तानसेन नगरपालिकाले विदेशबाट फर्किएकाको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मीहरु घरमै पुगेर ज्वरो, रुघाखोकी जस्ता लक्षण जाँच गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ड्रिल्लीराज बेल्वासेले जानकारी दिनुभयो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भए/नभएको जाँच गर्न घरघरमै स्वास्थ्यकर्मी पुगेको उहाँले बताउनुभयो । नगरपालिकाले हालसम्म विदेशबाट फर्किएका १५० जनामध्ये १२३ जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।


तानसेन ११ का जनप्रतिनिधि राहत सामान लिई टोलटोलमा
पाल्पाको तानसेन नगरपालिका ११ का जनप्रतिनिधिहरू तथा कर्मचारीहरू लकडाउनका बेला दैनिक ज्यालादारी गर्ने अति विपन्न, एकल महिला तथा अपांगहरूको टोलटोलमा पुगेर राहत वितरण गरेका छन् । वडा नं ११ का करिब १ सय २० घरपरिवारलाई अत्यावश्यक बस्तु चामल, तेल, नुन, दाल लगाएतका अत्यावश्यक बस्तु वितरण गरेको वडा कार्यालयले जनाएको छ ।


तानसेन ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले कोरोनाको प्रकोपको कारण दैनिकजीविको पार्जन गर्न गाह्रो भएका परिवारको मापदण्ड बनाएर राहत वितरण गरेको र यसबाट नागरिकहरूको केही राहत हुने बताउनुभयो ।


वडा कार्यालयले तानसेन नपा ११ को चन्डी भञ्ज्याङ, तिलाहार, बडहरबोट, जुकिया, भालुबनको टोलटोलमा गएर ४ जना भन्दा माथिको परिवारको सदस्य रहेका परिवारलाई ३० किलो चामल ४ जना भन्दा कम भए १५ किलो चामल, ३ किलो दाल, २ किलो चिनि, २ लिटर तेल, ४ वटा साबुन लगायतका अत्यावश्यक सामाग्रीहरू वितरण गरेको वडा सदस्य होम प्रसाद ठडराईले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update