Erani Mahal
काेराेनाकाे कहर : बृद्ध भत्ता पनि आएन, मागेर खाने अवस्था समेत भएन !
IMG_6860

पाल्पा - पाल्पाको बगनासकाली गाउँपालिका–७ झाँक्रीस्थानकी सय वर्षीया वृद्धा गोमता भट्टराई र उहाँका ७० वर्षीय दृष्टिविहीन छोरा बेदराजले शारिरिक अशक्तता कारण दु:ख त भोगिरहनुभएकाे थियाे नै त्यसैमाथि अर्को दु:खको पहाड थपिदिन फैलिइदियो कोरोना भाइरस । माइतीघरमा आमाको निधन हुनुभन्दा पहिले छोरीको विहे गर्नुपर्छ भन्दै गोमातालाई करिब ९ वर्षकै उमेरमा विहे गरिदिए। विहे गरेको भोलिपल्टै उहाँकाे आमाको निधन भयो।

वियोगका बीच विहे गरेर पराइ घर आएपछि गोमताको जीवनमा दु:खका अनेक अध्याय शुरू भए। सानो उमेरमा नै छोराछोरीकी आमा बन्नुभयाे । ती छोराछोरी नहुर्कँदै उहाँको जीवनमा अर्को बज्रपात निम्तियो । श्रीमानको मृत्यु भयो। सहारा दिने श्रीमानको अल्पायूमै निधन भएपछि घरखर्च चलाउन उस्तै धौ-धौ! अब आफू बाँच्न र साना छोराछोरीलाई बचाउन डोको बोकेर माग्‍न हिँड्नु बाहेक अन्य विकल्प रहेन ।

पिठ्यूँमा डोको, त्यहिमाथि एउटा छोरा बोकेर गाउँभरी माग्न हिँड्दा सहयोग गर्नुको साटो उल्टै हेपचेप सहनुभयाे गोमताले। पाल्पासहित स्याङ्जाको विर्घा, मिर्मीसम्म माग्न पुग्नुभयाे । यसरी जीवन गुजारा गर्दै आएकी गोमतालाई फेरी अर्को दुखका दिनले घेर्‍यो। आफूलाई पाल्ने छोराले दुवै आँखाको नजर गुमाउन बाध्य हुनुभयाे । आँखामा सामान्य समस्या भोगेका बेदराजले लामो समयसम्म उपचार पाएनुभएन । अन्तत: दृष्टिविहन नै बन्नु पर्‍यो।

घरमा पैसा नहुँदा आफूले उपचार नपाएको बेदराजको सम्झना गर्नुभयाे । जुनबेला उनी अन्दाजी ७ वर्षकाे हुनुहुन्थ्याे। त्यही समयमा बुबाको समेत निधन भएको थियो।  तीन भाइ छोरामध्ये दुइ भाईले आफ्नै घर व्यवस्था मिलाएर बस्नुभएकाे छ । सानो छँदा मागेर हुर्काइएका दृष्टिविहिन छोराले नै अहिले मागेर आफुलाई पालिरहेको गोमताले बताउनुभयाे । वृद्धा गोमता भित्रऔबाहिरसमेत गर्न सक्नुहुन्न । दृष्टिविहिन छोरा बेदराजले वृद्धा आमालाई हातले छाम्दै भित्र-बाहिर गराउनुहुन्छ। सकि-नसकी आफैंले खाना बनाएर खुवाउनुहुन्छ । ‘एक ठाउँमा राखेका सामग्री यताउता हुन भएन,’ बेदराज भन्नुहुन्छ, ‘जहाँ राखेको हो, त्यहीँ भयो भने खोजेको सामग्री भेटाउँछु, जेनतेन खाना बनाएर आमालाई खुवाउँछु र आफुले खाने गर्छु।’

जंगलमा गएर दाउरा खोज्नेदेखि धारोमा गएर गाग्रीमा पानी बोकेर ल्याउनेसम्मको काम उही द‌ृष्ट्रिविहीन बेदराजले नै गरिरहनुभएकाे । चामल, तरकारी, नुन, तेल सँधै एकै ठाउँमा राख्ने गर्नुहुन्छ । नुन र तेलबाहेक अन्य मर-मसाला, प्याज र लसुन तरकारीमा राखेको अनुभव उहाँको जीवनमा छैन। ‘मीठो बनाएर खान सामग्री किन्ने पैसा नै हुँदैन्, पकाएर खान पनि जानेको छैन्’ उहाँ भन्नुहुन्छ, ‘मीठो खाने रहर त कसलाई हुँदैन् र?’ 

'सरकार हाम्रो भगवान हो' सरकार आफूहरूको लागि भगवान सावित भएको बेदराजले बताउनुभयाे । ‘मान्छेको जुनी पाइयो, तर मान्छेले आनन्द लिने जिन्दगी पाइएन,’ उहाँले भन्नुभयाे ‘सरकारले दिएको भत्ताले खानसम्म पाएका थियाैँ । तर अहिले त्याे अवस्था पनि रहेन’ सरकारले दिएको भत्ताले विहान-बेलुकी दुईछाक खान जेनतेन पुगेको उहाँले बताउनुभयाे । उहाँका अनुसार बिरामी हुँदा उपचार गर्न समस्या पर्छ। लत्ताकपडा समेत किन्न पैसा अभाव छ।

‘जिउमा लगाउने राम्रो कपडा छैन्, न्यानोसँग ओढ्ने ओछ्याउने कपडा समेत छैन,' उहाँले घरभित्र देखाउँदै भन्नुभयाे ‘भात पकाएर खाने भाँडो गतिलो भाँडा पनि छैन।’ आमा भुइँमा एउटा च्यातिएको म्याट्रेस बिछ्याएर सुत्ने गरेको उहाँले बताउनुभयाे । आफू भने नाङ्गनो खाटमा सुत्दै आउनुभएकाे छ । पछिल्लो समयमा भत्ता नपाउँदा आफूहरूलाई खान समस्या भएको बेदराजले बताउनुभयाे । तिहारमा भत्ता बुझेका उहाँले त्यसपछि पाउनुभएकाे छैन ।

विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएपछि सरकारले भत्ता दिन सकिरहेको छैन। समयमा भत्ता नपाउँदा खानेकुरा किन्न नपाएको उहाँले बताउनुभयाे । कतै खानको लागि मागेर हिँड्न समेत नपाएको बेदराजको गुनासो छ ।  गाउँपालिका खुला दिशामुक्त, तर ट्वाइलेट नहुँदा बेदराजलाइ बारीको कान्लामुनि जाने बाध्यता छ ।

बगनाशकाली गाउँपालिकाले भव्य कार्यक्रमकाबीच खुला दिशामुक्त घोषणा भइसकेको धेरै वर्ष भयो। तर बेदराजका आमा-छोराले अहिलेसम्म पनि खुला स्थानमै शौच गर्दै आउनुभएकाे छ। 

अहिले होटल व्यवसायीको सहयोग स्थानीय होटल व्यवसायी बसन्त कुवँर र तानसेनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका लक्ष्मण बस्यालले अशक्त र द‌ृष्ट्रिविहीन भट्टराई आमाछोरालाई तीन महिना पुग्‍ने लागि रासन सहयोग गर्नुभएकाे छ। स्थानीय पसलबाट खरिद गरी तीन महिनाको लागी पुग्ने आवश्यक खाद्य सामग्री उपलब्ध गराएको व्यवसायी बसन्त कुवँरले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update