Erani Mahal
पाल्पा अस्पतालकाे आइसोलेसनमा भर्ना भएका युवा डिस्चार्ज
pALPA hOSPITAL

पाल्पा – कोरोना भाइरस संक्रमणको लक्षण मानिने ज्वरो र रुघाखोकी देखिएपछि पाल्पा अस्पतालको आइसोलेसनमा भर्ना भएका युबक डिस्चार्ज भएका छन् । केही दिनअघि मात्र भारतबाट स्वदेश फर्किएका बगनासकाली पोखराथोकका २२ वर्षिय युवक घरमा फर्किएपछि ज्वरो र रुघाखोकी देखिएको थियो ।


कोरोना भाइरस संक्रमणको आशंकामा युवकको राष्ट्रिय प्रयोगशाला काठमाडौँमा स्वाब परीक्षण गरिएको थियो । तर उक्त स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । ज्वरो र रुघाखोकी लागेका ती युवकको स्वास्थ्य अवस्था सामान्य भएपछि बुधबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।


उता लुम्विनी मेडिकल कलेजमा भर्ना भएका माथागढी झडेवाका एकै घरका दुई जनाको उपचार भईरहेको छ । कोरोनाको आशंकामा भर्ना भएका उनीहरु दुबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुको स्वास्थ्य अवस्था समेत सामान्य बन्दै गएको र अन्य रोगको उपचार भईरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणको स्वाब परीक्षण गरेकी तिनाउ चर्चरेका एक बृद्ध महिलाको समेत लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।


जिल्लाका विभिन्न स्थानमा सामान्य ज्वरो र रुघाखोकीका बिरामी देखिएपछि पाल्पामा हालसम्म कोरोना संक्रमणको कुनै जोखिम नदेखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । उहाँले हालसम्म जिल्लामा विदेशबाट फर्किएका ३८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो ।


यस्तै बुधबार पाल्पाका चार अस्पतालहरुमा सञ्चालित फिभर क्लिनिकमा ८० जनाको ज्वरो, रुघाखोकी जाँच भएको छ । लुम्विनी मेडिकल कलेजमा ४८ जना, मिसन अस्पतालमा शुन्य, पाल्पा अस्पतालमा १३ र रामपुर अस्पतालमा १९ जना बिरामीको ज्वरो र रुघाखोकी चेकजाँच गरेको ती अस्पतालहरुले जनाएका छन् । यस्तै दोभानको चेकपोष्टमा ३८२ जना र हार्थोकको चेकपोष्टमा २९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update