Erani Mahal
विदेशबाट फर्केकाकाे उच्च निगरानी
IMG_7007

पाल्पा – कञ्चनपुर र कैलालीमा कोरोना संक्रमित भेटिएपछि पाल्पामा पनि उच्च निगरानी थालिएको छ । कञ्चनपुरको बनबासा नाका हुँदै पाल्पाको भुवनपोखरीका तीन जना युवा नेपाल आएका थिए ।


यद्यपि यहाँका युवा ती संक्रमित युवासँग सँगै नआएको पुष्टी भएको छ । क्वारेण्टाइनमा बसेका युवाको अवस्थाबारे जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी घरघरमा पुगेर जानकारी लिएका छन् ।


जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका विभिन्न विद्यालयमा निर्माण गरेका क्वारेण्टाइन र होम क्वारेण्टाइनमा बसेका युवाको स्वास्थ्य अवस्था र उनीहरूको बसाइ व्यवस्थाबारे जानकारी लिइएको हो ।


वडा अध्यक्ष लालबहादुर दर्लामीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली क्वारेण्टाइन स्थलमै पुगेको छ । सोहीक्रममा उनीहरूको स्वास्थ्यबारे जानकारी लिएको वडा अध्यक्ष दर्लामीले बताउनुभयो । उहाँका अनुसार क्वारेण्टाइनमा बस्दा उनीहरूलाई आइ परेका समस्याबारे पनि जानकारी लिइएको छ ।


भारत र तेस्रो मुलुकबाट घर आएका युवा अहिले विद्यालयमा निर्माण गरिएको क्वारेण्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका छन् । चारजना युवा जोगवाणी आधारभूत विद्यालय ढुकुरखोलामा निर्माण गरिएको क्वारेण्टाइनमा बसिरहेका छन् । भने अन्य युवा होम क्वारेण्टाइनमा बसिरहेका छन् ।


तालपोखरा, दमारखोला, डाँडागाउँ, अर्धाइ, गोखुङ्गामा होम क्वारेण्टाइनमा बसेका युवाको अवस्थाबारे जानकारी लिइएको हो । यहाँ गएको चैत महिनाको पहिलो सातादेखि १२ गतेभित्रमा १ सय ८० जना युवा आएको वडा अध्यक्ष दर्लामीले बताउनुभयो । ६ जना तेस्रो मुलुकबाट आएका हुन् भने अन्य सबैजना भारतबाट आएका हुन् । उनीहरू सबैजना सुरक्षित तरिकाले क्वारेटाइनमा बसेका छन् । उनीहरूको वडाबाट जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवीकाले उच्च निगरानी गरिरहेको उहाँले बताउनुभयो ।


क्वारेण्टाइनमा बसेका सबै युवाको अवस्था सामान्य रहेको भुवनपोखरी स्वास्थ्यचौकीका प्रमुख रामप्रसाद न्यौपानेले बताउनुभयो । हप्तामा दुइपटक उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आएको उहाँले बताए । पायक पर्ने ठाउँमा सम्बन्धित स्वास्थ्यकर्मीले उनीहरूको नियमित स्वास्थ्य परिक्षण गरिरहेको प्रमुख न्यौपानेले बताउनुभयो । कोरोनाका महामारी फैलिएको अवस्थामा आफुहरूले जोखिम मोलेर बाहिरबाट आएका युवाको स्वास्थ्य अवस्था परिक्षण गरेका उहाँले बताउनुभयो । समयमै सुरक्षा कवज नदिए स्वास्थ्यकर्मीनै कोरोनाको शिकार बन्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।


स्वास्थ्यकर्मी सुरक्षित नहुँदासम्म अन्य सर्वसाधारण सुरक्षित हुन नसक्ने न्यौपानेले बताउनुभयो । कम्तिमा एउटा ज्वरो नाप्नको लागि थर्मल गन र ५ थान पिपिइ सेट आवश्यक परेको उहाँले बताउनुभयो ।


भुवनपोखरीका तीनजना युवा कञ्चनपुरको बनाबासा नाकाबाट नेपाल प्रवेश गरेका थिए । कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित भेटिएपछि पाल्पामा आएका ती युवालाई पनि उच्च निगरानीमा राखिएको थियो । यद्यपि यी युवा ती संक्रमितसँग सँगै नआएको खुलेको छ । उनीहरू घरमा आइपुगेको १५ दिन कटिसकेको छ । उनीहरूलाई २१ दिन क्वारेण्टाइनमा राखिने स्वास्थ्यचौकी प्रमुख न्यौपानेले बताउनुभयो ।


अझैपनि कोरोनाले पार्ने असरबारे जनचेतनाको कमी रहेको स्थानीय तथा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो । कोरोना रोकथामबारे टोलटोलमा सचेतामूलक अभियानलाई तीव्र पार्नुपर्ने उनले बताउनुभयो । जिम्मेवार निकायका केही सिमित व्यक्तिहरूको उपस्थितिमा सचेत गराउन आवश्यक रहेको उहाँले सुझाउनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update