Erani Mahal
प्रदेश सांसद घर्तीमगर स्वास्थ्य चौकीको अवस्था बुझ्न गाउँ–गाउँमा
IMG_6921-1

पाल्पा – प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य तुलराम घर्तीमगर (वसन्त) स्वास्थ्यकर्मीको समस्या बुझ्दै गाउँगाउँमा पुग्नुभएको छ । पाल्पा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (ख) का विभिन्न स्वास्थ्यचौकीमा पुगेर उनले स्वास्थ्यचौकीको अवस्था र स्वास्थ्यकर्मीको समस्याबारे जानकारी लिनुभएको छ ।

घर्तीमगर रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न स्वास्थ्यचौकीमा पुग्नुभएको हो । विश्वमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।


स्थानीयस्तरमा कोरोना भाइरस रोकथामका लागि के कस्तो प्रयासहरू भइरहेका छन् भनेर आफु बुझ्न आएको प्रदेश संसद घर्तीमगरले बताउनुभयो । ‘प्रदेश सरकारले गरेको निर्णय बमोजिम सबै संसदहरू आ–आफ्नो क्षेत्रमा स्वास्थ्य र स्वास्थ्यकर्मीको अवस्थाबारे अनुगमन गर्न भनिएको छ’ उहाँले भन्नुभयो ‘त्यसैले म यहाँको अवस्था बुझ्न आएको छु । जेजस्तो समस्या छ राख्न अनुरोध गर्छु ।


आफूहरूलाई सुरक्षा कवज नहुँदा काम गर्न समस्या परिरहेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘अहिले त जसोतसो काम गरिरहेका छौं’ भैरवस्थान स्वास्थ्यचौकीका प्रमुख तारा श्रेष्ठले भन्नुभयो ‘कोरोना संक्रमित बिरामी आइपुगे भने काम गर्न सकिने अवस्था छैन् ।’ उहाँका अनुसार अहिले स्वास्थ्य चौकीमा सामान्य भाइरल ज्वरो, रुघाखोकीका विरामी आउने गरेका छन् । उनीहरूलाई आफुहरूले दिएको औषधिले निको भएको उहाँले बताउनुभयो ।


खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव दधिराम गैरेले संस्थामा एउटा मात्र पिपिइ सेट रहेको बताउनुभयो । पिपिई सेट लगाउनेले बिरामीको स्वास्थ्य नजिकबाट जाँच्ने गरेको उहाँले बताउनुभयो । केन्द्रका प्रमुख डाक्टर अमृत भट्टराइले मास्क, ग्लोब्स, सेनिटाइजर र पिपिईको समस्या रहेको बताउनुभयो। उहाँका अनुसार यहाँ दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउँछन् ।


पालुङ स्वास्थ्यचौकीकी प्रमुख मायाँ लामटागेले कोरोनाको हल्ला सुरू भएपछि यहाँका स्थानीय निकै त्रसित बनेका थिए । त्यतिबेला आफुहरूलाई पनि डर लागेको बताउनुभयो । सामान्य रुघाखोकी लागेका मानिस कोरोना भयो भन्दै स्वास्थ्य चौकी आउने संख्या बढी रहेको उहाँले सुनाउनुभयो ।

‘क्रमसः सहजीकरण गरेपछि पछिल्लो समयमा सबैले बुझ्न थालेका छन्’ उहाँले भन्नुभयो ‘बाहिरी मुलुकबाट आएका ज्वरोका बिरामीलाई अझैपनि निर्धक्क भएर जाँच्न सक्ने अवस्था छैन् ।’ ज्वरो नाप्ने थर्मोमिटर खोलेर स्वयम् बिरामीलाई दिने र उसैलाई टाढाबाट देखाउन लगाई रिपोर्ट दिने गरेको उहाँले बताउनुभयो । अहिले भने एउटा पिपिई सेट आएकोले बिरामीको परिक्षण गर्न सजिलो भएको उहाँले बताउनुभयो ।


रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य इकाइ प्रमुख जीवन रानाले सबै स्वास्थ्य चौकीमा एक एक थान पिपिई पुगिसकेको बताउनुभयो । यद्यपि यो नै प्रयाप्त नभएको उहाँले बताउनुभयो ।
मस्याम स्वास्थ्य चौकीका प्रमुख गंगा खनालले पछिल्लो समयमा बिरामीको ज्वरो, प्रेसर जाँच्न डर मान्नु परेको बताउनुभयो । सुरक्षा कवज नहुनुले कसैलाई भएको कोरोना आफुहरूलाई पनि सर्ने हो कि भन्ने चिन्तामा स्वास्थ्यकर्मी रहेको उहाँले बताउनुभयो ।


तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले १२ हजार पर्ने १० थान पिपिई सेट खरिद गरी प्रत्येक स्वास्थ्य चौकीमा एक एक सेट वितरण गरेको बताउनुभयो । अझै १० सेट पिपिई खरिद गर्न गाउँ कार्यपालिकाले निर्णय गरेको उहाँले सुनाउनुभयो ।


प्रदेश संसद तुलाराम घर्तीमगर (वसन्त) ले स्वास्थ्यकर्मीको मनोवल बढाउने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । ‘स्थानीय सरकार स्वायत्त छ। जुनसुकै शीर्षकको बजेट व्यवस्थापन गरेर भएपनि सुरक्षा कवज खरिद गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘थप सहयोग आवश्यक परे प्रदेश र संघीय सरकारले सहयोग गर्नेछ ।’

स्वास्थ्यकर्मी सुरक्षित नहुँदासम्म नागरिक सुरक्षित नहुने उहाँले बताउनुभयो । मानिस बाँचे सबै कुरा सम्भव छ । कोरोना भाइरस रोकथामको लागि तीनै तहका सरकारको समन्वय हुनुपर्नेमा संसद घर्मिमगरले जोड दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update