Erani Mahal
रामपुर नगरपालिकाले बिपन्न परिवारलाई राहत बाँड्न सुरु गर्यो
555

पाल्पा - रामपुर नगरपालिकाले टोलटोलमा पुगेर बिपन्न परिवारलाई खाद्यान्न तथा औषधी वितरण शुरु गरेको छ । कोरोना संक्रमणबाट जोगाउन सरकारले लगाएको लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि राहत वितरण गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

वडा-वडाबाट विपद व्यवस्थापन समिति मार्फत आएको तथ्याङ्कको आधारमा नगरपालिकाका १० बटै वडामा राहत बितरण गर्ने नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । पहिलो चरणमा वडागत बिपद् व्यबस्थापनबाट आएको तथ्यांकको आधारमा नगरपालिकाका १ हजार ६६ परिवारलाई राहत वितरण शुरु गरेको थापाले बताउनुभयो ।

नगरपालिकाले रामपुर ८ को आँपचौरमा पुगेर राहत वितरण सुरु गरेको छ। वडा नं. ८ का वडा सदस्य मोहन श्रेष्ठले वडाका १ सय ५१ परिवार मध्ये शनिबार ६० परिवारलाई राहत वितरण गरिएको र अन्यलाई टोल- टोलमा पुगेर नै वितरण गरिने बताउनुभयो। एकैदिन बितरण गर्न ठूलो जमघट हुने भएकाले टोलमा पुगेर बितरण गर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिनुभयो । परिवार संख्याको आधारमा नगरपालिकाले खाद्यान्न बितरण गरेको छ ।

चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरेको हो। जहाँ१ जना मात्रको परिवारलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, १ वटा साबुन, १ केजी चना, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन, २ केजी चना र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, साढे १ लिटर तेल, २ केजी नुन, ३ वटा साबुन, ३ केजी चना वितरण गरेको नगरप्रमुख थापाले जानकारी दिनुभयो । "पहिलो चरणमा जो विपन्न छन् ।

दिनभरीको मजदुरीले साँझ घरमा जस्को चुल्हो बल्छ त्यस्ता परिवारको पहिचान गरी राहत दिन सुरु गरेका हौं" उहाले थप्नुभयो । साथै छुट्न पुगेका परिवारलाई अर्को पटकमा समेट्ने जानकारी दिदै थापाले लकडाउन कहिलेसम्म रहने निश्चित नभएको भन्दै आवश्यकता अनुसार राहतलाई अगाडी बढाउने बताउनुभयो । थापाका अनुसार अहिले पहिलो चरणमा २१ लाख बढीको राहत वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

नगरपालिकाले कार्यविधि तयार गरी नगरले जनप्रतिनिधि, प्रशासन र प्रहरीको रहोबरमा राहत वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो । पहिलो चरणमा १ हजार ६६ परिवारका ४ हजार १ सय ३८ जना सम्म राहत पुर्‍याईनेछ ।आचार्यले खाद्यान्न संगै चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार सामान्य ज्वरोको औषधी तथा जिवनजल समेत वितरण गरिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगर भित्र एकद्वार पद्धतिको अवलम्बन गरिएको बताउनुभयो। राहत वितरण गर्न इच्छुक संघ संस्थाहरुले नगर संगको समन्वयमा वितरण गर्न सकिने उहाको भनाई छ ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update