Erani Mahal
रिब्दीकाेटमा विपन्नलाई खाद्यान्न वितरण, बैंकद्वारा खाद्य सामग्री सहयाेग
222

पाल्पा – रिब्दीकोट गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न वितरण गरेको छ । दैनिक ज्यालामजदुरीमा काम गरेर जीविको चालाउने गाउँपालिकाभित्रका २०८ जना परिवारलाई गाउँपालिकाले दाल, चामल, नुन, तेल वितरण गरेको हो । सरकारले विपन्न तथा ज्यालामजुरीमा काम गर्ने नागरिेककाे जीवनयापनमा अफ्टेराे नहाेस् भनेर राहत वितरण गर्ने घाेषणा अनुसार रिब्दीकाेटमा तथ्यांक संकलन पछि राहत वितरण गरिएकाे हाे ।


ज्यालामजदुरीमा जीविकोपार्जन गरेका परिवारलाई लकडाउनमा साँझबिहान खान समस्या नहोस् भनेर खाद्यान्न वितरण गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । वडाको सिफारिस समितिले सिफारिस गरेपछि राहत समन्वय समितिले राहत वितरण गरेको हो ।


ज्यालामजदुरी गरेका पिरवारकाे पहिचानपछि प्रतिघरपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन विपन्न परिवारलाई वितरण गरिएको हो । राहत वितरण कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं. ३ बाट सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रम सबै वडामा हुने उहाँले जानकारी दिनुभयाे ।


शनिबार वडा नं. ३ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको वडा अध्यक्ष एवं प्रवक्ता विष्णु प्रसाद खनालले जानकारी दिनुभयो । दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरेका परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरणले लकडाउनले कष्टकर बनेकाे उनीहरूकाे दैनिक जीवन सहज हुने उहाँले विस्वास गर्नुभयाे । काेराेना भाइरसकाे संक्रमण विशवभर फैलिएपछि नेपालमा पनि उक्त महामारी नहाेस् भनेर सरकारले गत चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेकाे थियाे ।


५० हजारको खाद्यान्न सहयोग
यस्तै एनआइसी एसिया बैँक पाल्पा शाखाले रिब्दीकोट गाउँपालिकाभित्रका विपन्न नागरिकलाई राहत पुग्ने गरी ५० हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकका पाल्पा शाखा प्रबन्धक हरिकृष्ण शर्माले गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलको उपस्थितिमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । शर्माले काेभिड १९ काेराेना भाइरस नियन्त्रण गर्न गरिएकाे लकडाउनबाट प्रभावित नागरिकलाइ खाद्यान्न सहयाेग गर्न अनुराेध गर्नुभयाे ।

विपद र संकटका बेला बैँकले विपन्न नागरिकका लागि प्रदान गरेको खाद्यान्न सहयोग गर्नु ठूलो मानवीय कार्य भएको गाउँपालिकाका अध्यक्ष जिसीले बताउनुभयो ।

तस्विरहरू : रिब्दीकाेट गाउँपालिकाकाे समाजिक संजाल, फेसबुकबाट ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update