Erani Mahal
तानसेनका जनप्रतिनिधिले बैठक भत्ता 'काेराेना भाइरस जाेखिम काेष'मा दिने
Tansen-nagarpalika

पाल्पा – तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूले पाउने बैठकभत्ता कोरोना भाइरस नियन्त्रण तथा जोखिम कोषमा राख्ने भएका छन् । तानसेनका जनप्रतिनिधिले पाँच वटा बैठकको भत्ता उक्त कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।


पाँच वटा बैठकको भत्ता तीन लाख छ हजार रुपियाँ कोरोना भाइरस जोखिम कोषमा जम्मा गर्ने निर्णय भएको तानसेन नगरपालिकका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । सङ्कटका बेला कोरोना भाइरस नियन्त्रण गर्न र जोखिम न्युनीकरण गर्न सहयोग होस् भनेर जनप्रतिनिधिले बैठक भत्ता दिने निर्णय गरेको उहाँले बताउनुभयो ।


यस्तै नगरपालिकाको बैठकले दुई करोडको बुद्ध परियोजनाबाट कोषमा २५ लाख रुपियाँ रकमान्तर गर्ने निर्णय गरेको छ । बैठकले कुनै व्यक्ति वा सङ्घसंस्थाले सहयोग गर्न इच्छुकलाई कोषको खातामा रकम सहयोग गर्न आह्वान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो ।


लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग असहाय व्यक्तिलाई राहत प्रदान गर्न इच्छुक व्यक्ति, सङ्घ संस्थालाई एकद्वार प्रणालीबाट आउन अनुरोध गरेको छ । राहत दिन चाहने व्यक्तिले नगरपालिकामा राहत सङ्कलन गर्ने र सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र वितरण गर्ने व्यवस्था मिलाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले उल्लेख गर्नुभयाे । नगरपालिकाले अहिले विदेशबाट फर्किएकाहरूकाे स्वास्थ्य परीक्षण गरिरहेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update