Erani Mahal
रिब्दीकाेटले मापदण्ड तयार गरेर विपन्न परिवारलाई राहत दिने
Ribdikot

पाल्पा – रिब्दीकोट गाउँ कार्यपालिकाको बैठकले मापदण्ड तयार गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न परिवारलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाको मंगलबार बसेको बैठकले दैनिक ज्यालादारीमा काम गरेर जीवन निर्वाह गर्ने अति विपन्न परिवारको पहिचान गरेर वडा तथा राहत सिरफारिस समन्वय समितिको रिफारिसका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।


राहत पाउने व्यक्ति भूमिहीन, अशक्त र असाह्य हुनुपर्ने, राज्यबाट कुनै प्रकारको सामाजिक सुरक्षा भत्ता नपाएको हुनुपर्ने गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाले वडा र पालिका स्तरीय समितिको रिफारिसका आधारमा २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत सामग्री दिने निर्णय गरेको छ । यस्तै राहत वितरण प्रणाली एकद्वारा प्रणालीका आधारमा गर्ने र कसैले राहत सहयोग गर्न चाहेमा गाउँपालिकाको स्वीकृतिमा सहयोग गर्न सक्ने निर्णय गरेको छ ।


गाउँपालिकाको बैठकले हरेक पसल अगाडि हात धुने व्यवस्था गर्ने र १ मीटरको दुरी कायम गरेर मात्र किनमेल गर्न व्यवस्था मिलाउने, भारत लगायत विदेशबाट आएका मानिसको निगरानी राखी, होम क्वारेन्टाइनमा बस्न लगाउने र शंकास्पद व्यक्तिलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्न लगाउने निर्णय पनि गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलका अनुसार कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन गर्ने, लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लगाउने निर्णय गरेको छ । यस्तै कोरोना भाइरस रोकथाममा खट्ने स्वास्थ्य क्षेत्रका कर्मचारीलाई तलब स्केलको २० प्रतिशत भत्ता प्रदान गर्ने, गाउँपालिकाको कोरोना रोग नियन्त्रण तथा रोकथाम राहतका लागि विपद व्यवस्थापन कोषमा १५ लाख थप गर्ने र अन्य कुनै सहयोगी संस्था भए सहयोगका लागि बैठकले आह्वान समेत गरेको छ ।


गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बैठकले समसामयिक विषयमा केन्द्रित भएर ११ वटा निर्णयहरु गरेको जानकारी दिनुभयो । बैठकले राहत उपलब्ध गराउन र लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्षको नेतृत्वमा पालिका स्तरीय समन्वय समिति र सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय राहत रिफारिस तथा समन्वय समिति गठन गरेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update