Erani Mahal
पाल्पामा ७ सय ३२ जनाकाे स्वास्थ्य परीक्षण
4

पाल्पा – जिल्लाको विभिन्न स्थानमा मंगलबार ७३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दोभानको नाकामा ६७० जनाको ज्वरो, रुघाखोकी भए/नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा २७ जनाकाे स्वास्थ्य परीक्षण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनेका लागि दोभान नाकामा तिनाउ गाउँपालिकाले प्रहरी चौकी र सेनासँगको सहकार्यमा भारतलगायतका मुलुकबाट जिल्लामा भित्रिने मानिसको स्वास्थ्य जाँच गरिरहेको छ । यस्तै रिब्दीकोट गाउँपालिकाको खस्यौली स्वास्थ्य चौकीमा विदेशबाट आएका मानिसले ज्वरो, रुघाखोकीको परीक्षण गरिएको हो ।


यस्तै तानसेनस्थित पाल्पा अस्पतालमा दुई जना, रामपुर अस्पतालमा १५, मिसन अस्पतालमा १ जना र लुम्विनी मेडिकल कलेज प्रभासमा १९ जनाको ज्वरो र रुघाखोकीको जाँच भएको छ । जाँचका क्रममा कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्ने कुनै पनि बिरामी फेला नपरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।

पाल्पा अस्पताल, मिसन अस्पताल, रामपुर अस्पताल र लुम्विनी मेडिकल कलेजले ज्वरो, रुघाखोकी लगायतका बिरामीका लागि छुट्टै फिभर क्लिनिक सञ्चालनमा ल्याएर जाँच गरिरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाभर स्थापना गरिएको ३४६ वेड क्षमताको क्वारेन्टाइनमा ४१ जनामात्र रहेको उहाँले बताउनुभयो ।

पाल्पा जिल्लामा हालसम्म १२३१ जना विदेशबाट फर्किएका छन् । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत लगायतका मुलुकबाट पाल्पा जिल्लामा फर्किने मानिसको संख्या दिनहुँ बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । पाल्पामा भारतबाट मात्रै १०८६ पाल्पाका विभिन्न स्थानमा फर्किएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update