X
10
Shares

संघीय संरचनामा पाल्पाको विकासका संभावनाहरू

दामाेदर रेग्मी || १७ चैत्र २०७६,सोमबार १२:३३

संघीय संरचनामा पाल्पा : देश संघीय संरचनामा रुपान्तरण भएपछि पाल्पा प्रदेश नं ५ मा रहेको यस जिल्लामा कूल १० वटा स्थानीय तहहरु रहेका छन् जसमा ८ वटा गाँउपालिका र २ वटा नगरपालिका रहेका छन् । नगरपालिकामातानसेन नगरपालिकारामपुर नगरपालिकाहरु र माथागढि गाउँपालिका, रम्भागाउँपालिका, पूर्वखोला गाँउपालिका,रैनादेवी छहरा गाँउपालिका , तिनाउ गाउँपालिका, बगनासकाली गाँउपालिका। निस्दी गाउँपालिका र रिब्दीकोट गाउँपालिका रहेका छन् ।संघीय प्रतिनिधि सभामा यस जिल्लावाट दुइ जना र प्रदेश समाभा ४ जना सांसदको प्रतिनिधित्व रहेको छ । १० स्थानीय तह यस जिल्लाको विकास निर्माण समृध्दि र जनताका नजीकमा रहेका आशा भरोसाका संवाहक हुन् ।विकासका प्रेरक मार्गचित्रको रुपमा पाल्पाका स्थानीय तहले विभिन्न नाराहरु तय गरेका छन् :-

– तानसेनको गौरव, शिक्षा स्वास्थ्य पर्यटन , कला र पौरख
– स्वच्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर
– शिक्षा स्वास्थ्य र रोजगार पर्यटन सहितको पूर्वाधार, प्रकृति र मगर संस्कृति निस्दिको आधार
– शिक्षा स्वास्थ्य सडक कृषि पर्यटन सहितको पूर्वाधारः पूर्वखोलाको विकासको आधार
– रम्भा गाउँपालिकाको शानः सुखी रम्भावासी समृध्द रम्भा हाम्रो अभियान
– माथागढी गाउ्रँपालिकाको शानः सुखी रम्भावासी समृध्द रम्भा हाम्रो अभियान
– सुन्दर शान्त समृद्द सभ्य बगनासकाली गाउँको सार,आर्थिक सामाजिक पर्यटन र पुर्वाधार विकासको दिगो आधार
– गुणस्तरीय आर्थिक ,सामाजिक ,भौतिक पूर्वाधार विकासको माध्यमबाट समृद्ध रिब्दीकोट
– उज्यालो रैनादेवी, समृद रैनादेवी, धार्मिक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी

पाल्पाका स्थानीय तहका नमुना कामहरु

तानसेन नगरपालिका भित्रै स्वास्थ्य विमा गर्न चाहिने बार्षिक २ हजार ५ सय रुपैयाँ बुझाउन नसक्ने परिवार धेरै छन् । बिमा गर्ने पैसा नभएर वीमा सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था घटाउन नगरपालिकाले अल्पसंख्यक तथा दलित समुदायलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने अभियान चलायो । आर्थिक वर्ष २०७४।०७५ मा १४ वडाका ९ सय ५३ परिवारको बिमाको प्रिमियम नगरपालिकाले बेहोर्यो । यसरी बिमा गरिएपछि बिमित परिवारले ५० हजारसम्मको उपचार खर्च बिमाबाट लिँदै आएका छन् ।
रामपुर नगरपालिकाले फुसरहित घर अभियानलाई प्राथमिकता दिएर अगाडि बढाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४ । ०७५ मा बिनियोजित ५० लाख रुपैयाँ बजेटबाट नगरपालिका भित्रका १ सय ४८ घर छाउन जस्ता पाता दियो ।
ड्ड बगनासकाली गाउँपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई आयआर्जनका कार्यक्रमका लागि ऋण दिने अवधारणा ल्यायो । यो अभ्यास जिल्लामै पहिलो हो । बिए पास गरेकाहरुलाई उनीहरुको माग र व्यवसाय योजनाको आधारमा १ लाख देखि ४ लाख रुपैयासम्म ऋण दिने व्यवस्था गरेको छ । ऋण लगेको २ वर्षभित्र युवाले राम्रो सफलता पाएमा सावा रकमको पनि ९५ प्रतिशत मात्रै फिर्ता गरे हुने व्यवस्था रहेको छ ।
रम्भा गाउँपालिकामा हरेक वडामा ल्याबको व्यवस्थित स्वास्थ्य सेवाका लागि आर्थिक वर्ष २०७४ ।०७५ मा पिपलडाँडा र हुँगीमा निःशुल्क ल्याब सेवा सुरु भयो । यसका लागि कर्मचारी र उपकरण सबै गाउँपालिकाले नै बन्दोबस्त गरेको छ । फोक्सिंगकोट र हुमिनमा पनि चालु वर्षभित्रै ल्याब सेवा सुरु गरिने योजना रहेको छ। अहिले रम्भाका हरेक वडामा बर्थिङ सेन्टर समेत छन् ।
रिब्दीकोट गाउँपालिकाले एकल महिलाहरुको उद्यमशिलता बढाउन १ महिना अघि एकल महिला सञ्जाल बनायो । यो जिल्लामै पहिलो प्रयास हो । एकल महिलाहरु आर्थिक सामाजिक रुपमा पछाडि पारिने गरेकोले उनीहरुको आर्थिक प्रवर्धन गर्न गाउँपालिका लागिपरेको छ ।
पूर्वखोला गाउँपालिकामा ८० वर्ष माथिका जेष्ठ नागरिकका घर घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने र आवश्यकता अनुसार औषधी समेत दिने जिल्लामै नौलो प्रयास शुरु भएको छ
तिनाउँ गाउँपालिकामा गाउँपालिका अन्र्तगतको सिद्धबाबा सडकको अवस्थालाइ सहज वनाउन झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म बाटो खोल्ने काम आर्थिक वर्ष २०७४ ।०७५ मा सम्पन्न भयो । पाल्पाको झुम्सादेखि रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुँदै चरङ्गेसम्मको २१ किलोमिटर सडकलाई विकल्पका रुपमा अगाडि बढाइएकोछ ।
माथागढी गाउँपालिकाले विकास योजनामा सरकारी बजेटमा स्थानीयको सहभागिताको राम्रो उदाहरण दियो । वडा नं। ३ कसेनी सराईबाट एक्लेबर जोड्ने मोटरबाटोको १ किलोमिटर खण्ड निकै अप्ठेरो रहेकोले यो बाटो पिच गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७४।०७५ बाट ५० लाख रुपैया बिनियोजन गर्यो । समुदायले घर घरबाट २२ लाख रुपैयाँ थपे । त्यसमाथि १० प्रतिशत काममा स्थानीयले श्रमदान समेत गरे र बाटो पिच भयो । यस कामले दुर्गम क्षेत्रका झण्डै ३ हजार मानिसले लाभ पाए ।
निस्दी गाउँपालिका अन्र्तगत मित्यालको रुक्सेभन्ज्याङ डाँडामा हावाबाट बिजुली निकालिएको विषयले राष्ट्रिय स्तरमै चर्चा पायो । आर्थिक वर्ष २०७४ ।०७५ मा यहाँ परीक्षणको रुपमा सुरु गरिएको योजना सफल भयो । यसबाट १२ सय वाट बिजुली निस्केको छ । दिउँसो यो बिजुली गाउँपालिका कार्यालय र वडा नं। ४ को वडा कार्यालयमा उपयोग गरिएको छ । यसबाट बत्ती बाल्न र कम्प्युटर चलाउन पुगेको छ । राति मित्याल बजारमा सडकमा बत्ती बाल्न प्रयोग गरिएको छ । यसका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्र नेपालले खर्च बेहोरेको थियो भने यस कामको समन्वय गाउँपालिका कार्यालयले गरेको थियो ।

रैनादेवी छहरा गाउँपालिकाले गाउँपालिका सहित वडा कार्यालय, स्वास्थ्य चौकी र गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयमा बिद्युतीय हाजिरीको व्यवस्था गर्यो । सरकारी कर्मचारी समयमा कार्यालय समयमा आउँदैनन् भन्ने गुनासो आएपछि त्यस्तो चलन हटाउन बिद्युतीय हाजिरीको अभियान चलाइएको थियो ।
स्थानीय तहका केही नयां संभावनाहरु

मित्यालमा सुर्यमुखी खेती : निस्दी गाउँपालिका वार्ड नम्बर ४, मित्यालमा सुर्यमुखीको खेतीले गाउँलाई सुन्दर बनाएको छ ।मित्यालको मुढाबासका कृषकहरुले लगाएको सुर्यमुखी खेतीले यतिबेला सबैको ध्यान तानेको छ । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र स्थानीय कृषकहरुको सहभागितामा मुढाबास सुर्यमुखी पकेट कार्यक्रम अन्तर्गत खेती गरेको हो । सँधै मकै लगाउने खेतमा यस वर्ष मुढाबासका ४५ घरधुरी कृषकहरुले १ सय ७२ रोपनी खेतमा सुर्यमुखी खेती लगाएका छन् । हाइब्रीड जातको सुर्यमुखी लगाएर मकैको उत्पादनले भन्दा बढी आम्दानी हुने आशा यहाँका कृषकहरुको रहेको छ ।


झिरुवासको काउलेडाँडा पर्यटकीय चिया बगानको स्वरुपमा
वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ । पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यहाँ दिनहुँ सयौँको संख्यामा घुम्न आउने, अवलोकन भ्रमणमा रमाउन आउनेको जमात बढ्दो छ । प्रयोगविहीन अवस्थामा रहेको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीका कारण अहिले यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्दा यहाँका स्थानीयवासी खुशी छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक काउलेडाँडा वनको अवलोकन गर्दै इलामको चिया बगानको अनुभूति गरेर फर्कने गरेको पाइन्छ । यहाँ लगाइएको अम्रिसो खेतीबाट यस क्षेत्रका स्थानीयको जीवनस्तर उकासिँदै गएको छ । झिरुवासको काउले वनमा शुरु गरिएको अम्रिसो खेती अहिले मित्याल, सहलकोटमा पनि विस्तार भएको छ ।
निस्दीको अर्चले कागतीको पकेट क्षेत्र बन्ने

निस्दी गाउँपालिका ६, अर्चलेलाई कागतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ सालको लागि योजना तथा कार्यक्रम प्राथमिकता निर्धारणमा कागतीको उर्वर भूमि भएकोले त्यसलाई विस्तार गर्दै आय आर्जन र व्यवसायिक बनाउने योजना रहेको छ ।अर्चलेमा साना ठूला गरी ४३ वटा योजनाको लागि १ करोड ४३ लाख ५३ हजार बराबरको काम भइरहेको छ ।

चार स्थान नमूना कृषि गाउँ
पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो ।
नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको गाउँमा तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँट रहका छन् । नमूना कृषि गाउँ बन्नेभएपछि त्यहाँका किसान उत्साहित बनेका छन् । स्मार्ट कृषि गाउँ कार्यक्रमले निर्वाहमुखी किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने छ । यस कार्यक्रमले किसानलाई नयाँ प्राविधिक ज्ञान र सीपसँगै आयआर्जनमा ठूलो टेवा पुग्नेछ ।
विमानस्थल सम्भाव्यता स्थल अध्ययन
तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका जनप्रनिधि विमानस्थल निर्माणको लागि सम्भाव्यतास्थलको अध्ययनमा जुटेका छन् । गनासकाली गाउँपालिकाको बराङ्दी र नायरमा विमानस्थलका लागि सम्भाव्यता स्थलको अध्ययन सुरु भएको छ । पाल्पामा विमानस्थलको आवश्यकता महसुस गरी सम्भावित क्षेत्रको अध्ययन सुरु गरिएको हो ।
दोभानमा पर्यटक केन्द्रित नयाँ होमस्टे
तिनाउ गाउँपालिकाको दोभानमा नयाँ होमस्टे शुरु भएको छ । तिनाउ गाउँपालिका वडा नं। २ तिनाउ गाउँपालिकामा चारवटा होमस्टे संचालनमा आएका छन् ।
दोभानको झ्याङ्ला यसअघि नै प्रदेश ५ सरकारबाट स्मार्ट कृषि गाउँ घोषणा भइसकेको गाउँ हो । स्मार्ट गाउँलाई थप स्मार्ट बनाउन होमस्टे संचालन गरिएको हो । तिनाउ गाउँपालिकामा यसअघि सुकेताल, सत्यवती र जन्तीलुङमा होमस्टे संचालन भईसकेका छन् ।

सिध्दार्थ आर्थिक करिडोरः विकासको नयां संभावना
सिद्धार्थ राजमार्गले छोएका ५ नं। प्रदेश र गण्डकी प्रदेशका १६ स्थानीय तहहरुको तानसेनमा भएको भेलाले सिध्दार्थ आर्थिक करिडोरलाइ विकासको नयां संभावनाको रुपमा अगाडी वढाएका छन् । स्थानीय तहहरु बीच आर्थिक विषयमा व्यापक छलफल हुने गरी सिध्दार्थ राजमार्गसँग जोडिएका रुपन्देही, पाल्पा, स्याङ्जा र कास्कीका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका यस अवधारणामा समाहित छन् ।जसमा रुपन्देहीको सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, वुटवल उपमहानगरपालिका, पाल्पाको तिनाउ गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिका वालिङ नगरपालिका पुतलीबजार नगरपालिका र पोखरा महानगरपालिकाको सहभागिता रहेको छ।
सिध्दार्थ आर्थिक करिडोरको विकासका लागि १० बुँदे घोषणापत्रले करिडोरमा रहेका स्थानीय सरकारहरुले साँचो समन्वय र सहकार्यमा प्रतिफलको बाडफाँड पारदर्शीरुपमा स्थानीय नागरिकसम्म पुर्याउने निम्न लक्ष्य लिएको छ।
– सिद्धार्थ लोकमार्ग स्तरोन्नतिको अतिरिक्त राम्दीको पुल नयाँ निमार्ण वा पुनर्निर्माण साथै सडक फराकिलो बनाउने
– सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास मार्फत् समृद्धिका लागि अवसरहरु पहिचान गरी व्दिपक्षीय तथा वहुपक्षीय सम्वादलाइ विकसित गर्ने
– साझा सवालमा समन्वय र सहकार्यलाई जोड दिने,
– स्थानीय अवसरहरुको पहिचान,उपयोग र त्यसको व्यवसायीकरण तथा दीगोपनाको लागि समन्वय समितिको निर्माण, विज्ञ समूह तथा सचिवालयको गठन गरी सञ्जालका निर्णय कार्यान्वयनमा लैजाने ।
– विकास साझेदारहरुसँग स्थानीय, प्रदेश र संघीय सरकारको विकास अवधारणाको मर्म आत्मसात गर्दै यस क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारी तथा वहुआयामिक ढंगले समन्वय र सहकार्यमा जोड दिने
– यस क्षेत्रको विकासका लागि अन्तरपालिकास्तरमा कृषि, पशु, पर्यटन एवम् स्थानीय साधन, स्रोत र कच्चापदार्थमा आधारित तथा घरेलु उद्योगहरुको सम्भाव्यता खोजी र उद्योग सञ्चालन, विकास योजनाहरुको छनौट, परियोजनाको बिस्तृत योजना तयार लगायतका साझा हितका सवालमा सरोकारवाला निकाय, पक्षसँग समन्वय, सहकार्य गरी यसक्षेत्रको समग्र पूर्वाधार विकासको योजनामा एकरुपता ल्याउने ।
– यस क्षेत्रको सन्तुलित तथा दीगो विकासका लागि तथा युवा स्वरोजगार सिर्जनाका लागि निजी क्षेत्रलाई विकासका सवालमा साझेदार बनाउन आवश्यक नीति निर्माण गर्ने, दिगो विकास लक्ष प्राप्तिको लागि समावेशी तथा दीगो आर्थिक विकासलाई सहयोग पुग्ने गरी रोजगारीको सिर्जना साथै युवाहरुलाई उत्पादनशील रोजगारी तथा सम्मानका काम गर्ने अवसरहरुको सिर्जना गर्न प्रतिवध्द रहने ।

पाल्पाको विकासको लागि स्थानीय तहका अन्य एजेण्डा
– लुम्विनी र गण्डकी अंचलको सीमा नदीको रुपमा रहेको कालीगण्डकी नदी धार्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण रहेको छ । सत्यवती ताल, सीता कुण्ड, तालपोखरा र प्रभासताल यस जिल्लाका मुख्य ताल तथा कुण्डहरु हुन् । यसमध्ये सत्यवती ताल धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका छन् । यी क्षेत्रको विकास स्थानीय तहको प्रमुख एजेण्डा बन्नु आवश्यक छ ।
– पर्यकीय क्षेत्रका दृष्टिले पाल्पा आफैमा चीर परिचित पर्यटकीय गन्तव्य हो । तानसेनमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ यस डाँडाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत नेपालका सवैजसो हिमश्रृंखलाहरुको सजिलै संग दृश्यावलोकन गर्न सकिन्छ । यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिवासन बराङ्दी जस्ता धेरै पर्यटकीय तथा धार्मिक स्थलहरू रहेका छन्। खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको रानीमहल केही दशक यता नेपालको ताजमहलको नामले सुपरिचित छ र आन्तरिक तथा बाह्य पर्यटक को प्रमुख आकर्षको केन्द्र समेत बनेको छ । यसका अतिरिक्त चितवन, देवघाट, पोखरा, लुम्विनी , स्वर्गव्दारी, ढोरपाटन,अर्घाखांचीको सुपा देउरालीको वीचमा रहेर यी पर्यटकीय तथा धार्मिक स्थानवाट समेत निकटतम दूरीमा रहनुले यस जिल्लाको पर्यटकीय संजालमा आबध्द हुने संभावना अझै बढेको छ । जिल्लाका विविध सांस्कृतिक आयाममा पाल्पा जिल्ला समृध्द छ । अन्य स्थानका प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सवैजसो भूभाग पहाडी धरातलमा पर्ने भएकोकारणले सिर्जित चुनौतीहरुलाई प्याराग्लाइडिंग, केवलकार, ट्रेकिंग रुटको रुपमा परिणत गर्ने दीर्घकालीन योजनाव्दारा सम्बोधन गर्न सकिने स्थिति छ ।
– आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको हुनाले मगर संस्कृतिको केन्द्र बन्न सक्ने हैसियत पाल्पा जिल्लाले बोकेको छ । मगर संस्कृतिको थप विकास विस्तार गरि व्यवसायिकता प्रदान गर्न सकिने प्रशस्त संभावनाहरु छन् । मगर सांस्कृतिक संग्राहलयको स्थापना गरेर मगर संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटकीय संभावनाको वृध्दि गर्न सकिने प्रशस्त संभावना विद्यमान रहेको छ ।
– पाल्पाको तानसेनमा वि। स। १९८३ मा पुस्तक पढ्ने दलान नामबाट शुरू भएको धवल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो । जहानिया राणा शासनका बेला जनजेतनाको विगुल फुक्न अग्रणी मानिएको धवल पुस्तकालयको यो ऐतिहासिकतालाई जीवन्तता प्रदान गरिरहन यसको संभार र विकास गर्ने तथा प्रादेशिक ऐतिहासिक पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिनु आवश्यक छ ।
– सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ । यी क्षेत्रहरुलाई धार्मिक पर्यटक क्षेत्रको रुपमा विकास गरेर यसको अग्र र पृष्ठ सम्बन्धलाई अन्य आर्थिक आयामसंग आबध्द गर्न सकिने संभावना पाल्पा जिल्लाले बोकेको छ ।
– पाल्पाली ढाका नेपाल भरकै उत्कृष्ट मानिन्छ साथै पाल्पाली करुवा प्रतिको आकर्षण देश भरिनै रहेको छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन् । पाल्पाली ढाका र करुवाको देश भित्र र बाहिर रहेको प्रसिध्दिलाई व्यवसायिक अवसरमा रुपान्तरण गर्न सक्ने संभावनाहरु छन् ।
– सिद्धार्थ राजमार्गले यस जिल्लाको सम्बन्धलाई रुपन्देही जिल्ला हुदै भारत संगको सीमाना संग जोडिदिएको छ भने पोखरा, पर्वत, म्याग्दी , मुस्तांग हुदै चाीन संगको सीमा संग पाल्पा जिल्लाको पहुंच कायम हुन पुगेको छ। उत्तर दक्षिण फैलिएको भूपी शेरचन मार्ग र सिध्दार्थ राजमार्गको यो अवसरको उपयोग वाट पाल्पाका उत्पादनहरुलाई निर्यात गर्न सक्ने मार्गको रुपमा समेत उपयोग गर्न सकिने मात्र होइनकि स्थलमार्गका पर्यटकहरुआई आकर्षित समेत गर्न सकिन्छ ।
– सवैजसो भूभाग पहाडी धरातलमा पर्ने भएकोले कृषिका दृष्टिले उर्वर भूमिको अपर्याप्ता भएतापनि माडी अर्गली र रामपुर फाँट धान खेतीको लागि प्रसिध्द छन् भने कफी र अदुवा सवै जसो ठाँउमा राम्रो संग उत्पादन हुने गर्दछ । निर्वाहमुखी खेतीको अतिरिक्त व्यवसायिक खेतीका संभावनाहरु जिल्लाले बोकेको छ । जिल्लाले आधुनिक कृषि प्रणालीको माध्यमबाट आर्थिक विकासको निम्ति विभिन्न प्रयासहरु गर्दै आएको छ । मदनपोखराले कृषिमा ल्याएको परिवर्तन अन्य जिल्लाको लागि पनि उदाहरणीय बनेको छ । यी क्षेत्रहरुलाई प्रारम्भमा जिल्लाको माग पूरा गर्न सक्ने हैसियतमा ल्याई दीर्घकालमा जिल्ला वाहिर पठाउन सक्ने संभावनाहरु खोजी गर्न सक्ने समेत देखिन्छ ।
– पाल्पा जिल्ला अन्य प्राकृतिक मनोरमस्थलहरुले भरिपूर्ण जिल्ला पनि हो । अन्य जिल्लाका पर्यटकीय स्थलहरुको यातायात मार्ग संग यी धार्मिक र दर्शनीय स्थलहरुलाई जोडेर आन्तरिक र बाह्य ९अन्य जिल्लाका० पर्यटक आकर्षित गर्न सक्ने संभावना देखिन्छ ।
– पाल्पाको झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनीको स्वाद महत्वपूर्ण मान्ने गरिन्छ । झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनी, करुवा, ढाका टोपी आदिलाई जिल्लाको पहिचान र ब्राण्डको रुपमा विकास गर्नु आवश्यक छ । यी वस्तुहरुको उत्पादन र वितरणमा पाल्पा बाहिरका अन्य अन्य स्थानहरुलाई समेत संलग्न गराउन सकिन्छ ।
– जिल्लाका पर्यटकीय तथा दर्शनीय स्थलको विकास गर्दै यिनीहरुको पर्यटकीय संभावनालाई दिगो बनाउन अन्य जिल्लाका पर्यटकीय स्थलहरुको नेटवर्कमा आबध्द गर्ने । मुस्तांग,पोखरा,पाल्पा भैरहवा, सुनौली सम्मको सडक मार्गलाई पर्यटकीय तथा अर्थिक विकासका संभावनाहरु संग आबध्द गर्ने ।
– पाल्पा जिल्लामा मगर संस्कृति अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने । अन्य जात जातिको संस्कृतिको अतिरिक्त मगर संस्कृतिको उत्थान र व्यावसायिकता अभिवृध्दि गर्ने ।
– पहाडी भूवनौटको फाइदा लिन केवलकार, प्याराग्लाइडिंग र ट्रेकिंग रुटका क्षेत्रहरुको पहिचान गरि विकास गर्ने । चलचित्र सुटिंगको आउटडोरको प्रशस्त संभावनाको उपयोग गर्ने र इनडोर सुटिंग सुविधा तथा चलचित्र प्रशोधन सुविधाको विकास गर्ने।
– सिमेन्टको लागि चाहिने क्लिंकरको उपलब्धता पाल्पामा राम्रो देखिएकोले प्राकृतिक सौन्दर्यतामा ह्रास नआउने र भूक्षय नहुने गरि सिमेन्ट उद्योगको स्थापना गर्ने । यसवाट प्राकृतिक स्रोतको लाभ लिने ।
– जिल्लाको प्रत्येक स्थानीय तहमा एक विशिष्ट उत्पादनको पहिचान कायम गर्ने गरि एक स्थानीय तह एक उत्पादन को अवधारणा अगाडी बढाउने । कफी र अदुवा प्रशोधन केन्द्रको स्थापना गर्ने ।दुग्धजन्य उद्योग स्थापना गर्ने ।
– जिल्लाका पर्यटकीय तथा दर्शनीय स्थलको विकास गर्दै यिनीहरुको पर्यटकीय संभावनालाई दिगो बनाउन अन्य जिल्लाका पर्यटकीय स्थलहरुको नेटवर्कमा आबध्द गर्ने ।
– विभिन्न जात जातिको संस्कृतिको अतिरिक्त मगर संस्कृतिको उत्थान र व्यावसायिकता अभिवृध्दि गर्ने , मगर संस्कृति अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने ।
– कृषि उत्पादन प्रणालीका वैकल्पिक संभावनाहरु खोजी गरी स्थान विशेषको लागि उपयुक्त हुने नयां कृषि प्रणालीको विकास गर्ने ।
– सिध्दवावाको वाटोको स्तरोन्ति वा वैकल्पिक मार्गको शीघ्र व्यवस्था
ड्ड अम्रिसो, सूर्यमुखीतेल, अलैंची, सुन्तला खेतीलाई व्यवसायिक रुपमा संचालन गर्ने ।
ड्ड भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र संग समेत आबध्दता बढाउने गरी पाल्पामा कम्तीमा ३ वटा कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र खोल्ने ।

नेपाल सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरणगरेकोछ। रानीमहलले केही वर्ष यता राष्टिय रुपमै पर्यटनको गन्तव्यको रुपमा स्थापित गराएको छ । यसर्थ रानीमहलको विकासमा तानसेन नगरपालिकाको भूमिका प्रभावकारी हुनु आवश्यक छ । रानीमहलको सौन्दर्य र त्यहाँको प्राकृतिकमनोरमले पर्यटकको मनलाई सजिलै लोभ्याउँछ । यस्तो सुन्दर ठाउँकोदृश्यावलोकनका लागि पुनर्निर्माण रसंरक्षणको उचित प्रबन्ध हुनु आवश्यक छ । रानीमहलको उत्तरवाहिनी कालीगण्डकी नदीको धार्मिक आयामको थप प्रचार प्रसार गरि यसको वाट लाभान्वित हुन चाहनेलाइ यसको वास्तविक महत्वको बोध गराउनु आवश्यक छ ।
संघीय संरचना अन्तरगत रहेका पाल्पा जिल्लाका यी स्थानीय तहहरु जनताको निकटतम विन्दूमा रहेका सरकारको रुपमा रहेका छन् । संघीय शासन प्रणालीले अपनाएको सहकार्य समन्वय र सहअस्तित्वको मूल आदर्शलाइ बोकेर जिल्ला भित्रका स्थानीय तहहरु र सीमा जोडिएका अन्य जिल्लाका स्थानीय तहहरु वीचको सहकार्य र समन्वयलाइ विकासको साझा लक्ष्य प्राप्तिका लागि अगाडी बढ्न सक्ने थुप्रै संभावनाहरु विद्यमान रहेका छन् ।

(लेखक प्रदेश सरकारका सचिव हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys