Erani Mahal
ज्वराे र रूघाखाेकीका बिरामीलाई स्वास्थ्य संस्थाले फर्काउन नपाउने !
Image-3-8

पाल्पा – पाल्पा जिल्लामा कोरोना (कोभिड १९) संक्रमण, रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैठकले हरेक अस्पतालले रुघाखोकी, ज्वरोका बिरामीलाई उपचार गर्नुपर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीलाई उपचार नगरी फर्काएको गुनासो बढेपछि आइतबार तानसेनमा बसेको बैठकले फिभर क्लिनिक सञ्चालन गरेर बिरामीको उपचार गर्नुपर्ने निर्णय गरेको हो ।


जिल्लास्थित अस्पताल तथा स्वास्थ्य केन्द्रहरूले अस्पताल तथा केन्द्रमा आएका ज्वरो, रुघाखोकीका बिरामीको अनिवार्य रुपमा उपचार गर्नुपर्ने निर्णय गरेको हो । यस्ता बिरामीहरुलाई अलग्गै राखी सुरक्षित रुपमा उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने भए मेडिकल रिपोर्टका आधारमा मात्र निर्णय लिनुपर्ने कमाण्ड पोष्टको बैठकले निर्णय गरेको हो । शनिबार विभिन्न अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीलाई उपचार नगरी फिर्ता गरेको समाचार प्रकाशन भएपछि कमाण्ड पोष्टले यो निर्णय गरेको हो ।


यस्तै हरेक स्थानीय तहले भारत लगायतका मुलुकबाट आएका मानिसलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने र उनीहरुको गतिबिधि निगरानी राख्न अनुरोध गरेको छ । भारत लगायतका मुलुकबाट आएका मानिस खुलेआम गाउँमा घुमेको र क्वारेन्टाइनमा नराखेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।


यस्तै एम्बुलेन्समा चालक सुरक्षित रहेर बिरामी र चालकको बीचमा अनिवार्य रुपमा बार वा पर्दा लगाएर एम्बुलेन्स चलाउनुपर्ने निर्णय गरेको छ । कमाण्ड पोष्टले पाल्पाका सबै स्थानीय तहले आफ्नो क्षेत्रमा आवश्यक पर्ने अत्यावश्यक सामग्री आपूर्ति गर्नका लागि व्यवस्थ मिलाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update