Erani Mahal
विदेशबाट फर्केकालाई 'क्वारेन्टाइनमा' राख्ने कि ज्वराेसँगै गाउँमा घुम्न दिने ?
55

पाल्पा – चैत १ गतेदेखि १४ गतेसम्म पाल्पामा १ हजार बढी मानिस विदेशबाट आफ्नो गाउँ पाल्पा फर्किएका छन् । यो पछिल्लो दुई साताको तथ्यांक हो । चीनमा कोरोनाको संक्रमण देखिएपछिको स्वदेश पाल्पा फर्कनेको तथ्यांक लिने हो भने पाल्पामा यो संख्या अझैँ बढ्छ । अहिले पनि विदेशबाट फर्किने मानिसको संख्या दिनहुँजसो बढिरहेको छ । कोही बाटोमा आउँदै छन् ।


जतिजति कोरोना भाइरसको त्रास र संक्रमण बढ्दै जान्छ, उतिउति बाहिरबाट फर्कने मानिसको संख्या पनि बढ्छ । त्यसमा पनि अन्य देशबाट स्वदेश फर्कने हवाई नाका बन्द भएकाले खुल्ला सिमाका कारण भारतबाट फर्कने मानिसको संख्या बढ्ने पक्का जस्तै हो ।


नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो संख्या आगामी दिनमा अझैँ बढ्न सक्छ । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने विदेशबाट फर्किएका मानिसमा कोरोनाको संक्रमण देखिएको छ । पाल्पा जिल्लामा पनि दुई सातामा मात्र विदेशबाट फर्किने अत्याधिक भएका कारण उनीहरु कोरोना संक्रमित छैनन् भन्न सकिदैन । त्यसैले उनीहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता देखिन्छ । यो भन्दा फेरी फर्किएका सबै संक्रमित छन् भन्ने अर्थ नलागोस् ।


भारतमा पनि संक्रमणको दर बढ्दो छ । पाल्पामा भारतबाट फर्कने मानिसको संख्या अत्याधिक छ । भारतसहित खाडी मुलुक कतार, दुबै, मलेसिया, बहराइन, हङ्कङ्, चीन, जापान, कोरियाबाट फर्कने मानिस पनि छन् । त्यसैले भारत लगायत अन्य देशबाट फर्किएका मानिसलाई खोजेर अब गाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा राख्न्ुपर्ने आवश्यकता देखिन्छ । विदेशबाट ज्वरोसँगै आएका मानिस निर्वाध रुपमा गाउँमा घुमेको भन्दै पाल्पाका आम नागरिकले गुनासो गर्न थालेका छन् । नेकपा पाल्पाका नेता मधुरा ढकालले विदेशबाट ज्वरोसँगै आएका मानिस निर्वाध रुपमा गाउँमा घुम्दासमेत क्वारेन्टाइनमा राख्ने काम नभएकोमा प्रशासन र स्थानीय सरकारको आलोचना गर्नुभएको छ ।


ढकालले सामाजिक संजाल फेसबुकमार्फत गर्नुभएको अभिव्यक्तिमा धेरैले सहमति जनाएका छन् । यतिमात्र होइन गाउँमा ज्वरो, खोकी लागेका मानिसलाई समेत गाउँपालिका/नगरपालिकाले क्वारेन्टाइनमा राख्न प्रभावकारी भूमिका खेल्न नसकेको अधिकांश पाल्पालीको चिन्ता छ । विदेशबाट फर्केकालाइ क्वारेन्टाइनमा नराख्दा गाउँघरमा त्रास फैलिएकाे छ । पाल्पाबासीले स्थानीय सरकार, जनप्रतिनिधि र प्रशासन सानाेतिनाे काममै अल्मलिएर कोरोनाबाट गाउँलाइ समेत असुरक्षित बनाएकाे अभिव्यक्ति गरिरहेका छन् ।


त्यसैले पाल्पाका सबै स्थानीय तहले विदेशबाट फर्किएका मानिसलाई हरेक वडा र गाउँमा स्थापना गरेको क्वारेन्टाइनमा १४ दिन राख्न भूमिका खेल्न सक्नुपर्छ । सके मनाएर, नसके सुरक्षा निकायको बल प्रयोग गरेर भएपनि विदेशबाट फर्किएका शंकास्पदलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष भगवान भण्डारीको भनाई छ ।


यसले मात्र गाउँमा स्थापना गरेको क्वारेन्टाइनको प्रयोगमा आउने र कोरोना भाइरसको जोखिम कम गर्न सकिने भनाई छ । पछि संक्रमण फैलिएपछि पछुताउनु भन्दा अहिलेदेखि नै भयाबह आउन नदिनेतर्फ स्थानीय तह, प्रशासन र जनप्रतिनिधिले काम गर्नुपर्ने बेला भएको छ । (समाचार टिप्पणी)

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update