Erani Mahal
कोरोना भाइरसको त्रासले एक हजार बढी पाल्पामा (घर) फर्किए (तथ्यांक सहित)
90214583_674917163314016_5629162533899206656_o


पाल्पा – कोरोना भाइरसको संक्रमण फैलिने भयले विदेशबाट दुई सातामा १ हजार बढी मानिस गाउँमा आएका छन् । जिल्लाको विभिन्न स्थानबाट बैदेशिक रोजगारीका लागि भारत, मलेसिया, कतार, दुबै, बहराइन, कुवेत जानेहरू फर्किएका छन् । कोरोना भाइरस फैलने त्रासले सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट स्वदेश फर्किएका छन् ।


पाल्पामा भारतबाट फर्कने मात्र ९५ प्रतिशत छन् । जिल्लामा चैत १ गतेदेखि हालसम्म एक हजार ८१ जना मानिस भारत लगायत विदेशबाट फर्किएका छन् । विभिन्न गाउँपालिकाले दिएको तथ्यांक अनुसार तिनाउमा ४५ जना, तानसेनमा ९७ जना, रामपुरमा १३५ जना, रैनादेवी छहरामा २९५ जना विदेशबाट फर्किएका छन् । यस्तै रिब्दीकोटमा १४५ जना, माथागढीमा ७५ जना, रम्भामा ४९ जना, निस्दीमा ५५ जना, बगनासकालीमा ७४ जना र पूर्वखोलामा १११ जना विदेशबाट फर्किएका छन् ।


पाल्पाका स्थानीय तहले विदेशबाट फर्किएका मानिसहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छन् । अझैँ यो संख्या दिनहुँ बढेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिका÷नगरपालिकाहरूले कोरोना भाइरसको प्रभाव पर्न नदिन विदेशबाट फर्किएकालाई विशेष निगरानी गरेका छन् । उनीहरू कुन देशबाट आएका हुन्, कहिले फर्किएका हुन्, कोसँग बसेका छन् आदि विवरण संकलन गरिरहेको र क्वारेन्टाइनमा राख्ने काम भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले बताउनुभयो ।


विदेशबाट फर्किने क्रम अझैँ जारी छ । रैनादेवी छहराको भुवनपोखरीमा भारतबाट मात्र १२५ जना फर्किएका छन् । चैत ८ गतेदेखि भुवनपोखरीमा भारतबाट मात्र १२५ जना फर्किएको वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो ।

गाउँमा फर्किएका अधिकांशलाई घरमै सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने काम भईरहेको उहाँले बताउनुभयो । भारतमा कोरोना भाइरसको संक्रमण फैलिएको र खुल्ला सिमानाका कारण भारतबाट नेपालमा फर्कने मानिसको संख्या धेरै भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।


२४९ बेडकाे क्वारेन्टाइन बन्याे

जिल्लामा हालसम्म २४९ बेडको क्वारेन्टाइन बनेको छ । तानसेनमा २६, रामपुरमा २०, तिनाउमा १०, माथागढीमा ४१, रिब्दीकोटमा ३०, पूर्वखोलामा २०, निस्दीमा १२, रम्भामा ५० र बगनासकालीमा २० र रैनादेवी छहरामा २० बेडको क्वारेन्टाइन तयार भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

२५ बेडकाे आइसोलेसन तयार

यस्तै पाल्पा अस्पतालमा १०, लुम्विनी मेडिकल कलेजमा १०, मिसन अस्पतालमा २ र रामपुर अस्पतालमा ३ बेडको गरी जम्मा २५ वार्डको आइसोलेसन तयार भएको उहाँले बताउनुभयो ।

ज्वराेका बिरामी देखिन थाले
जिल्लाका विभिन्न स्थानमा केही मात्रामा ज्वरोका बिरामी देखिएपनि हालसम्म कोरोना भाइरसको संक्रमणको लक्षण देखिएका बिरामी भने नदेखिएको उहाँको दावी छ । ज्वरो आएका बिरामी अधिकांश भारतबाट फर्किएका रहेको बताइएको छ । पछिल्लो समयमा विभिन्न स्थानमा असामान्य ज्वरोका बिरामीलाई मेडिकल कलेज, लगायतका अस्पतालले भर्ना नलिएको गुनासो बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update