X

कोरोना कहर, संवेदनशीलता र सरकारको दायित्व

प्रमाेद धिताल || १४ चैत्र २०७६,शुक्रबार १८:२२

विश्वब्यापी रुपमा आतंक मच्चाइरहेको कोरोना संक्रमणले सामाजिक माहोल नै बद्लिएको छ । यसको प्रभाव राजनीतिकक, आर्थिक तथा साँस्कृतिक जीवनमा पनि व्यापक परेको छ । तर जुन हदसम्म सामाजिक संवेदनशीलता देखिनुपर्ने हो त्यो भने देखिन अँझै बाकी छ । कोरोना संक्रमणभन्दा भयानक छ हाम्रो सामाजिक चिन्तनको कोरोना । जसको सनातन संक्रमणले हामी कतिसम्म ग्रसित छौं, यसलाई नाप्ने कुनै प्रविधि हामीसँग छैन । यसलाई नाप्ने भनेको यस्ता संवेदनशील घडीहरुमा हामीले देखाउँने रवैया र जनाउने प्रतिक्रियाहरुले नै हो ।


यो पंक्ति लेख्दै गर्दाको दिनसम्म सरकारले लक डाउन घोषणा गरेको चौथो दिन भएको छ । बाहिर ननिस्के पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यम तथा फोन मार्फत बाहिरी दुनियाको जानकारी आदान प्रदान भइराखेकै छ । बिहान छिमेकी वडाको एकजना साथीले फोन सम्पर्क गर्नुभयो । “हैन सर मानिसहरुलाई के भएको हो । चाड पर्वको विदाजस्तै गरिरहेका छन् । हाम्रो वडामा त हिजोसम्म टोलहरुको बीचमा फुटबल प्रतियोगित थियो । कोही जम्मा भएर तास खेल्नमा ब्यस्त, कोही खसी काटेर खानपीनमा । स्वास्थ्य संकटकाल नै लगाउनुपर्ने की के हो ?” वहाँको चिन्ता जायज थियो । मैले महसुस गरेको पनि त्यही हो, अधिकारलाई सामाजिक कर्तव्यबाट अलग राखेर स्वेच्छाछारी भइराख्नु दुःखको कुरा हो ।

लेखक प्रमाेद धिताल ।


कोरोना भाइरसबाट संक्रमित हुने रोग उपचारको अधीनभन्दा बाहिरको रोग हो । यो संक्रमणपूर्वको अवस्था हो । यसै पनि यो अवस्था संत्रासमय बनेको छ । यसले हाम्रो सामाजिक जीवनका विविध पक्षहरुलाई धेरै प्रभाव पारेको छ । हालसम्म तीनजना व्यक्तिहरुमा संक्रमण देखापरेको खबर आएको छ । जानकारीमा नआएका संक्रमित कति होलान? अथवा यो व्यापक हुँदाकोे अवस्थामा के होला ? ब्यापक हुँदै हाम्रो नियन्त्रणभन्दा बाहिर जाँदाको अवस्था कस्तो होला ? यो विषयमा समयमै गम्भीर बन्न जरुरी छ ।


मानिसको वास्तविक पहिचान जीवनको प्रतिकूल या अनुकूल अवस्थामा हुनेगर्छ । यो हाम्रो सामाजिक जीवनमा झेल्नुपरेको प्रतिकूल अवस्था हो । अन्यत्र देखेर पनि नचेत्नु या सचेत नहुनुभन्दा ठूलो मूर्खता अरु केहि हुनसक्दैन । जमघट हुनुपर्ने कामकारवाहीहरु सबैतिर स्थगित गरिएका छन् । यो समाज र जीवनप्रति गैह्रजिम्मेवारी बनेर पेश हुने समय होइन । भेटघाटमा ब्यस्त समय होइन । भोजभतेर रमाइलो गर्ने समय पनि होइन । अभूतपूर्व संवेदनशीलता अपनाउनुपर्ने, आफू जोगिने र अरुलाई पनि जोगाउने समय हो । जीवन मरणसँग जोडिएको विषयसँग मजाक गर्ने समय त झन हुँदै होइन । यदि त्यसो गरियो भने प्रकृतिले दिने सजाय भोग्नुबाहेक हामीसँग अर्को विकल्प रहन्न ।

यसको अर्थ हामी समाजबाट पूरै अलगामा पर्छौं भन्ने पनि होइन । भेटघाट, सम्वाद र दुःख सुख साट्ने माध्यमहरु छन् । यतिखेर प्रयोग गर्ने तिनै कुराहरुलाई हो । व्यक्तिगत, पारिवारिक तथा सामाजिक विषयमा चिन्तन र जिम्मेवारी बहन गर्नलाई यो समयले छेक्दैन । घरमै बसेर आफन्त र साथीभाइहरुसँग सम्वाद गरौं । घरायसी काम गरौं । यो प्रतिकूल अवस्थाले हामी सुध्रनको लागि दिएका शिक्षाहरु के होलान ? त्यसको बारेमा चिन्तन गरौं । गतिला पुस्तकहरुको अध्ययन गरौं । सम्बन्धित पेशा र क्षेत्रमा थप जिम्मेवार र परिपक्व बन्नको लागि मानसिक भौतिक कर्म गरौं । यसरी हेर्दा यो हाम्रो निम्ति अवसर पनि हो, चुनौति मात्र होइन । रोगबाट पनि बच्ने, समयको सदूपयोग पनि हुने दोहोरो अवसर हो यो ।

सरकारको दायित्व : यो संक्रमणबाट विकसित भनिएका मुलूकहरु चपेटामा पर्नुले ससंकित बनाएको अवस्था छ । जबकि ती देशहरु स्वास्थ्य सेवा र सुविधाको हिसाबले पनि हामीभन्दा धेरै अगाडि छन् । उनीहरुसँग वैज्ञानिक साधन र स्रोत पनि पर्याप्त छन् । यसको बाबजुद पनि मानिसहरुले ज्यान गुमाइरहेका छन् । तर हालसम्म पनि हाम्रो देश यसबाट न्यून प्रभावित हुनुले सजगता अपनाउन र पहलकदमी लिनको लागि यो अनुकूल अवस्था हो । क्षतिपूर्वको सावधानी, सचेतना र पहलकदमी नै हामी जोगिनको निम्ति सबैभन्दा ठूलो हतियार हो ।


लकडाउनको घोषणा गरेर मात्र अवस्था काबूमा नआउन सक्छ । परिस्थितिको गम्भीरतालाई मध्यनजर गरी स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने हुनसक्छ । त्यसबाट पर्न जाने साइड इफेक्टको जिम्मा पनि सरकारले लिनुपर्ने हुन्छ । यो बीचमा निम्न आयआर्जन भएका तथा मजदूरी गरेर हातमुख जोर्ने व्यक्तिहरुको जिविका देखि लिएर स्वास्थ उपचारको निशुल्क जिम्मेवारी पनि लिन तयार हुनुपर्छ । यसको लागि कर्मचारी तथा व्यावशायीहरुबाट निश्चित सहयोग कोटा अनिवार्य गर्न कन्जुस्याईं गर्नुहँुदैन । निजामती तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विज्ञहरु सम्मिलित स्वयंसेवक समूहहरुलाई अनुगमन तथा जनचेतना तथा सहायताको जिम्मेवारी दिएर फिल्डमा खटाउन सकिन्छ ।

एक जनाको लापरवाहीबाट पूरै सामाजिक जीवन प्रभावित हुने अवस्था छ । यस्तो बेलामा स्वेच्छाचारिता देखाउने व्यक्तिहरुलाई कडा कारबाहीको दायरामा ल्याउने वित्तिकै सरकारी निर्देशनहरु लागू हुन सक्छन् । अन्यथा सरकारी निर्देशन एकातिर सामाजिक माहोल अर्कोतिर हुने सम्भवाना प्रवल रहन्छ । तथर्स यतिखेरको आवश्यकता भनेको सबै नागरिकहरुले सामाजिक अनुशासन कायम गर्न योगदान गर्नु हो । र सरकारको दायित्व भनेको यस प्रतिकूलताबाट नागरिकहरुको जीवनलाई थप संकटमा पर्न नदिनु हो । त्यसको लागि सर्वप्रथम देशमा विद्यमान सम्पूर्ण साधन स्रोतहरुको परिचालन गर्नु हो । दोस्रो कुरा आवश्यक विषयबस्तुहरुमा व्यापक सामुहिक क्रियाशीता र पहलकमी लिनु पनि हो ।
२०७६ चैत्र १४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys