Erani Mahal
पाल्पामा काेराेना बिरूद्ध अभियान : ७२ जना क्वारेन्टाइनमा (तथ्यांक सहित)
palpa_carrentine_my0Ph3sMFy-2

पाल्पा – जिल्लाका विभिन्न स्थानमा हालसम्म ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न विदेशबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा राखिएको हो । तानसेनमा २६, बगनासकालीमा ११, रिब्दीकोटमा २, रामपुरमा ९ र पूर्वखोलामा १९ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।


यस्तै रम्भा गाउँपालिकाको ताहुस्थित रम्भा माविमा रहेको क्वारेन्टाइनमा ५ जनालाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखिएको र उनीहरू ३ जना पूर्वखोलाका र २ जना रम्भाका रहेको ढकालले जानकारी दिनुभयो ।


रिब्दीकोट गाउँपालिकाको ख्याहामा स्थापना गरिएको क्पारेन्टाइनमा २ जनालाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले जानकारी दिनुभयो । विदेशबाट फर्किएका अरु मानिसलाई भने होम क्वारेन्टाइनमै सुरक्षित साथ बस्न पठाइएको र स्वास्थ्यकर्मी समेत गाउँगाउँमा परिचालन गरिएको अर्जेलले जानकारी दिनुभयो ।


रामपुरको बालकल्याण प्राथमिक विद्यालयमा तयार गरिएको २० शैयाको क्वारेन्टाइनमा ९ जनालाई राखिएको छ । भारतबाट आएका उनीहरू घरमा नगई क्वारेन्टाइनमा बसेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । तानसेन र बगनासकालीमा भने बुधबार दिउँशोदेखि नै ३७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिने अधिकांश छिमेकी मुलुक भारतबाट स्वदेश पाल्पामा फर्किने छन् ।


तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी गाउँपालिकामा भने अहिलेसम्म कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन । विदेशबाट फर्किएका २९५ जना रहेपनि उनीहरू सबै होम क्वारेन्टाइनमै बसेको रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले १० बेडको क्वारेन्टाइन स्थापना गरेपनि हालसम्म एक जना पनि क्वारेन्टाइनमा नबसेको बताउनुभयो । उहाँले विदेशबाट फर्किएका मानिसहरूलाई स्वास्थ्य जाँच गरिएको र घरभित्रै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताउनुभयो ।


पाल्पामा चैत १ गतेदेखि हालसम्म विदेशबाट फर्किने झण्डै एक हजार बढी छन् । तीमध्ये अधिकांश भारतबाट फर्किने रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update