Erani Mahal
पाल्पाका सबै स्थानीय तहले नाकामा स्वास्थ्य जाँच गर्नुपर्ने
4

पाल्पा – कोरोना भाइरस संक्रमण फैलन नदिन जिल्लामा विभिन्न कार्यक्रम गरेर सतर्कता अपनाइएको छ । जिल्लामा भएको कोरोना संक्रमण रोकथाम तथा उपचार सहजीकरण समिति पाल्पाले बैठक बसेर ६ बुँदे अनुरोध तथा निर्देशन जारी गरेकाे छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा बसेको बैठकले पाल्पा जिल्लाका नाकाबाट भित्रिने यात्रु तथा मानिसको स्वास्थ्य जाँच गर्न पाल्पाका दश वटै स्थानीय तहलाई तयारी गर्न भनेकाे छ । सहजीकरण समितिले सम्बन्धित स्थानीय तहले सुरक्षाकर्मीसँग समन्वय गरेर बाहिरी जिल्ला तथा विदेशबाट जिल्लामा प्रवेश गर्नेको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको हाे ।

निर्णय अनुसार पाल्पाकाे मुख्य नाका तिनाउकाे दाेभान, तानसेनकाे अर्गली र रानीघाट, बगनासकालीकाे राम्दी, रामपुरकाे चापकाेट र तनहुँ, रैनादेवीछहराकाे बल्ढेङ्गढी र अर्घाखाँची नाका, रम्भाकाे स्याङ्जातर्फ, माथागढीकाे तराइ निस्कने नाका, निस्दी गाउँपालिकाबाट तराइ झर्ने नाकामा स्वास्थ्य कर्मीकाे व्यवस्था गरेर जिल्लामा भित्रिने यात्रु तथा नागरिककाे स्वास्थ्य जाँच गर्नुपर्नेछ । स्थानीय तहले स्वास्थ्य जाँच गर्दा शंकास्पद देखिएका बिरामी भए तिनाउले बुटवल र अन्य स्थानीय तहले नजिककाे अस्पतालहरूमा बिरामी पठाउनुपर्ने सहजीकरण समितिका सदस्य सचिव स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले बताउनुभयाे ।

कोरोना भाइरसबाट संक्रमण भएको शंकास्पद व्यक्तिलाई राख्न तानसेन नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गर्न सहजीकरण समितिले भनेको छ । सबै स्थानीय तहले एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउनुपर्ने, पाल्पा जिल्लामा भारतबाट फर्कने र यो जिल्ला हुँदै स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँची जिल्लासम्म मानिसको आवतजावत हुने हुँदा सर्तक रहन र स्वास्थ्य कर्मीलाई आवश्यक पर्ने पिपिइ, सर्जिकल मास्क, ग्लोब्स, स्यानेटाइजर लगायतका सामग्री सम्बन्धित माथिल्लो निकायमा माग गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै उक्त समितिले विदेशबाट फर्केकालाई सेल्प क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जिल्लामा मास्क तथा सेनेटाइजरको अभाव देखिएकाले अस्पताल तथा सेनासँगको समन्वयमा मास्क र सेनेटाइजर गरी मास्क वितरण गर्ने निर्णय भएको छ ।

दाेभान नाकाबाट भित्रिने दशैँतिहारमा जतिकै यात्रुकाे भीड

उता पाल्पामा दाेभान नाकाबाट भित्रिने यात्रुहरू दशैँतिहारमा जति भीड भएकाे दाेभान प्रहरी चाैकीका प्रमुख बालबहादुर घर्तीमगरले जानकारी दिनुभयाे । उहाँले आज बिहानदेखि २ हजार बढी यात्रु नाकाबाट भित्रिएकाे अनुमान गर्नुभयाे । गएकाे हप्तादेखि नै यात्रु दाेभान नाकाबाट भित्रिने अत्याधिक रहेकाे उहाँले बताउनुभयाे । आज, हिजाे, अस्तिकाे तुलनामा कम छ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update