Erani Mahal
एक्कासी एसईई परीक्षा स्थगित, गाउँबाट केन्द्र पुगेका विद्यार्थीको विचल्ली
palpa-nepal-see

पाल्पा– सरकारले केही घण्टा मात्रै बाँकी रहँदा एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले परीक्षा दिने मनस्थिति लिएर गाउँ देखि केन्द्र र गाउँबाट शहर पुगेका विद्यार्थीहरु अन्योलमा परेका छन् । उनीहरुको सरकारको निर्णयसँगै बालमनोविज्ञानमा समेत असर पर्ने मनोवैज्ञानिकहरुले जनाएका छन् ।


विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासका कारण भोलिदेखि सञ्चालन हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।


कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा सचिवालय बैठकमा बुधवार उक्त जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।


समितिको आजको बैठकले गरेका १५ बुँदे निर्णय यसअघि नै सार्वजनिक भएको थियो, पछि पूरक बैठक बसेर उक्त निर्णय भएको जानकारी बैठकमा गराइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।


प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि एसईई परीक्षा स्थगित भएको जानकारी गराउनुभएको छ । उहाँले एक टुइट गर्दै परीक्षा स्थगन भएको घोषणा गर्नुभएको हो । सरकारको निर्णयले झोलाझाम्टा बोकेर केन्द्रमा पुगेका लाखौं विद्यार्थीको अन्योल भएको भन्दै सामाजिक संजालमा भने विरोध सुरु भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update