Erani Mahal
तिनाउकाे दुर्गम गाउँमा स्वास्थ्य इकाई संचालनमा
oooo

पाल्पा – तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रको सबैभन्दा दुर्गम गाउँ मानिएको पाटनमा हालै स्वास्थ्य इकाई स्थापना गरिएको छ । पाटन स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउ गाउँपालिका भित्रका सबै जनतालाई आधारभुत स्वास्थ्य सेवाबाट बन्चित हुन नदिन उक्त स्वास्थ्य इकाइको स्थापना गरिएको बताउनुभयो ।


तत्कालिन चार वटा गाविस मिलेर बनेको तिनाउ गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी रहेको र हालसम्म पाटन सहित ६ वटा स्वास्थ्य इकाई स्थापना भइसकेको र केही दिन पछि वडा नं १ को झिगाँमारा गाउँमा पनि थप स्वास्थ्य इकाई स्थापना हुन लागेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो ।


तिनाउ गाउँपालिका भित्रका कुनै पनि जनता एक घण्टा भन्दा बढी स्वास्थ्य सस्थामा हिडेर पुग्न नपरोस भनी स्वास्थ्य इकाईको स्थापना गरेको र अब तिनाउमा १२ वटा स्वास्थ्य संस्था स्थापना भएको स्वास्थ्य ईन्चार्ज कृष्णल कार्कीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठ लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष रोमबहादुर पुनको अध्यक्षतामा, मस्याम स्वास्थ्य चौकी ईन्चार्ज गंगाराम खनालको स्वागत मन्तव्य तथा कृष्ण कार्कीको सञ्चालनमा भएको थियो । शुरुमा एक जना अहेव नियुक्त गरी शुरु गरिएको स्वास्थ्य इकाईमा अहिले सरकारले तोकेको ३५ किसिमको औषधी तथा निशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update