Erani Mahal
अस्थिरता चाहने तत्वबाट भ्रमकाे खेती : परराष्ट्रमन्त्री ज्ञवाली
43

पाल्पा – परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले स्थिरता नचाहने तत्वबाट अहिले भ्रमको खेती सुरु भएको बताउनुभएको छ । उहाँले अस्थिरताका संवाहकहरूबाट उपलब्धीलाई ओझेलमा पार्ने र अस्थिरता कायम राख्ने प्रयत्न भईरहेको बताउनुभएको छ । सरकारले गरिरहेको काम र उपलब्धीमा भ्रम छरेर स्थायित्व नचाहनेहरूबाट गलत प्रचार भईरहेकोप्रति सचेत रहनुपर्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी तानसेन नगर कमिटिद्वारा शनिबार तानसेनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा छिनछिनमै सरकार परिवर्तन गरिरहेको तत्व सल्बलाईरहेको बताउनुभयो । मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिको नारालाई मन पराएर जनताले नेकपालाई दुई तिहाई मत दिएको उल्लेख गर्नुहुँदै उक्त मत उत्ताउलो बन्न, दम्भ देखाउनका लागि नभएको बताउनुभयो ।

उहाँले केही समयअघि आएको संविधान संशोधनको बहस गलत भएको उल्लेख गर्नुहुँदै संविधान गतिशिल दस्तावेज भएपनि अस्थिरतालाई बल पु¥याउनेहरूप्रति सचेत रहनुपर्ने बताउनुभयो । उहाँले अहिले मूल धारको मिडियाले समेत अस्थिरतामा खेल्न खोज्नेलाई बल पुग्ने गरी समाचार सम्प्रेषण गरेको मन्त्री ज्ञवालीले दावी गर्नुभयो ।

नेकपाभित्र झगडा देखाएर, सरकारले केही पनि गर्न सकेन भनेर भ्रम छरेर अस्थिरता निम्त्याउन खोजिएको छ मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले अहिले संविधान संशोधन होइन, संविधानको सफल कार्यान्वयन सहित समृद्धि हासिल गर्न सकिने दावी गर्नुभयो ।

नेकपाका नेता समेत रहनुभएका मन्त्री ज्ञवालीले सरकारले गरेको काम जनताले थाहा नपाउने जस्तो भईरहेकोप्रति कार्यकर्ता सचेत रहनुपर्ने बताउनुभयो । नेकपा नेतृत्वको वर्तमान केन्द्रीय, प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भन्ने स्पष्ट पार्न र जनतामा नयाँ आशा जगाउँन नेकपाले तीन महिने अभियान सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टीको सदस्य कस्तो छ भन्ने कुराले समग्र पार्टीको कस्तो छ भन्ने निर्धारण गर्ने बताउनुभयो । उहाँले थोरै तर क्वालिटीको पार्टी सदस्य भए त्यसले समग्र देशको नै नेतृत्व गर्न सक्ने बताउनुहुँदै धेरै भएर धेरै काम गर्न सकिन्छ भन्ने भ्रम रहेको जिकिर गर्नुभयो ।
उहाँले अब हिजोको ह्याङ्गलाई त्यागेर दुबै पार्टीका नेता कार्यकर्ताले जनतामा सरकारप्रति छरिएको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टी ठूलो की जनप्रतिनिधि ठूलो भन्ने बहस हुनु ठूलो कुरो नभएको भन्दै पार्टी नै स्वभाविक रुपमा प्रमुख रहेको बताउनुभयो । उहाँले पार्टी प्रमुख भएपनि जनप्रतिनिधिको भूमिकाले पार्टीलाई स्थापित र सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । पार्टीले अघि सारेको तीन महिने अभियानले नयाँ सदस्य चुस्तदुरुस्त हुने, राम्रो पार्टी कमिटि बन्ने, पार्टी र जनताबीचको अन्तरसम्बन्ध बलियो हुने र त्यसले पार्टीलाई नयाँ उचाईमा पु¥याउने दावी उहाँको थियो ।

कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज सोमप्रसाद पाण्डेय, केन्द्रीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष नारायण आचार्य, नेता धनेन्द्रराज घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पार्टीले अघि सारेका तीन महिना अभियानका बारेमा जानकारी गरिएको थियो । कार्यक्रम नकपा नगर कमिटिीका सहइन्चार्ज गुँरास आत्रेयको स्वागत, अध्यक्ष रामप्रसाद पोखरेको अध्यक्षता र सचिव नारायण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update