Erani Mahal
नेकपा माथागढीकाे बैठक सम्पन्न
87478695_226324955175469_8131531697410801664_o

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी माथागढी गाउँ कमिटिको तेस्रो बैठक झडेवामा सम्पन्न भएको छ । बैठकमा नेकपा पाल्पाका अध्यक्ष एवं प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले पार्टी केन्द्र, प्रदेश र जिल्लाले लिएका निर्णयका बारेमा जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले माथागढीका जनताको माग र आवश्यकता आधारको विकास निर्माणका काम अघि बढाएको बताउनुभयो ।

आचार्यले माथागढीको विभिन्न गाउँमा खानेपानी, सडक, नयाँ बस्ती विकासका योजना सम्पन्न गरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले माथागढीको विकासका लागि विनियोजन गरेको बजेट कार्यान्वयनमा गाउँपालिका नेतृत्वले कार्यान्वयनमा वेवास्ता गरेको बताउनुभयो । यहाँ आएका विकास निर्माणका बजेट प्रदेशमा फरक पार्टीको सरकारले पठाएको हो भनेर गाउँपालिका नेतृत्वले पूर्वाग्रहपूर्ण व्यवहार गर्दा जनतालाई घाटा लागेकाले जनताले गाउँपालिकालाई सचेत बनाउनुपर्ने उहाँले बताउनुभयो ।

माथागढी गाउँपालिकामा अनियमिता बढ्यो
कार्यक्रममा पार्टीका विभिन्न वडाका अध्यक्ष एवं प्रतिनिधिहरूले गाउँपालिकाको नेतृत्वले अधिकांश योजनामा आफ्ना मान्छे सेटिङ् गरेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनीहरूले माथागढी गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरूले आफ्नो डोजर प्रयोग गर्न नयाँ सडक खन्नका लागि मात्र बजेट विनियोजन गरेको उल्लेख गर्दै उपभोक्ता समिति गठन समेत मिलेमतो भएको दावी गरेका थिए ।
सहभागीहरूले माथागढी गाउँपाािलकामा नेकपाले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए । गाउँपालिकाले योजना छनौट र उपभोक्ता समिति गठन गर्दा नेकपामा आस्था राख्ने कसैले पनि जानकारी नपाउने गरेकाले पार्टीले गाउँपालिका नेतृत्वसँग छलफल गर्नुपर्ने बताएका थिए ।
चुनढुंगा खानीको ज्यादती बढ्यो
यस्तै माथागढीको रहबास र गोठादीमा संचालित पाल्पा सिमेन्टको खानीबाट प्रभावित क्षेत्रका जनताको आवाजलाई गाउँपालिकाले बेवास्ता गरेको गुनासो बैठकमा उठेको थियो । उनीहरुले जनप्रतिनिधिकै डोजर र ट्रिपर भएपछि जनतालाई चुनढुंगा खानी संचालकले समेत ज्यादती गर्दा समेत गाउँपालिका मौन बसेको उल्लेख गरेका थिए ।

कांग्रेस छाडी नेकपामा
यता नेपाली कांग्रेसले माथागढी गाउँपालिकामा सबै वडामा जीत हासिल गरेर विकास निर्माणको काममा पारदर्शिता अपनाउनुभन्दा भ्रष्टाचार गरेको भन्दै कांग्रेसकै नेताहरूले पार्टी छाडेका छन् । माथागढीको वडा नं. ७, रहबास र वडा नं. ६, गोठादीबाट नेपाली कांग्रेसमा आबद्ध १० र राप्रपामा आबद्ध २ जना युवाहरुले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
रहबास र गोठादीबाट विमल दर्लामीको नेतृत्वमा १२ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन् । कांग्रेसले माथागढीमा जितेर पनि जनताको भावना अनुसार काम नगरेर जनप्रतिनिधि कमाउ धन्दातिर लागेको उनीहरुले आरोप लगाएका छन् ।


तीन महिने अभियान चलाउने
कार्यक्रम नेकपा माथागढी गाउँकमिटिका अध्यक्ष हरि चौहानको अध्यक्षता र सचिव तेज घर्तीमगरको संचालनमा सम्पन्न भएको थियो । बैठकमा नेकपा निर्वाचन क्षेत्र १(२ं)का सचिव सन्तोष भट्टराई, माथागढी गाउँपालिका सहइन्चार्ज अर्जुन रेग्मी, नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागका उपप्रमुख रेखीराम राना लगायतको सहभागिता रहेको थियो । बैठकले विभिन्न वडामा बैठक तथा भेला गर्ने, चैत १५ गतेभित्र सदस्यता नवीकरण गर्ने, माथागढी गाउँपालिकाभित्र भएका भ्रष्टाचारको भण्डाफोर गर्ने, जनता र पार्टी सदस्यका बीचमा प्रशिक्षण चलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update