Erani Mahal
तानसेनमा अव्यवस्थित पार्किङ्ग बढ्दै !
IMG_1276

पाल्पा– जिल्ला सदरमुकाम तानसेनमा जथाभावी रुपमा सवारी साधनहरु पार्किङ गर्दा शहर नै कुरुप बन्दै गएको छ । सडकका चोकहरु तथा बाटाका छेउछाउहरुमा अव्यवस्थित पार्किङ्गका कारण यात्रुहरुलाई आवतजावतमा समेत समस्या परेको छ । यस्तै ऐतिहासिक महत्वका स्थानहरु समेत ओझेलमा परेका छन् ।


तानसेनको अहिले सित्तलपार्टी, दरबार, नारायणस्थान, टुँडीखेल, लहरेपिपल, विशालबजार, सिल्खानटोल लगायतका स्थानमा अलपत्र पार्किङ्गले ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको छ ।


जिल्लामा नयाँ प्रहरी प्रमुख र ट्राफिक प्रमुख फेरिनसाथ तानसेनको पार्किङ्गको विषयमा समेत चासो देखाउने भएता पनि त्यो पछिल्लो समयमा विस्तारै सेलाउँदै जाँदा अव्यवस्थित पार्किङ्ग बढेको हो । तानसेनमा साना तथा ठूला सवारीहरु नो पार्किङ्ग लेखिएका स्थानमा समेत पार्किङ्ग गर्दा ट्राफिक व्यवस्थापनलाई नै खिल्ली उठाएको छ । अव्यवस्थित पार्किङ्गका कारण दुर्घटनाको समेत जोखिम बढेको छ, तानसेनका स्थानीय प्रमोद उदासले भन्नुभयो, त्यसै त साँघुरो तानसेनको बाटो अझै त्यसमा अव्यवस्थित पार्किङ्गले समस्या निम्त्याएको छ ।


तानसेनमा साना तथा ठूला सवारीहरुको संख्या बढेसँगै व्यक्तिगत घरमा पार्किङ्ग सुविधा नभएकाले समेत सार्वजनिक स्थलमा पार्किङ्ग गर्नेहरुको संख्या बढेको स्थानीयहरु बताउँछन् । उचित पार्किङ स्थलको अभावले गर्दा पाल्पाको विभिन्न चोक तथा बाटोको छेउछाउहरुमा सवारी साधनहरु पार्किङ गर्दा थप समस्या देखिएको हो । यसरी अव्यवस्थित रुपमा पार्किङ गर्दा जीप तथा कारहरु आवतजावतमा समेत समस्या हुने गरेको छ ।


तानसेनको व्यवस्थित पार्किङ्ग स्थल नहुँदा खेलमैदानको रुपमा रहेको टुँडीखेलमा समेत पार्किङ्ग गर्दा टुँडीखेल नै कुरुप बनेको छ, यहाँ जीप तथा बस मोटरसाइकल जस्ता सवारी साधनको पार्किङ्गले गर्दा यहाँ घुम्न आउने पर्यटकलाई समेत सास्ती भएको छ । नगरपालिकाले टुँडीखेलबाट सवारी साधन पार्किङ्ग हटाउने निर्णय गरेको भएता पनि त्यो निर्णय कार्यान्वयन नहुँदा बजारका चोकगल्लीभरी अव्यवस्थित पार्किङ्ग गर्नेको संख्या बढेको हो ।


यस्तै तानसेनको विशालबजारबाट बडहरबोट, तेल्घा तथा बैघागुम्बाका मानिसहरुलाई लक्षित गर्दै सवारी पार्किङ्ग गर्दा त्यस क्षेत्रमा समेत साँघुरिदै गएको छ, तानसेन असनटोलका धुर्व रणपालले रानीमहलसँगको कुराकानीमा भन्नुभयो, यस्तै तानसेनको मुख्य चोक सित्तलपाटी, मुलढोका र पाल्पा दरबार नजिकै पनि अव्यवस्थित पार्किङ्गले गर्दा तानसेनको सुन्दरता समेत विगारेको छ ।


अव्यवस्थित पार्किङ्गका कारण तानसेनका पर्यटकलाई समेत पर्यटकीय वस्तुको अवलोकनमा समस्या भएको तानसेनका विश्वनाथ गहतराजले बताउनुभयो । पार्किङ्ग शुल्क वापत नगरपालिकाले ठाउँ ठाउँमा कर लिने भएता पनि व्यवस्थापन गर्न नसक्दा समस्या भएको चालक जीप विष्ण गैरेले बताउनुभयो । उहाँले दैनिक २५ रुपैया पैसा तिरेर पनि व्यवस्थित पार्किङ्ग नहुँदा समस्या रहेको छ ।
तानसेनको अव्यवस्थित पार्किङ्गका सम्बन्धमा तानसेनका प्रवक्ता दामोदर प्रसाद घिमिरेका अनुसार नगरपालिकाले बसपार्क निर्माणको काम अगाडि बढाएकोले तानसेनको पार्किङ्ग समस्या छिट्टै समाधान हुने बताउनुभयो, उहाँले तानसेनको वनदेवीमा बसपार्क निर्माण भएपछि तानसेनको पार्किङ्ग समस्या समेत घट्ने बताउनुभयो ।


ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीराज काफ्लेका अनुसार तानसेनको सित्तलपाटी देखि सिल्खानसम्म बाटो निर्माण भएकाले अन्य स्थानमा पार्किङ्ग बढेको बताउनुभयो, उहाँका अनुसार तानसेनको टुँडीखेल र सित्तलपार्टी, दरबार क्षेत्रमा बाटो नबन्दा र अर्को व्यवस्था नहुँदा सम्म पार्किङ्ग गर्न दिने भन्ने नगरपालिकाको निर्णय भएकाले पार्किङ्ग गर्न दिइएको बताउनुभयो । उहाँले अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ्ग र ट्राफिक नियम उलंघन गरेको पाइएमा कानून अनुसार कारवाही गरिने बताउनुभयो ।


सवारी किन्ने तर राख्ने पार्किङ्ग स्थल खै ?
पाल्पा सदरमुकाम तानसेनका अधिकांश घरधनीहरुले साना तथा ठूला सवारी साधनहरु किनेकका छन् तर उनीहरुले आफ्नो घरमा पार्किङ्ग स्थल नबनाउँदा सार्वजनिक स्थानमा नै पार्किङ्ग गर्ने समस्या बढेको छ । तानसेनमा घर बाहिर सडक, चोक, सार्वजनिक स्थलमा पार्किङ्ग गर्ने गर्दा समस्या भएको हो । यस्तै अघिकांस घरहरुमा सवारी साधन पार्किङ्ग गर्ने स्थान नहुँदा बाटो चोक, खुला स्थानमै पार्किङ्ग गर्ने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update