Erani Mahal
पाल्पाका अस्पतालमा 'कोरोना संक्रमित' बिरामी राख्न आइसोलेसन वार्ड
Coronavirus_H

पाल्पा – ‘कोरोना भाइरस’को सङ्क्रमण फैलन नदिन जिल्लाका तीन अस्पतालले 'आइसोलेसन वार्ड' बनाएर बिरामीलाई राख्ने तयारी थालेका छन् । जिल्लाका चार अस्पतालमध्ये तीन अस्पतालले ‘कोरोना भाइरस’ सङ्क्रमित बिरामीका लागि भन्दै छुट्टै ‘आइसोलेसन वार्ड’ बनाएका हुन् ।

लुम्विनी मेडिकल कलेज, पाल्पा अस्पताल र युनाइटेड मिसन अस्पतालले कोरोना भाइरसबाट बच्न पूर्व तयारी स्वरुप छुट्टै वार्ड बनाएको जनाएका छन् । ‘कोरोना भाइरस’को सङ्क्रमण फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै छुट्टै चिकित्सकको जिम्मेवारीसहित ‘आइसोलेसन वार्ड’ बनाएका छौँ लुम्विनी मेडिकल कलेज प्रभासका मेडिकल वार्ड प्रमुख डा. राजु शाक्यले भन्नुभयो ।

सङ्घीय र प्रदेश सरकारसँगको सहकार्य र निर्देशनमा ‘कोरोना भाइरस’बाट सङ्क्रमितलाई राख्न १० जना बिरामी राख्न मिल्ने वार्ड सहित दुई जना चिकित्सक तयारी अवस्थामा रहेको शाक्यले बताउनुभयो ।

पाल्पा अस्पतालले पनि ‘कोरोना भाइरस’बाट सङ्क्रमितलाई हेरचाह गर्न छुट्टै वार्ड र चिकित्सकको समेत व्यवस्था गरेको जनाएको छ । अस्पतालसँग भएको स्रोत र साधनलाई प्रयोग गरेर स्वास्थ्यकर्मीलाई सचेत बनाउने र बिरामीको हेरचाहका लागि छुट्टै वार्ड तयार गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसबाट बच्न अस्पतालले विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कोरोना ‘भाइरस सङ्क्रमण’ भएको बिरामी भने भेटिएका छैनन् । तानसेनस्थित युनाइटेड मिसन अस्पतालले समेत ‘आइसोलेसन वार्ड’ तयार गरेको छ । अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले कोरोना भाइरसबाट आफूहरू सचेत रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update