Erani Mahal
बाइक माेडिफाइ गरे प्रहरीकाे कारबाही भाेग्नु पर्ला ?
Bike-Sorup-Bigareka

पाल्पा – बाइक मोडिफाइ (स्वरुप बिगारेर) गर्नेमाथि प्रहरी कठोर बनेको छ । विभिन्न कम्पनीका बाइकको स्वरुप बिगार्नेमाथि प्रहरीले कारबाही चलाएको हो । मोडिफाई गरेका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जनपथ र ट्राफिक प्रहरीको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा प्रहरीले चेकजाँच गर्ने क्रममा स्वरुप बिगार्ने मोटरसाइकललाई कारबाही गरिएको छ । दुर्घटना र अपराध न्युनीकरण गर्ने अभियान अन्तर्गत प्रहरीले स्वरुप बिगारेका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालु आव २०७६/०७७ को साउनदेखि हालसम्म १४ वटा स्वरुप बिगारेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । त्यसमध्ये १० वटा मोटरसाइकलको बिगारेका स्वरुप पहिलेकै अवस्थामा ल्याएपछि फिर्ता गरिउको छ । बाँकी चार वटा मोटरसाइकल भने प्रहरीकै नियन्त्रणमा रहेको पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो ।

स्वरुप परिवर्तन गरेर बढी आवाज निकाल्ने, सीट परिवर्तन गर्ने, भाइजर बिगार्ने, पाइलेन्सर पाइप बिगार्ने, हर्न बिगार्नेमाथि कारबाही गरिएको उहाँले बताउनुभयो । स्वरुप बिगारेर बाइकल सञ्चालन गर्दा अनावश्यक हो–हल्ला बढेको, दुर्घटना बढेको, अत्याधिक गतिमा चलाएको पाइएकाले कारबाही गर्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै स्वरुप बिगारेका मोटरसाइकलमा अपराध समेत हुने गरेको प्रहरीले जनाएको छ । स्वरुप बिगारेर आफूलाई फरक पहिचानको देखाउन खोज्दा अपराध समेत हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । ‘स्वरुप बिगारेर मोटरसाइकल चलाउँदा दुर्घटना सहित अन्य अपराध बढेको पाइयो प्रहरी स्रोत भन्छ दुर्घटना र अपराध न्युनीकरण गर्न यस्तो मोटरसाइकलमाथि निगरानी बढाएर कारबाही थालिएको छ ।’

यसैबीच प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न साना तथा ठूला सवारीसाधनमाथि कारबाही गरेको छ । चालु आव २०७६/०७७ को सात महिनाको अबधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ९५० सवारीसाधन कारबाही परेको प्रहरीले जनाएको छ । त्यसबाट ६७ लाख १२ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update